+
Search

ताजा अपडेट +

पपुलर +

चौँरी पालेरै सेनामनुर्पुको पाँच लाख कमाइ

चौँरी पालेरै सेनामनुर्पुको पाँच लाख कमाइ
त्रिशूली प्रवाह
४ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्ला नेपालको चौँरीपालन गर्ने जिल्लामध्येको ख्याति कमाएको जिल्लामा पर्छ । रसुवा जिल्लामा चौँरीपालन फस्टाएको कारण विगतमा जिल्लाको ६ भन्दा बढी स्थानमा दूध सङ्कलन र चिज उत्पादन केन्द्र रहेको थियो । ०७२ को भूकम्पपछि रसुवामा चौँरीपालन व्यवसाय धराशयी बनेको थियो । धराशयी बन्दै गएको व्यवसायलाई ०७७ पछि कोरोनाले तहस-नहस नै बनायो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेका सेनामनुर्पु घलेले भने भूकम्प र कोरोनाको बेलामा पनि चौँरीपालन व्यवसायलाई अगाडि बढाइरहे । उनको मिहिनेत र लगनशीलताको कारण अहिले घले जिल्लाको एक सफल चौँरीपालक कृषकका रूपमा स्थापित भएका छन् । उनले चौँरीपालनबाटै वार्षिक पाँच लाख कमाइ गरिरहेका छन् । विदेश जाने सपनालाई पर सारेर उनले परिवारको सहयोगमा चौँरीपालन गर्ने पुख्र्यौली पेसालाई अँगालेका थिए । सेनामको परिवारले चौँरी पालेको नै ४१ वर्ष भयो । ‘पहिले यो पेसा बुबाले गर्नुहुन्थ्यो, अहिले म आफैँले सम्हालिरहेको छु,’ उनले भने, ‘बुबाकोे पेसालाई निरन्तरता दिई मैले चौँरी पाल्दा नौवटा थिए । अहिले २५ वटा चौँरी रहेका छन् ।’ घलेले वैशाखदेखि असोजसम्म दैनिक ३७ लिटर दूध दुग्ध विकास संस्थानमा बिक्री गर्दै आएका छन् । कात्तिकदेखि चैतसम्म दूध हँुदैन । उक्त समयमा छुर्पी र घ्यु मात्रै बन्छ । बर्खामा यी चौँरी गोसाइँकुण्डछेउमा ६ महिनासम्म बस्छन् । जाडो सुरु हुन थालेपछि धुन्चेवरपरका क्षेत्रमा राख्ने गरिन्छ । सेनामनुर्पुको मुख्य पेसा नै चौँरीपालन हो । साधारण लेखपढ मात्रै भएका उनको वनको खर्कमा चौँरी हेरेर नै दिन बित्छ । उनले मारमेन्दो व्यवसायी चौँरीपालन फर्म दर्ता गरेर यो व्यवसाय पाँच लाखबाट सुरु गरी अहिले करोडौँ पु¥याएका छन् । ‘विगतमा धेरैपटक यहाँको दुःख सम्झिँदा त विदेश जाऊँ जस्तो लाग्दथ्यो,’ उनले भने, ‘आफूले जानेको सीपको उपयोग गरे त यहीँ केही फाइदा पुग्ने र परिवारसँग बस्न पाइने आशाले रमाइरहेको छु ।’ चौँरीपालनलाई निरन्तरता दिई आफ्नै ठाउँमा परिश्रम गर्दा सुख आत्मसम्मान पाइने भएर नै गाउँमा चौँरीपालन गरेर बसेको सोनाम बताउँछन् ।

Suzuki New Bike & Scooter

जिल्लाभर एक सयभन्दा बढी चौँरीगोठ रहेको र धुन्चे क्षेत्रमा मात्र १५ वटा चौँरीगोठ रहेका छन् । कोभिडका कारण एक-डेढ वर्ष साह्रै गाह्रो भएको उनले बताए । अहिले सामान्य रहेको छ । आफ्नै लगानी र मिहिनेतमा रमाउन पाउँदा खुसी महसुस गर्ने सेनाम भन्छन्, ‘जहाँ गए पनि दुःख नगरी सुख पाइँदैन, जानेको काम यही हो, पढेको भए त डाक्टर–इन्जिनियर भएर करोड कमाउँथेँ होला । तर, घरको आर्थिक अवस्थाले गर्दा पढ्न पाइएन, तैपनि खुसी नै छु ।’ पढेको मान्छेले भन्दा परेको मान्छेले धेरै अनुभव सँगालेको हुन्छ भन्ने बताउने उनी दुई छोरालाई भने यही व्यवसायबाट भएको आम्दानीले उच्च शिक्षा अध्ययनका लागि खर्च गरिरहेका छन् ।

.

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह