कर कार्यालयले शुल्क र जरिवानाबाट राजस्व सङ्कलन गर्ने सोच राख्दैन

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:३३

प्रेमकुमार श्रेष्ठ,
निमित्त प्रमुख
करदाता सेवा कार्यालय गल्छी

कर कार्यालयसँग डर होइन, मित्रवत् सम्बन्ध कायम गर्नुपर्छ भन्ने प्रेमकुमार श्रेष्ठ हाल करदाता सेवा कार्यालय गल्छीका निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । करदाता सेवा कार्यालय गल्छीको कार्यक्षेत्र नुवाकोट र धादिङ रहेको छ । तनहुँको व्यास नगरपालिका-६ मा जन्मेका श्रेष्ठले गणित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स्वेच्छिक कर प्रणालीले जनतामा करप्रति सकारात्मक आवाज आएको हुँदा कर सहभागिता दर बढ्दै गएको बताउने श्रेष्ठसँग त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको सारसङ्क्षेप :

कर र राजस्व भनेको के हो ? कर प्रणाली विगतमा भन्दा यस वर्षमा केही परिवर्तन भएको छ कि ?
नागरिकले राज्यलाई प्रचलित कानुनबमोजिम अनिवार्य रूपमा तिर्नुपर्ने रकमलाई कर भनिन्छ । राज्यले कर र गैरकर वा अन्य कुनै प्रचलित कानुनबमोजिम सङ्कलन गरेको रकमको समग्रतालाई राजस्व भनिन्छ । आर्थिक विधेयक, २०७९ को दफा २१ देखि ३१ सम्म छुट तथा सुविधाका स्किमबारे चर्चा गरिएको छ । जसलाई हामीले कार्यालयमा सोध्न आउनेलाई कार्यालयबाटै र करदाता शिक्षा तथा अन्तक्र्रियात्मक कार्यक्रमबाट प्रकाश पार्दै आएका छौँ । लगत्तै हामीले रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत जनतालाई सूसुचित गराउँदै छौँ ।

कर कार्यालयसँग व्यवसायी किन डराउँछन्, सचेतना बढाउन के गर्नुभएको छ ?
यो प्रश्न मसित भन्दा व्यवसायीसँग गर्दा अझ प्रस्ट हुन्थ्यो होला । कर कार्यालयसँग डराउने, पर भाग्ने गर्नुहुँदैन । यीसँग अझ बढी नजिक हुने, नजानेको कुरा सोध्ने बानी गर्नुपर्छ । तसर्थ यीसँग मित्रवत् सम्बन्ध कायम गर्नुपर्छ । कर कार्यालयले कहिले पनि शुल्क र जरिवानाबाट राजस्व सङ्कलन गर्ने सोच राखेको हुँदैन । बजारमा स्वस्थ प्रतिस्पर्धा होस्, सही ट्र्याकबाट व्यवसाय सञ्चालन होस् भन्ने उद्देश्यले बेलाबखतमा बजार अनुगमन गरेका हुन्छौँ । हामीले सकेसम्म धादिङ र नुवाकोटको उद्योग वाणिज्य सङ्घ, स्थानीय जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखसँग समन्वय गरी प्रत्येक गाउँपालिका र नगरपालिकामा करदाता शिक्षा, ETDS तथा आर्थिक विधेयकले दिएका छुट सुविधा आदिको विषयमा कार्यक्रम गर्दै आइरहेका छौँ ।

यस कार्यालयको कार्यक्षेत्र र काम के हो ?
यस कार्यालयको कार्यक्षेत्र धादिङ र नुवाकोट हो । यस कार्यालयबाट सेवा तथा सङ्कलनसम्बन्धी कार्य जस्तै व्यवसायी प्यान (B-Pan) र व्यक्तिगत प्यान (P-Pan) रजिस्ट्रेसन, करचुक्ता, PDCR, राजस्व सङ्कलन आदि कार्य गरिन्छ । साथै, बजार अनुगमन, नियमन र नियन्त्रणसमेत यस कार्यालयबाट हुँदै आएको छ ।

कार्यालयमातहत करदाता कति छन् ? कार्यालयबाट दिने सेवा करदातामैत्री नभएको गुनासो छ नि ? करदाताको लागत कम गर्न कार्यालयको योजना के छ ?
यस कार्यालयमा करिब ३५ हजार प्रोप्राइटरसिप फर्म, नौ हजारजति बिजनेस फर्म र २९ हजारजति पर्सनल प्यान छ । यस कार्यालयको कार्यक्षेत्र, भूगोल र करदाताको चापअनुरूप कर्मचारीको सङ्ख्या एकदमै कम भएकाले करदाताले आशा गरेअनुरूपको सेवा नपाएको हुन सक्छ । तर, सेवा लिन आएका करदातालाई हामीले सकेसम्म सोही दिन सेवा प्रदान गरिएको छ । करदाता स्वयम् उपस्थित भएका, दूरदराजबाट आएका र अशक्तको कामलाई पहिलो प्राथमिकता दिने गरिएको छ । करदाता सकेसम्म पटक-पटक आउन नपरोस्, करदाताले दुःख नपाउन् भन्ने नै हो । हामीलाई कसैले इमेलमार्फत कुनै काम पठाउनुभएको छ भने उक्त कार्य गरी जानकारीसमेत गर्ने गरिएको छ ।

प्यान नम्बर लिई कर बुझाउने करदातालाई कार्यालयले जरिवाना गर्ने, तर कर पनि नबुझाउने, प्यान नम्बरसमेत नलिएका व्यवसायीलाई केही पनि नगर्ने भन्ने जनगुनासो छ नि ?
वास्तवमा यदि व्यवसाय छैन-भएन भने बन्द प्रक्रियामा जानुप¥यो, व्यवसाय पनि गर्ने, प्यान नम्बरसमेत नलिने, कर पनि नतिर्ने भन्ने हुँदैन । प्यान नम्बर नलिने वास्तवमा साना व्यवसायी हुन्छन् । हामीले समेत प्रभावकारी बजार अनुगमन गरी यस्ता व्यवसायीलाई करको दायरामा ल्याउन सकेका छैनौँ । त्यस्ता व्यवसायीलाई पहिचान गरी कर कार्यालयमा प्यान नम्बर लिनका लागि पत्रसहित अनुरोध गर्ने गरिएको र निजलाई निरन्तर फलो गरी प्यान नम्बर दिई पठाउने गरिएको छ ।

तपाईंको कार्यालयको राजस्व सङ्कलनको अवस्था कस्तो छ ? लक्ष्य पूरा भयो त ?
हाम्रो कार्यालयको राजस्व सङ्कलन उत्साहजनक रहेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गत वर्ष भएको छ । समग्रमा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भए तापनि कुनै सेक्टरमा राजस्व सङ्कलन अपेक्षाकृत रूपमा हुन सकेन ।

कर तिर्ने र नतिर्ने नागरिकलाई राज्यले कसरी हेरेको छ । कर बक्यौता नतिर्नेलाई कस्तो कारबाही हुन्छ ?
राज्यले कर बढी तिर्ने, कम तिर्ने र नतिर्ने गरी वर्गीकरण गरेर सोहीअनुरूपको सेवा-सुविधा प्रदान गर्न सकेको छैन । हाम्रो देशमा प्रत्यक्ष कर तिर्ने नागरिकको हिस्सा एकदमै कम छ । वास्तवमा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा उसले तिर्ने करमा आधारित हुनुपर्छ र उसलाई सोहीअनुरूपको सम्मान गर्नुपर्छ । तर, न्यूनतम सेवा-सुविधा प्राप्त गर्ने हकमा यसो हुनुहुँदैन । कर बक्यौता नतिर्ने करदातालाई ऐनमा व्यवस्था भएअनुरूप बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने, घरजग्गा जफत तथा लिलाम आदि कारबाही हुने गर्छ ।

कर समयसापेक्ष भएन भन्ने मतसँग सहमत हुनुहुन्छ ?
Reform कहिले पनि पूर्ण भन्ने हुँदैन । समयसापेक्ष परिवर्तन गर्दै जानुपर्छ । यसको सोलुसन भनेको सुधारमा झन् सुधार हो । करमा पनि सोही सिद्धान्त लागू हुन्छ । समयअनुसार अपेक्षाकृत रूपमा सुधार हुन नसकेको कुरामा सहमत छु ।