दुई सङ्घीय, चार प्रदेश निर्वाचन क्षेत्रमा काङ्ग्रेस, एमाले र माओवादीबाट दुई सय ३७ को नाम सिफारिस

  • त्रिशूली प्रवाह
  • २३ भाद्र २०७९, बिहीबार १६:२६

आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रमुख राजनीतिक दलका तलका कमिटीलाई अहिले चटारो परिरहेको छ । सत्तागठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपादेखि सत्तागठबन्धनबाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लोसपालगायतको दल प्रदेश, क्षेत्रबाट सिफारिस भई आएका उम्मेदवारको नाम प्रदेश कमिटीमा राय र सुझावसहित पठाइरहेका छन् । प्रमुख दलका प्रदेश कमिटीले आवश्यक सिट सङ्ख्याभन्दा बढी सिफारिस भएर आएका नामावलीलाई राय, सुझावसहित केन्द्रीय कमिटीमा पठाउन थालेका छन् । तल्ला कमिटीले सर्वसम्मत नाम पठाए पनि केन्द्रले काँटछाँट गर्ने विगतदेखिको परम्पराले यसपटक पनि निरन्तरता पाउनेमा द्विविधा छैन ।
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूबाट उम्मेदवार बन्ने आकाङ्क्षी धेरै देखिएका छन् । प्रत्यक्ष र समानुपातिकमा नुवाकोट जिल्लाबाट नाम सिफारिस भइरहँदा आकाङ्क्षीको सिफारिस आवश्यकताभन्दा धेरै भएको छ । काङ्ग्रेस, एमाले माओवादी, केन्द्र, समाजवादी, राप्रपा पार्टीको आफ्नो हैसियत स्थापित गर्न उम्मेदवारी सिफारिसका लागि नाम समावेश गर्न होडबाजी चलेको छ ।

निर्वाचनका लागि नुवाकोटको दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा ठूला दल नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्रका तल्ला कमिटीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । प्रदेश र प्रतिनिधिसभाको ६ वटा सिटमा निर्वाचन हुने नुवाकोट जिल्लामा तीन दल काङ्ग्रेस, एमाले, माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फको लागि पार्टीका विधानअनुसार प्रक्रिया पूरा गरेर दुई सय ३७ जनाभन्दा बढी आकाङ्क्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिससहित पुगेको छ । आगामी निर्वाचनका लागि सबैभन्दा बढी नेपाली काङ्ग्रेसबाट एक सय २६ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । काङ्ग्रेसको प्रदेश र क्षेत्रमा संस्थापन पक्ष हाबी रहेकाले नुवाकोटबाट नेपाली काङ्ग्रेसले खम्बाको रूपमा रहेका अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई समानुपातिकमा सिफारिस गरेर प्रत्यक्षतर्फ उठ्नका लागि ढोका बन्द गरेको छ । क्षेत्र नं. १ बाट डा. प्रकाशशरण महत र क्षेत्र नं. २ बाट बहादुरसिंह लामाको नाम प्रत्यक्षमा सिफारिस भएको छ । क्षेत्र नं. १ बाट डा. रामशरण महतको नाम प्रत्यक्षतर्फ दोस्रो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारको सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फ १ नम्बरमा डा. रामशरण महत, दोस्रोमा डा. केदारनरसिंह केसी, क्रमशः कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे, सीता मिजार सिफारिस भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ बहादुरसिंह लामा, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, लालीमाया तामाङ र समानुपातिकमा अर्जुननरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, रुक्मणी सेढाईं सिफारिस भएका छन् ।

अर्जुननरसिंह केसी यसपटक प्रदेश नं. २ का प्रत्यक्षमा निर्वाचन लड्न खोजेका थिए । संस्थापन पक्ष हाबी रहेको नुवाकोटमा संस्थापनइतर कोइराला पक्षका केसी र डा. रामशरण महतलाई समानुपातिकमा धकेलेर बहादुर र डा. प्रकाशशरण प्रत्यक्षतर्फ उम्मेदवार हुने रणनीतिमा लागेका छन् । काङ्ग्रेसको तर्फबाट क्षेत्र नं. १ ‘क’ प्रदेश सभामा प्रत्यक्षतर्फ जगदीश्वरनरसिंह केसी, महेन्द्र थिङ, रामकृष्ण थापा, नारायणप्रसाद पाण्डेसहित दशजना रहेका छन् । यो प्रदेशबाट २७ जनाको नाम समानुपातिकतर्फबाट सिफारिस भएको छ । क्षेत्र नं. १ प्रदेश ‘ख’का लागि प्रत्यक्षतर्फ रमेशकुमार महत, जगदीश्वरनरसिंह केसी, वैकुण्ठ मिश्रसहित आठजना र समानुपातिकतर्फ १५ जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’का लागि प्रत्यक्षमा जगदीश्वरनरसिंह केसी, रमेशकुमार महत, वैकुण्ठबहादुर पाण्डे, ताराबहादुर कार्की, मोहनबहादुर खड्का, महेन्द्र थिङसहित २१ जनाको नाम सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा १६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’को प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ, राजकुमार भट्टराई र समानुपातिकमा चोकराज शाक्य, सुरेन्द्रराज अधिकारी, बिन्दा अर्यालसहित ११ जनाको नाम सिफारिस भएको छ ।


डा. प्रकाशशरणले नुवाकोटको क्षेत्र नं. १ रोजेपछि नेकपा माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । गत ०७४ को निर्वाचनमा डा. रामशरण महतलाई हराएर सांसद बनेका हितबहादुर तामाङसहित माओवादीको नुवाकोटको शीर्षस्थ नेताले गत हप्ता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हारगुहार मागेका छन् । गठबन्धन भए नेपाली काङ्ग्रेसको बागमती प्रदेशमै यो क्षेत्र सुरक्षित रहेको प्रकाशशरण पक्षका कार्यकर्ताको विश्लेषण छ । प्रचण्डले नुवाकोटका शीर्ष नेतृत्वलाई पार्टीको निर्देशनअनुसार पछि फेरबदल हुन सक्छ । अहिलेलाई सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न भनेपछि नुवाकोटमा माओवादीले चार प्रदेश, दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम छनोट गरी सिफारिस गरेको छ । माओवादीले निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ हितबहादुर तामाङको नाम मात्र सिफारिस गरेको छ भने क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ केशव पुडासैनी, माधव पाण्डे, सुभद्रा नेपालको नाम सिफारिस गरेको छ । माओवादीबाट क्षेत्र नं. १ प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ राधिका तामाङको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट ६ जनाको नाम समानुपातिकमा परेको छ । क्षेत्र नं. १ प्रदेश ‘ख’को प्रत्यक्षमा पुष्प लामिछानेको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट आठजनाको नाम समानुपातिकमा सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’को प्रत्यक्षमा रामप्रसाद ढुङ्गानाको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा सातजनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ हीरानाथ खतिवडा, जयमान वाइवा, कल्पना रिमालको नाम सिफारिस भएको छ भने समानुपातिकमा ६ जनाको नाम सिफारिसमा परेको छ ।


नेकपा एमालेले पनि आगामी निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं. १ बाट प्रतिनिधि सदस्यका लागि प्रत्यक्षमा जिल्ला अध्यक्ष बद्री मैनालीको एकल नाम पठाएको छ । प्रदेश ‘क’, ‘ख’ र क्षेत्रीय कमिटीबाट सिफारिस भएपछि जिल्लाले प्रदेशमा मैनालीको नाम मात्र पठाएको जानकारी उक्त पार्टीले दिएको छ । क्षेत्र नंं. १ को प्रदेश सभा ‘ख’को प्रत्यक्ष उम्मेदवारका लागि प्रदेश कमिटीमा पूर्णलाल श्रेष्ठको एकल नाम सिफारिस गरेको कारण सोमबार बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठको नाम मात्र प्रदेशमा सिफारिस गरेको छ । क्षेत्र नं. १ को प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ प्रदेश कमिटीले जिल्ला कमिटीका उपसचिव नीलकण्ठ आचार्य, सुशील खड्का, बलराम आचार्य, राजकुमार पण्डितसहित आठजनाको नाम जिल्लालाई सिफारिस गरेको थियो । जिल्ला कमिटीको बैठकले उक्त नामबारे राय लेखेर सिफारिस प्रदेश कमिटीमा पठाएको छ । एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ नम्बरमा बहालवाला सांसद नारायणप्रसाद खतिवडाको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । खतिवडासँगै बहालवाला प्रदेश सांसद केशवराज पाण्डे, रामशरण प्याकुरेल, विष्णु लोहनी, रामकृष्ण खड्का, माधव तिवारी र अजितमान तामाङको नामसमेत जिल्ला कमिटीलाई सिफारिस गरेको थियो । उक्त नामबारे राय–सुझावसहित जिल्लाले मंगलबार प्रदेश कमिटीमा पठाएको छ । यो क्षेत्रमा नारायणप्रसाद खतिवडालाई घचेटेर बहालवाला प्रदेश सांसद पाण्डेले उम्मेदवार बन्ने तयारी गरिरहेको एमालेका कार्यकर्ताले बताएका छन् । यो क्षेत्र गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पालिका अध्यक्षले प्राप्त गरेको मतपरिणामअनुसार बलियो देखिएको छ । त्यसैगरी, क्षेत्र नं. २ प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ बहालवाला प्रदेश सांसद, केशवराज पाण्डे, जिल्ला पार्टी कमिटी उपाध्यक्ष बुद्धिबहादुर प्रधान, जिल्ला सचिव सुदर्शन नेपाल, प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका केन्द्रीय सदस्य रामशरण प्याकुरेल, प्रदेश कमिटीका सदस्य, विदुरको पूर्वमेयर ठाकुरप्रसाद गजुरेललगायत आठजना नेताको नामलाई जिल्लाले प्रक्रिया पूरा गरेर प्रदेश कमिटीमा पठाएको छ । यो क्षेत्र पनि नुवाकोटको चारवटा प्रदेश सभामध्ये एमालेको बलियो क्षेत्र हो । त्यसैगरी, क्षेत्र नं. २ प्रदेश ‘ख’बाट प्रदेश कमिटीले प्रत्यक्षमा केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, हरिप्रसाद अधिकारी, अजितमान तामाङ, आशामाया तामाङसहित आठजनाको नाम जिल्लामा सिफारिस गरेको थियो । जिल्ला कमिटीले उक्त नामबारे रायसहित प्रदेश कमिटीमा प्रक्रिया पूरा गरेर पठाएको छ ।


आसान्न निर्वाचनका लागि राप्रपा, नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी, परिवार दल, नेपाल स्वतन्त्र पार्टीले पनि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिरहेका छन् । यी दलले उम्मेदवार छनोट यसै हप्ता गरिसक्ने जानकारी दिएका छन् ।


जिल्लामा क्रियाशील प्रमुख पाटीहरूबीचको आन्तरिक गुटबन्दी र कलहको कारण पनि उम्मेदवारमा नाम सिफारिसका लागि धेरै आकाङ्क्षी देखिएको हो । पार्टीभित्र मौलाइरहेको गुट–उपगुट तथा मापदण्ड नबन्दा उम्मेदवार बन्न चाहनेको सङ्ख्या बढेको एमाले प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागको केन्द्रीय सदस्य रामशरण प्याकुरेलको भनाइ रहेको छ । उनी भन्छन्– आकाङ्क्षी धेरै भएपछि प्रमुख दलहरूलाई नेता व्यवस्थापनमा चुनौती थपिएको छ ।