कामु प्रमुखको जिम्मामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:१५

बट्टार, जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पस विगत तीन वर्षदेखि कायममुकायम (कामु) क्याम्पस प्रमुखको भरमा सञ्चालन भइरहेको छ । कामु क्याम्पस प्रमुखको लहरमा साउन १ गतेदेखि लागू हुने गरी सुकुमान डङ्गोल थपिएका छन् ।

क्याम्पस सञ्चालक समितिको बहुमतले क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रचलन ०७६ सालदेखि अवरुद्ध भएको छ । क्याम्पसका तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले आफूअनुकूल क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रथा सुरु गरेको संस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले बताए । क्याम्पसको बहुमत सञ्चालक समितिले स्थापनादेखि ०६९ सालसम्म क्याम्पस प्रमुख नियुक्ति गर्दै आएको थियो । ०६९ मा क्याम्पस प्रमुख भएका नारायणमान डङ्गोललाई ०७६ साल वैशाखमा हटाएपछि तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले आफूअनुकूल श्यामप्रसाद पाण्डेलाई कामु क्याम्पस प्रमुख नियुक्ति गरेपछि क्याम्पसमा बेथितिको सुरुवात भएको थियो । प्राध्यापकमध्ये पूर्णकालीन र कार्यरतमध्ये पुरानोलाई क्याम्पस प्रमुख बनाउनुपर्ने त्रिभुवन विश्वविद्यालयको नियमावलीमा भए पनि क्याम्पसलाई आफूअनुकूल सञ्चालन गर्नेले आफूअनुकूलका कनिष्ठ प्राध्यापकलाई पूर्णकालीन बनाउँदै नियुक्ति गर्ने परम्परा सुरु भयो । यसैको निरन्तरताको रूपमा गत हप्ता पूर्णकालीन प्राध्यापक सुकुमान डङ्गोललाई क्याम्पसको कामु प्रमुख बनाइएको छ । यसभन्दा अघि श्यामप्रसाद पाण्डे, भोलाप्रसाद पाण्डे, जितेन्द्र अर्यालले कामु क्याम्पस प्रमुख हुने अवसर पाइसकेका छन् । क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिमा भन्दा राजनीतिक स्वार्थसिद्ध गर्ने थलो बनाई क्याम्पसको शैक्षिक गुणस्तर ह्रास गर्ने अभिप्रायले कामु दिन थालिएको आरोप पूर्वक्याम्पस प्रमुख रामेश्वर उपाध्यायले लगाए । ०४२ साल माघ ६ गते स्थापना भएको नुवाकोट बहुमुखी क्याम्पसमा हालसम्म कामुसहित १८ जनाले क्याम्पस प्रमुख हुने अवसर पाइसकेका छन् ।

त्रिविको स्वीकृतिमा क्याम्पसमा शिक्षा, व्यवस्थापन, मानविकी सङ्कायमा अध्यापन भइरहेको छ । लगभग १२ सयभन्दा बढी विद्यार्थी अध्ययन हुने यस क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तहसम्मको अध्यापन भइरहेको छ । ०४२ सालमा क्याम्पस स्थापना गर्दा अध्यक्ष वसन्तलाल श्रेष्ठ, उपाध्यक्ष रामजी श्रेष्ठ, सचिव रामेश्वर उपाध्याय, सहसचिव विष्णुबहादुर आचार्य, कोषाध्यक्ष कृष्णराज श्रेष्ठ, सदस्यमा रामप्रसाद जोशी, धननारायण चित्रकार, लालबहादुर ओझा, कृष्णराज केसी, शिवप्रसाद गजुरेल, अमृतमान श्रेष्ठ, पुष्प अमात्य, तर्कराज सिलवाल, वसन्तमान श्रेष्ठ, अर्जुनबहादुर केसी रहेका थिए । क्याम्पसको संस्थापकको चित्त दुखाएर कुनै सरसल्लाह नगरी क्याम्पस अगाडि बढेकोमा दुःखेसो व्यक्त गर्छन्, संस्थापकमध्येका धननारायण चित्रकार । उनी भन्छन्, ‘पञ्चायतको उत्तरार्थको बेला क्याम्पस खोल्नु कति चुनौती थियो, तैपनि स्थानीयले रसुवा–नुवाकोट–धादिङको पहिलो क्याम्पसको रूपमा खोलेको यस क्याम्पसमा भइरहेको विकृतिले संस्थापनहरूको मन कुँडिएको छ ।’