माधवको राजनीतिसँगै कालिजपालन व्यवसाय फस्टाउँदै

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:५९

धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-४ चौरखर्कमा कालिजपालन व्यवसाय गरिरहेका छन् माधव लामिछाने । उनी नेकपा माओवादी केन्द्रले ०५१ सालदेखि सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा अध्ययन छाडेर होमिएका थिए । राजनीतिलाई व्यवसायसँग जोड्ने अभिप्रायले आर्थिक वर्ष ०७६÷७७ बाट उनले कालिजपालन व्यवसाय सुरु गरे । अहिले उनी राजनीतिसँगै सफल कृषकको रूपमा रसुवामा परिचित रहेका छन् ।

राजनीतिज्ञको समेत पहिचान बनाएका लामिछानेको ऐतिहासिक घलेगढीभन्दा पाँच सय मिटर नजिकै रहेको चौरखर्कमा आफ्नो भिरालो जग्गामा चौरखर्क कृषि फर्म सञ्चालन गरेका छन् । उनको फर्ममा कालिज हुर्किरहेका छन् । फर्म निर्माण गर्दा सुरुमा २२ लाख रुपैयाँ खर्च भएको, त्यसपछि ह्याचिङ मेसिन सञ्चालन गर्न थप तीन लाख र अन्य फार्मको अपग्रेडिङ गर्न पाँच लाख गरी ३० लाखको लगानी रहेको जानकारी उनले दिए । उनले बागमती प्रदेश पशुपन्छी विकास निर्देशनालयबाट नौ लाख ७० हजार अनुदानसमेत प्राप्त गरेका छन् भने बाँकी राष्ट्रिय वाणिज्य बैंक कालिकास्थान शाखाबाट ऋण लिई कालिज फार्म सञ्चालनमा लगानी गरेका छन् । उनी नेकपा माओवादी बगमती प्रदेशको सहसचिवसमेत हुन् । उनी माधवप्रसाद लामिछानेभन्दा पनि समीर उपनामले जिल्लावासी र पार्टी पङ्क्तिमा परिचित छन् । उनको फर्ममा अहिले साना–ठूला गरेर हजारभन्दा बढी कालिज छन् भने तीन सय ५० कालिज बिक्रीयोग्य भएको उनले बताए । फर्ममा पाँच सय ५० चल्ला उत्पादनसमेत भएका छन् । दर्ता गरेर जिल्लाको एक मात्रै कालिज फार्म आर्थिक वर्ष ०७६÷७७ बाट सुरु गरिएको हो । दुई वर्षको कालिज बिक्री भइसकेको र तेस्रो वर्षको कालिज बिक्रीका लागि तयारी भइरहेको उनले बताए । हालै यो कालिज फार्मले कालिज होमस्टे पनि सञ्चालन गर्न मन लागे पनि गाउँपालिकाले वास्ता नगर्दा त्यत्तिकै रहेको उनको भनाइ छ । सरल, शान्त र सबैसँग नम्र भाव गरेर बोल्ने लामिछाने आजका युवामाझ प्रेरणा बनेका छन् । उक्त व्यवसायबाट सन्तुष्ट रहेको बताए । यस कालिज फर्मबाट कालिजका चल्ला उत्पादन र बिक्री–वितरण गरी मासुका लागि भाले र पाथी बिक्रीसमेत गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘मेरो कामलाई श्रीमतीले सघाउनुहुन्छ । अरूचाहिँ सहर, बजार जान्छन् व्यापार व्यवसाय गर्न, तर मचाहिँ आफू जन्मेको ठाउँमा नै केही गरौँ भनेर कालिजपालन गरिरहेको छु । आफूले गरेको कामले चाँडै फल नदेखाउला, तर स्वदेशमै केही गर्नुपर्छ भन्नेका लागि उत्प्रेरणा र उत्साह दिन सकेको महसुस गरेको छु ।’