केरुङ नाका दुईतर्फी सञ्चालन गर्न चीन सहमत

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:३९
  • सरस्वती न्यौपाने

धुन्चे, कोभिड-१९ लाई कारण देखाउँदै चीन सरकारले ०७७ असारदेखि रसुवागढी केरुङ नाका एकतर्फी मात्र सञ्चालन गरेको थियो । चिनियाँ पक्षले कोभिड-१९ को बहाना बनाउँदै ०७६ माघ १५ देखि ०७७ जेठ तेस्रो सातासम्म केरुङ नाका पूरै बन्द गरेको थियो । नेपाली व्यवसायीको करोडौँको सामग्री सो अवधिमा नष्ट भएको थियो । नेपाली व्यवसायी र नेपाली सामग्रीले साढे दुई वर्षदेखि चीन प्रवेश पाएको छैन ।

गत बिहीबार नेपाल-चीन सीमासम्बन्धी परामर्श संयन्त्रको भर्चुअल रूपमा भएको परामर्श बैठकमा चीनले कोरोना भाइरस प्रोटोकल पालना गर्दै उक्त नाकाबाट सामग्री आयात र निर्यात दुवै गर्न सहमत भएको छ । कोभिड सुरु भएपछि नाका एकतर्फी रूपमा मात्रै सुचारु भइरहेको थियो । एकतर्फी भएकै कारण धेरै समयसम्म निर्यात ठप्प भई पर्याप्त सामग्री आयात भएको थिएन । दुवै देश नेपाल र चीनमा व्यापारिक हिसाबले कठिनाइ भएपछि रसुवागढी नाका दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याउन लागिएको बताइएको छ । असार ३० गते नेपाल-चीन सीमासम्बन्धी परामर्श बैठकले कोभिडको मापदण्ड पालना गरेर नाका दुईतर्फी नै सञ्चालनमा ल्याउन नेपालतर्फबाट पराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चीनतर्फबाट चिनियाँ पराष्ट्र मन्त्रालयका सीमा तथा समुद्रसम्बन्धी मामिला विभागका महानिर्देशक होङलिआङले भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्वले उक्त नाका खोल्ने छलफल भएको थियो ।

नाका दोहोरो रूपमा नै सञ्चालन हुँदै थियो । कोरोना भाइरसको उत्पत्ति चीनबाट नै भएका फैलिने डरले ०७६ माघ १५ देखि ०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । हाल नाका एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । ०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक साढे तीन सयदेखि चार सयसम्म साना तथा ठूला गाडी आवत-जावत गर्दथे । नेपालबाट चीनतर्फ अम्रिसोको कुचो, काठको टेबल, बाँसको मुढालगायतका सामान जान्थे । कोभिडपछि यी सामान चीनतर्फ जान ठप्प नै छ । तर, चीनबाट भने फलफूल, टेलिकमका सामान, जलविद्युत् आयोजनाको सामान, इलेक्ट्रिक, रेडिमेट आयात भइरहेका छन् ।

बैठकमा नेपाल-चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदान-प्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल-चीन सिमानाको संयुक्त निरीक्षकको महत्वलाई जोड दिँदै विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन् । कोभिड-१९ को स्वास्थ्य सुरक्षाको नियम पालना गर्दै रसुवागढी केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न नेपाल–चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन् । यसका लागि दुवै पक्षले सीमा क्षेत्रमा महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गरेर प्रक्रिया अघि बढाइने भएको छ ।

नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड-१९ स्वास्थ्य सुरक्षाका लागि आवश्यक नियम लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा-पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय गरेको मन्त्रालयले उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयस्थित पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डलको र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत र ल्हासास्थित नेपाली महावाणिज्यदूतको सहभागिता थियो ।