चाडपर्वमा स्वास्थ्य मापदण्ड अपरिहार्य

नेपालीको महान् चाड दसैँ सुरु भइसकेको छ । दसैंको शुभारम्भ घटस्थापनाबाट सुरु हुन्छ । सोमबारदेखि दसैँको नवरात्र अर्थात् घटस्थापना सुरु भइसकेको छ । दसैँका लागि आवश्यक तयारीमा नेपाली समुदायमा समस्यालाई पन्छाउँदै उमङ्गका साथ जुटिरहेका छन् । परदेशमा रहेका नेपाली घर फर्कन थालेका छन् । घरपरिवारका सदस्य र आफन्त भेला भएर मनाउने यो चाडमा अतिरिक्त चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ । हुनेखाने हुन् वा हुँदाखाने दुवैखाले आ-आफ्नो गच्छेअनुसार दसैँ मनाउँछन् ।

अधिकांश नेपाली चाडको तयारीमा जुटे पनि यस वर्ष मरिमराउ भएका घरपरिवारमा भने यो चाड आउँदैन । यसैको वरपर सुत्केरी र रजश्वला भएका महिलाका लागि पनि दसैँ आउँदैन । यस वर्ष पनि दसैँ असोजको दोस्रो हप्तामै परेकाले हिले अर्थात् वर्षात्मय दसैँ बनेको छ । वर्षात् हुन छाडेको छैन । वर्षात् नरोकिएकाले दसैँले खासै हर्ष-उमङ्ग ल्याउन सकेको छैन । दसैँको बेला बाढी, पहिरो र सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । यस वर्ष पनि गत हप्ता दुई ठूला सडक दुर्घटना भई एक दर्जनभन्दा बढीको ज्यान अकालमा गयो भने दुई दर्जन घाइते भई अस्पतालमा उपचारार्थ छन् । यसरी असामयिक निधन र घाइते परिवारका लागि पनि दसैँ आउँदैन । गत दुई वर्ष कोरोनाको कराण दसैँ खल्लो बन्यो भने यसपटक डेंगु महामारी फैलिरहेको छ । डेंगु रोगबाट मृत्युवरण गर्ने र बिरामी हुनेको परिवारका लागि पनि यो दसैँ आउने छैन । डेंगुले महामारीको रूप लिइरहेकोले चाडपर्व मनाउँदा विशेष सावधानी अपनाउनुपर्छ ।

कोरोनाको भय र त्रासमै गत दुई वर्षको दसैँ मनाएका नेपालीले कोरोना नियन्त्रणमा नआउँदै डेंगुको प्रकोप फैलिएपछि थप आतङ्कित बनेका छन् । चाडपर्वले भिडभाड बढ्ने हुँदा सकभर बाहिर ननिस्कौँ, निस्कनै परे पनि स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर निस्क्यौँ भने मात्र दसैँ रमाइलो हुनेछ । डेंगु रोगबाट बच्नका लागि समुदायमा जनचेतना जगाउनुपर्छ । लामखुट्टेले टोकेपछि मात्र डेंगु सर्छ भन्ने घरपरिवारलाई पूर्ण जानकारी हुनुपर्छ । अहिले घरघरमा नै डेंगुका प्रभावित बिरामी रहेका छन् । अस्पतालमा डेंगु रोगीको संख्या दिनप्रतिदिन थपिइरहेको छ । चाडबाड परम्परा समग्रमा संस्कृति हुन्, संस्कृति मानसिक आवश्यकता बन्ने र परिमार्जन हुनेमा संस्कृतिविद् विश्वस्त छन् । वर्तमानमा उभिएर शताब्दीपूर्व सुरु गरिएका हाम्रा चाडबाडको मूल्याङ्कन गर्ने हो भने यिनको स्वरूप, तौरतरिका प्रयोग हुने सामग्री चाडबाडमाथि विश्वास तथा मूल्य सबैमा परिवर्तन हुँदै आएका छन् । समग्र, समाजका सदस्यका आवश्यकताभन्दा चाडपर्व निरपेक्ष नहुने भएकाले यिनमा हुने परिमार्जन तथा अलागवलाई अन्यथा भन्न हुँदैन । आज विज्ञानले गर्दा जो जहाँ रहे-बसेको भए पनि प्रविधिमार्फत मान्यजनबाट भर्चुअल भेटघाट बनाउन सकिन्छ । आस्था प्रविधिबीच सन्तुलन गर्न सके हाम्रा चाडपर्वलाई समयसापेक्ष र दीर्घकालीन बनाउन सकिनेछ ।

चाडपर्वको अन्तिम उद्देश्य समाज कल्याणका लागि नै हो । यसका लागि सांस्कृतिक, धार्मिक रूपमा केही साध्य हुन परिवार, समुदाय र विश्व कल्याण नै धर्मको आधार हो । परिवार, समूह र विश्व कल्याणको कामना जो जहाँ छ त्यहीँबाट गर्न सकिने भएकाले दसैँलगायतका चाडपर्वमा भौतिक उपस्थितिलाई सीमित गर्न आवश्यक छ । यसो गर्ने सबैभन्दा पहिलो व्यक्ति नै सरकार हो । पैसा, राजनीतिक-सामाजिक प्रभावशक्तिले भाइरसलाई जित्न नसकिने भएकाले जिम्मेवार भएर सुरक्षित रहँदै चाडपर्व मनाउने वातावरण तयार गरौँ । आफू पनि बाँचौँ, अरूलाई पनि बचाऔँ, यसैमा सबैको कल्याण छ । कोरोनाको पनि जोखिम बढिरहेको छ भने डेंगुको प्रकोप फैलिरहेकाले लापरबाही नगरी रोगको लक्षणअनुसार सावधानी हुन जरुरी छ । रोगको लक्षण देखिएकाले आराम गर्ने, अरूको संसर्गमा नजाने र स्वास्थ्यकर्मी र अस्पतालको सम्पर्कमा रहे चाडपर्वले आफू र परिवारमा उमङ्ग ल्याउनेछ ।

.