– मङ्सिरमा सङ्घीय र प्रदेश सभाको निर्वाचन –

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १५:५४

काङ्ग्रेसको तर्फबाट केसी र महतका ६ भाइ आकाङ्क्षी

एमाले रराप्रपाको डा.लोहनीबीच गठबन्धनको चर्चा

माओवादीले २०७४ को सिट नछाड्ने प्रत्यक्षमा समाजवादीले भाग नपाउने

विदुर, सङ्घीय र प्रदेश सभा निर्वाचन आगामी मङ्सिरमा हुने भएको छ । निर्वाचनको मिति निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै आगामी मङ्सिर ४ गते सरकारले गर्ने भएको छ । सरकारले गत बिहीबार निर्णय गरेपछि देश निर्वाचनमा होमिएको छ ।

मङ्सिर ४ गते सङ्घीय र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुने भएको छ । गत वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको वर्तमान देउवा नेतृत्वको सरकार आगामी सङ्घीय र प्रदेश सभाको निर्वाचन पनि एकै चरणमा गर्ने तयारीमा जुटेको छ । सङ्घ र प्रदेश सभा निर्वाचनको मिति तोकेपछि देश निर्वाचनतर्फ धकेलिएको छ । राजनीतिक दल निर्वाचनको तयारीमा लागेका छन् । सबै दल आफ्नो अनुकूल हुने गरी निर्वाचन वातावरण बनाउन व्यस्त देखिएका छन् । सत्तारूढ गठबन्धनमा रहेका पाँच दल भने निर्वाचनमा के–कसरी तालमेल गर्ने, बढीभन्दा बढी सिट आफ्नो पार्टीको कसरी आउँछ भनेर जोड–घटाउमा तल्लीन रहेका छन् ।

सत्तारूढ गठबन्धनभित्र पनि विभिन्न किसिमको विचार र धारणाले मान्यता पाइरहेका कारण हालसम्म पनि निश्चित खाका तयार हुन सकेको छैन । गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता सबै दललाई छुट्टा–छुट्टै प्रतिस्पर्धा गर्ने अवस्था आओस् भनेर सहकर्मी दल र प्रमुख प्रतिपक्ष दल एमालेसँगको दूरी समान बनाइरहेको छ । सबै दल छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धा गर्ने अवस्था नभए स्थानीय निर्वाचनको गठबन्धनलाई निरन्तरता दिने रणनीतिअनुसार काङ्ग्रेसले कार्यदल बनाएर छलफलमा व्यस्त देखिन्छ । काङ्ग्रेसले अहिले अनुकूल अवस्था रहेको विश्लेषण गर्दै बढी सिट जित्ने अपेक्षा गरेको छ । पुरानै गठबन्धनलाई निरन्तरता दिने गरी शुक्रबार संयुक्त कार्यदल बनाएको काङ्ग्रेसले स्पष्ट बहुमत आउने गरी सिट बाँडफाँड गर्ने गरी अग्रसर देखिएको छ । काङ्ग्रेसको यो तयारीको जानकारी पाएका सत्तारूढ घटकका अन्य चार दल भने काङ्ग्रेसलाई गलाउने र बढी सिट लिने दाउमा सक्रिय भइरहेका छन् । त्यसका लागि काङ्ग्रेसइतर दल अर्को गठबन्धन बनाउन पनि भित्रभित्रै तयारीमा जुटिरहेका छन् । ती दलले घरी एमालेसँग मिल्न सक्ने त घरी गठबन्धनभित्रैबाट अर्को उपगठबन्धनसमेत गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी भने काङ्ग्रेसलाई स्पष्ट बहुमत आउन नदिने गरी सानो साइजमा खुम्च्याएर बढी सिट हात पार्ने दाउमा रहेका छन् । प्रमुख प्रतिपक्ष दल एमाले भने हालको गठबन्धन जे–जसरी पनि फुटाउने गरी लागिपरेको छ । गठबन्धन भत्काउन नसके एमाले स्थानीय चुनावमा जस्तै जहाँ जोसँग मिल्दा अनुकूल हुन्छ त्यहीअनुसार जिल्लालाई अधिकार दिने तयारीमा रहेको छ । त्यसका लागि काङ्ग्रेस नेतृत्वको गठबन्धनमा नअटाएका राप्रपा, राप्रपा नेपाल तथा अन्य जुनसुकै दलसँग अवस्था हेरेर गठबन्धनमा जान सक्ने निर्णय केन्द्रीय कार्यसमितिले छिट्टै गर्ने बताइएको छ ।

नुवाकोटमा निर्वाचनको मिति तोकिएसँगै दल निर्वाचनतर्फ केन्द्रित भएका छन् । काङ्ग्रेसआबद्ध गठबन्धनका दल र प्रमुख प्रतिपक्ष एमाले चलायमान हुन थालेका छन् । निर्वाचनका लागि अरू दलका नेताभन्दा बढी नेपाली काङ्ग्रेसका नेताको सक्रियता बढी हुन थालेको छ । काङ्ग्रेसका चारजना केन्द्रीय सदस्य रहेका नुवाकोटमा बहादुरसिंह लामालाई एक्ल्याउन केन्द्रीय सदस्य एवम् प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र रामशरण महतको भेटघाट बाक्लिएको छ । केसी र महत दाजुभाइ एउटै मञ्चमा साउन १५ गते खिर खाने बहानामा भेला भएका थिए । नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको गोंगबुको घरमा भेटघाट भएको हो । गत १४औँ महाधिवेशनमा एउटै टिमबाट उम्मेदवार रहेका प्रकाशशरण महतलाई महामन्त्रीमा हराउन बहादुरसिंह लामा सक्रिय रहेको आरोप जिल्लामा सेलाएको छैन । उक्त आरोपलाई विश्वसनीय ढङ्गले खण्डन गर्न लामाले नसक्दा प्रकाशशरणसँगको सम्बन्ध चिसिँदै गएको छ । केसी परिवार पनि लामासँग जिल्ला अधिवेशन र बागमती प्रदेश अधिवेशनमा हारको बदला लिने गरी अगाडि बढेको छ ।

नुवाकोटमा केन्द्रीय गठबन्धन कार्यान्वयन हुने हो भने निर्वाचनको सिट काङ्ग्रेसको तीनवटा आउनेछ । सङ्घीय दुई र प्रदेशको चार सिट रहेको नुवाकोटमा माओवादी केन्द्र र काङ्ग्रेसले बराबर भागबन्डा गर्नुपर्नेछ । यसो गर्दा गठबन्धन रहेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा भाग नपाउने अवस्था रहेको छ । गत स्थानीय तह निर्वाचनमा विदुर, बेलकोटगढी र तारकेश्वरको प्रमुख–उपप्रमुखमा मात्र तालमेल गरेको काङ्ग्रेसले सङ्घ र प्रदेश सभा निर्वाचनमा काङ्ग्रेसले दुईवटा सङ्घीय क्षेत्रमध्ये एउटा र चारवटा प्रदेश सभा क्षेत्रमध्ये दुईवटा एकीकृत समाजवादीलाई मनाउन सके मात्र पाउनेछ ।