रसुवागढी-तातोपानी नाकाको समस्या कहिलेसम्म ?

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार ११:५०

नेपाल दुई ठूला देशको बीचमा छ । यी दुवै देशसँग समान रूपको आर्थिक सम्बन्ध राख्नुपर्छ भन्ने नीति विगतदेखि नै पूर्वजले अंगाल्दै आए । त्यो के-कति सम्भव छ भन्नेचाहिँ आफ्नो ठाउँमा होला । तर, उत्तर र दक्षिणमा रहेका यी दुई मुलुकका बीचमा रहेको नेपालको व्यापार भने आजभोलि ज्यादै असमानतामा चलिरहेको छ । यसले नेपाली व्यापारीले व्यहोर्नुपरेको कष्टको दुःखद पक्ष भने ओझेलमा पर्दै आएको छ । व्यापारीका अनुसार दक्षिणतिर अलिकति केही भयो भने ठूलो हो-हल्ला हुन्छ र त्यसको समाधान पनि भइहाल्छ । तर, उत्तरतिरको समस्या भने दीर्घरोगजस्तो बन्दै जान्छ ।

उत्तरतिरका नाका चीनका केही सीमित अधिकारीकोे तजबिजमा खुल्ने र अचानक बन्द हुने गरेकाले पनि सधैँ ठूलो घाटा सहनुपरेको व्यवसायी बताउँछन् । चीनबाट उच्चस्तरका नेता आइरहेका हुन्छन्, कुरा पनि चलिरहन्छ, तर निकास भने केही आउँदैन । यतिबेला आमतहमा नै प्रश्न उठ्न थालेको छ, के यसको कुनै समाधान हुँदैन । उत्तरतर्फका नाकामा समस्या आउन थालेको समय र निहुँ हो-भूकम्प । सात वर्षअघि गएको भूकम्पको बहानामा चीनतर्फ प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढीमा अवरोध सुरु भएको थियो । त्यो आजसम्म कायमै छ । दैनिक करोडौँको अङ्कमा व्यापार हुने नाका सात-आठ वर्ष बन्द हुनु भनेको सामान्य कुरा होइन । अवस्था कस्तो भने ठूलो लगानी गरिएका सामान बिनाकारण बिनासूचना बाटैमा रोकिँदाको अवस्थाले दिने तनाव अवर्णनीय रहेको बताउँछन् व्यापारी । कतिपय व्यापारी त पेसाबाटै पलायन भइसकेका छन् भने कति हुँदा-खाँदाको अवस्थाबाट सुकुमबासी भएका छन् । ठूला व्यापारीले मार्ग परिवर्तन गरिरहेका छन् । व्यापारीका अनुसार ती नाकामा चीन कति अनुदार छ भने न्याय-अन्यायको कुनै सुनुवाइ नै हुँदैन । भारतले नाकाबन्दी गरेको बेला चीनबाट सहयोग प्राप्त हुने भनी धेरै प्रचार गरियो । तर, त्यसभन्दा ठूलो नाकाबन्दी थियो चीनतर्फ ।

तर, त्योचाहिँ चर्चामै आएन । सीमानाकाको मान्यता नै हुन्छ त्यो आपसी समझदारीमा खुल्ने र बन्द हुनु । तर, उत्तरतिर कहिल्यै त्यस्तो भएको पाइएन । अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारीसमेत व्यवसायीले पाउँदैनन् । यसले खासगरी व्यापारिक कारोबारमा असर पर्ने भयो नै । यस्तो संसारभरि कतै हुँदैन । आयातीत सामान अनिश्चित कालसम्म यसरी नाकामा नै रोकिँदा समग्र बजारमा नै असर पर्न जान्छ । व्यापारीले व्यहोर्नुपर्ने अनावश्यक नोक्सानी त छँदै छ । व्यवसायीका अनुसार कम्तीमा खरिद गरेका र बाटोमा अलपत्र सामान मात्र भित्र्याउन दिने हो भने पनि व्यवसायीलाई केही सहज हुने थियो, त्यसका लागि पनि सरकारले सार्थक कूटनीतिक पहल गरिदेओस् भन्ने सधैँ माग रहन्छ, तर सरकारले नाकाको समस्या समाधान गर्न प्राथमिकता दिँदैन । उत्तरी नाकाको समस्याका विषयमा गत महिना नेपाली टोलीले चीनसँग प्रस्ट तर्क राखेको बताइएको थियो । त्यस्तो जानकारी दिइएको अर्को दिन नै तातोपानी र रसुवा नाका कुनै कारण नखुलाई बन्द भए । यी नाकाबाट तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, कस्मेटिक सामान, मखमलका कपडा, खेलौना, मेसिनरी औजार, फर्निचर, कृषि औजार, बिउबिजन, बिजुलीका सामान, निर्माण सामग्री, स्टेसनरीलगायत सामान आउने गर्छन् । तर, उताको मनोमानी अवस्थाले व्यापार गर्ने अवस्था घट्दै गएको छ । चीनको नेपालप्रति हेपाहा शैलीले नेपालीको चीनप्रति नकारात्मक भावना अभिवृद्धि भइरहेको छ । जे-जस्तो भए पनि चीनको भन्दा दक्षिणतर्फको सहयोग र साथ नेपालीले पाइरहेको छ । नेपालीको दक्षिणतर्फ निर्भरता विगतको भन्दा अहिले बढाउँदै लगेको छ । सरकारले समयमै ख्याल गरोस् ।