उत्तरगयाधाममा राष्ट्रपतिको भ्रमणपछि धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको चर्चा

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार १२:११
  • शरण उत्सुक सापकोटा

बेत्रावती (उत्तरगया), नुवाकोट र रसुवाको धार्मिक स्थल उत्तरगयाधाम (बेत्रावती)मा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार अवलोकन गरेपछि यसको महत्व थप उजागर भएको छ । राष्ट्रपतिले नुवाकोट-रसुवा सीमास्थित उत्तरगयाधाममा अवलोकन भ्रमण तथा पूजा-अर्चना गरेकी थिइन् ।

सत्ययुगमा समुद्रमन्थनका क्रममा निस्केको कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले निल्दा घाँटीमा अड्की छट्पटिँदा शान्त गर्न उनी उत्तरापन्थ लागेको बताइन्छ । जाँदै गर्दा यसै क्षेत्रमा आएपछि बेतका लौराले पहरामा हान्दा निस्केको पानी पिएका थिए । सोही ठाउँमा स्वर्गबाट देवीदेवता, ऋषिमुनि, पितृ आदि आई शिवको आराधना गरेको पुराणमा वर्णित छ । बेत्र जातको रुखको लौराले हानिएको ठाउँ भएकाले सो ठाउँको नाम बेत्रावती भएको जनाइन्छ । स्वर्गबाट पितृ आएकाले तिनको उद्धारका लागि मनुष्य अहिले पनि पितृ उद्धारका लागि हरेक वर्ष पौषेऔँसीमा श्राद्ध र पिण्ड-तर्पण गर्न सो ठाउँमा आउँछन् ।

बेत्रावतीमा पिइएको पानीले पनि डाह शान्त नहुँदा शिव अझै उत्तरतिर निलाद्री पर्वतमा पुगेका थिए र त्रिशूलले पहरामा हानी निस्केको पानीले दह भरिएपछि त्यहीँ लेट्न पुगेका थिए, जुन अहिले गोसाइँकुण्ड (शिलु) नामले प्रख्यात छ । यसैले हिन्दूका लागि बेत्रावती गोसाइँकुण्ड जत्तिकै पवित्र र महत्वपूर्ण मानिन्छ । भारतको गयामा श्राद्ध गर्न गएका नेपालीलाई त्यहाँका पण्डाले नेपालको उत्तरगयामा दर्शन गरे/नगरेकाबारे सोधनी गर्छन् भन्ने कुरा त्यहाँ पुगेकाहरूले बताउने गरेका छन् ।

बेत्रावतीमै नेपाल र चीनबीच भएको भीषण युद्धपछि सन्धि भएको थियो जुन बेत्रावती सन्धि (वि.सं. १८४९) ले चर्चित छ । नेपालकी छोरी भृकुटी आफ्नो कर्मघर तिब्बत यही बाटाबाट गएकी थिइन् भने नेपालबाट भागेर गएका राजनीतिज्ञ केआई सिंह र मुक्तियोद्धा रामप्रसाद राईले पनि यही मार्ग समातेका थिए । हाल यहाँ राम र विष्णुका मन्दिर पनि निर्मित छन् । गोसाइँकुण्ड जाने सोही बाटाछेउमा पनि हरेक वर्ष माघेसङ्क्रान्तिका दिन गोरुजुधाइ हुन्छ जसलाई स्थानीय समिति, क्लब आदि र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएका छन् । सोही ठाउँमा योगी नरहरिनाथले कोटीहोम पनि लगाएका थिए ।

उत्तरगया गाउँपालिका-५ स्थित उत्तरगयाधामका राममन्दिर र विष्णु पादुकामा राष्ट्रपतिले पूजा गरेकी थिइन् । बेत्रावतीमा राष्ट्रपति भण्डारीलाई रसुवाका जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलगायतले स्वागत गर्दै बेत्रावती क्षेत्रको बृहत् विकासका लागि पहल गरिदिन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीलाई उत्तरगया क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जिसस प्रमुख घिमिरेले जानकारी गराएका थिए । गाउँपालिकाका अध्यक्ष अर्यालले बेत्रावती क्षेत्रको जानकारी समेटिएको पुस्तिकासहित मायाको चिनो प्रदान गर्दै बेत्रावतीको विकासका लागि सङ्घीय सरकारले नै ध्यान दिनुपर्ने बताए । अध्यक्ष अर्यालले उत्तरगया क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई स्थापित गराउन बृहत् धामका रूपमा विकासका लागि समन्वय गर्न आग्रह गरेका थिए ।

राष्ट्रपति भण्डारीले बेत्रावती क्षेत्र, चीन-नेपाल युद्धपछिको सन्धिस्थललगायत विषयमा जानकारी दिँदै सो क्षेत्रको संरक्षणमा आफ्नो ठाउँबाट पहल गरिने आश्वासन दिइन् । राष्ट्रपति भण्डारी विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकोप्टरमा आएर विदुरबाट बेत्रावतीसम्म गाडीमा गएकी थिइन् । उनले विदुरबाट बेत्रावती जाने क्रममा त्रिशूली नदीको किनारमा नेपाल-तिब्बत-चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोटबीच सन्धि (वि.सं. १८४९) भएको स्थलको अवलोकनसमेत गरेकी थिइन् । बेत्रावतीबाट फर्किएपछि तालिम केन्द्रमा नुवाकोटका सङ्घीय सांसद नारायणप्रसाद खतिवडा, प्रदेश सभा सदस्यद्वय केशव पाण्डे, बद्री मैनाली र स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गरी राष्ट्रपतिले जिल्लाको विकासका लागि सबै एक भएर अघि बढ्न सुझाव दिइन् । उनले ऐतिहासिक साततले दरबार र भैरवीको मन्दिरबारे पनि जनप्रतिनिधि र सुरक्षा निकायसँग जानकारी लिएकी थिइन् ।

पूर्वाधारमा जोड : राष्ट्रपति भण्डारी स्वयम्ले आफ्नो इच्छाले दर्शन गर्न आएको उत्तरगयाधामको विकासका लागि भौतिक संरचना आदि निर्माण गर्नुपर्ने देखिन्छ । यसका लागि स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारले नै ध्यान दिनुपर्ने देखिन्छ । आन्तरिक तथा बाह्य पर्यटक (विशेषगरी चिनियाँ र भारतीय)लाई आकर्षित गर्न तीनै तहका सरकारले यहाँ भौतिक संरचना तथा खानेपानी, श्राद्धस्थल, विश्रामस्थल आदिको व्यवस्थाका लागि समन्वय गर्नुपर्ने हुन्छ ।

स्थानीय तह उत्तरगया गाउँपालिकामा रहेका समिति एवम् क्लब पनि एकीकृत भएर तीनै तहका सरकारलाई झकझकाउन लाग्नुपर्ने हुन्छ । सबैभन्दा पहिले स्थानीय गाउँपालिकाले नै गुरुयोजना बनाई अग्रसरता लिनु उपयुक्त हुन्छ ।