धादिङको रुबिभ्यालीमा ६ मतदानस्थल थपका लागि सिफारिस

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार ११:१०

धादिङबेँसी, धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुबिभ्याली गाउँपालिकामा मतदानस्थल थप गर्न जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफारिस गरेको छ । ६ वटा वडा रहेको उक्त पालिकामा आठवटा मात्र मतदानस्थल रहेका थिए । अब ६ वटा मतदानस्थल थप गर्न सिफारिस भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

विगतदेखि नै निर्वाचनमा मतदान गर्न अघिल्लो दिनमै मतदानस्थलनजिक आएर बस्नुपर्ने बाध्यता रुबिभ्यालीका मतदातालाई रहेको थियो । भौगोलिक हिसाबले मतदानस्थल अपायक स्थानमा तोकिएको भन्दै रुबिभ्यालीवासीले विगतदेखि नै मतदानस्थल थप गर्न माग गर्दै आएको थिए । अहिले बल्ल रुबिभ्यालीवासीको माग पूरा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले रुबिभ्यालीमा पुरानो आठ कायम राख्दै नयाँ ६ वटा मतदानस्थल थप गर्ने सिफारिस गरेपछि आयोगले प्रक्रिया अघि बढाएको हो । निर्वाचन कार्यालयले जिल्लामा ६ वटा मतदानस्थल थप, ६ वटा परिवर्तन र एउटा खारेज गर्न आयोगलाई सिफारिस गरेको छ । स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै मतदानस्थल थपिएको निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी सन्तोषकुमार श्रेष्ठले बताए ।

कार्यालयले जिल्लाको ६ वटा मतदानस्थलको स्थान परिवर्तन गर्न सिफारिस गरेको छ । गजुरी गाउँपालिकाको कन्या प्राविबाट वडा नम्बर २ को अमिलटारस्थित कार्यालय, ज्वालामुखी गाउँपालिकाको रानीचौतारोस्थित साबिक वडा कार्यालय भवनबाट रत्नज्योति आधारभूत विद्यालय, धुनिबेँसी नगरपालिकाको रमाइलो चौरबाट वडा नम्बर ३ को कार्यालयमा केन्द्र परिवर्तन गर्न सिफारिस गरिएको छ । त्यसैगरी, नीलकण्ठ नगरपालिकाको रत्नदेवी आधारभूत विद्यालयबाट ठाडो खोरियाको रामकोट मावि, नेत्रावती-डबजोङ गाउँपालिकाको ताङजोमाने (खुलाचौर)बाट नागरिक आरोग्य केन्द्र, बेनीघाट-रोराङ गाउँपालिकाको मोहरियामा रहेको कालिका आधारभूत विद्यालयबाट गोदाममा रहेको हर्कपुर माविमा केन्द्र राख्न सिफारिस गरिएको छ ।

त्यसैगरी, रुबिभ्यालीको वडा नम्बर १ को जुम्लादङ खेलमैदानलाई खारेज गर्न निर्वाचन कार्यालयले आयोगलाई पत्र पठाएको छ । खेलमैदान अपायक परेकाले खारेज गर्न सिफारिस गरेको निर्वाचन अधिकारी श्रेष्ठले बताए । साबिकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुबिभ्याली गाउँपालिका बनेको हो । जिल्लाको विकट क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा रहेको निर्वाचनस्थलमा पुग्न मतदातालाई घन्टौँ हिँड्नुपर्छ । मतदानस्थल थप भए वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई धेरै नै सहज हुने रुबिभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।