सञ्चारको विकासले धार्मिकस्थलको प्रचार चाडबाड : आन्तरिक पर्यटनको माध्यम

  • श्याम रिमाल
  • १३ आश्विन २०७९, बिहीबार १३:२१

चाडबाड भनेका शास्त्रीय वा सांस्कृतिक वा धार्मिक विषय मात्र भएनन्, अब यसको सामाजिक मूल्य पनि बढ्दै छ । विदेशबाट स्वदेशमा वा सहरबाट गाउँमा वा गाउँमा बसेका सहरमा फर्कने चलन पहिले थियो र अहिले पनि छ । घर वा गाउँ फर्कने बढ्दो चलनले हाम्रो सामाजिक एकतामा बल पुगेकै हुन्थ्यो । अब मानिस खासगरी युवाको विदेश पलायन र मोफसलका मानिसको सहर बसाइ बढ्न थालेकाले गाउँ फर्कने चलन घट्न थालेको छ जसले सामाजिक असर पुग्न थालेको आभास हुन्छ । वास्तवमा दसैँ-तिहारजस्ता ठूला चाडबाड र अन्य एकदिने पर्व, मेला भनेकै मानिसकै जमघट हो । यस्ता पर्व, उत्सव परिवार, आफन्त, कुलकुटुम्ब, इष्टमित्र, साथीभाइ, छिमेकी, टोलिया, गाउँले आदिसँग भेट गर्ने माध्यम पनि हुन् । घरपरिवार समाजमा हुने अन्तर्घुलनले अन्ततः राष्ट्रिय एकतामा नै बल पुग्छ । त्यसैले शास्त्रीय वा धार्मिक, सांस्कृतिक आँखाले पनि नहेरी यिनलाई व्यावहारिक हिसाबले पनि हेर्नुपर्ने हुन्छ । धर्म-संस्कृति नै नमान्नेले पनि समाजसँगको संवादबाट प्रशस्त ज्ञानार्जन गर्न र चेतनाको क्षितिज खोल्न सक्छ ।

विशेषगरी नेपालीका प्रायः सबै जातजाति, भाषाभाषी, वर्ग समुदायका चाडमा सबैले बिदा पाउने व्यवस्था पनि एकताका भएको थियो । मुसलमानका धर्मगुरुदेखि किरातका ल्होसारसम्म पनि बिदा दिने गरिएको छ बेलाबखत । यी पर्वमा कहिले दिइने, कहिले नदिइने पनि भयो । हिन्दूका छठमा मुसलमान पनि मिसिन्छन् भने बौद्धका पञ्चदानमा हिन्दू पनि । ठूलो चाड दसैँ, तिहार राष्ट्रिय पर्व पनि हुन् जसमा सबै समुदायले छुट्टी पाउँछन् । यसले सबैमा राष्ट्रिय भावना जगाउन मद्दत गरेको छ । नेपालमा पत्रकारिता वा आमसञ्चारमाध्यमको विकास भएपछि पर्यटकीस्थलले पनि चर्चा पाएका छन् । यसले ती स्थलसम्म पुग्ने, हेर्ने, अध्ययन गर्ने अथवा मनोरञ्जन गर्ने मानिसको सङ्ख्या बढ्दै छ । मानिसले आफ्नै मुलुकका धार्मिक, पौराणिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकस्थल अवलोकन गरी त्यसबाट ज्ञान प्राप्त गर्नुका साथै मनोरञ्जन लिने र बिदा वा फुर्सदको सदुपयोग गर्दा आर्थिक गतिविधि बढ्ने र वित्तीय स्थिति चलायमान हुने हुन्छ । यसले व्यवसायीलाई पनि राहत पुगी आर्थिक विकासमा योगदान दिने मौका दिन्छ । एकातिर बौद्धिक ज्ञान वृद्धि हुने र अर्कातिर अर्थतन्त्रमा बल पुग्ने आन्तरिक पर्यटनलाई बढावा दिन सरकारले कर्मचारीलाई पर्यटन बिदा दिने नीति पनि लिएको छ । त्यसलाई पूर्ण कार्यान्वयनमा लग्न सकेमा पर्यटन विकास र कार्यथलोमा हुने प्रेरणा बढ्न सक्छ ।

अहिले यही दसैँलगत्तै आउने चाडका बीचमा राजधानी बाहिर नुवाकोटका भैरवी, देवीघाट (जालपामाई) र पञ्चकन्या मन्दिर तथा साततले दरबार, रसुवाका कालिकास्थान र रसुवागढी, धादिङकी त्रिपुरासुन्दरी, काभ्रेपलाञ्चोककी पलाञ्चोक भगवती, सिन्धुपाल्चोककी पाल्चोकी भगवती, दोलखाका भीमेश्वर, कालिञ्चोक र जिरी, बाग्लुङका बाग्लुङ कालिका र ढोरपाटन सिकार आरक्ष, चितवनकी इच्छाकामना, स्याङ्जाकी आलमदेवी, सप्तरीकी छिन्नमस्ता, सुर्खेतकी देउतीबज्यै, डोटीकी शैलेश्वरीदेवी, बाँकेकी बागीश्वरी आदि दर्शन गर्न सकिन्छ । लुम्बिनी, पोखरा, सौराहा, गोरखा मनकामना, गोरखा दरबार आदि त छँदै छन् । त्यस्तै, लोपोन्मुख राउटे, कुसुण्डालगायत थारू, चेपाङ आदि जातिको रहन-सहन, रीतिथिति एवम् संस्कृति अध्ययन गर्दा नयाँ ज्ञान प्राप्त हुन्छ । विद्यालय–कलेजका विद्यार्थी यसबाट विशेष लाभान्वित हुन सक्छन् ।
वास्तवमा आन्तरिक पर्यटनलाई जोड दिए मात्र वैदेशिक पर्यटनको पनि ढोका खुल्छ । हाम्रा पर्यटकीयस्थलमा हुने यातायात, विद्युत्, खानेपानी, सञ्चार (मोबाइल, टेलिफोन, इन्टरनेट आदि) जस्ता पूर्वाधार विकासले बाह्य पर्यटक पनि आकर्षित हुने सम्भावना बढ्छ । त्यस्ता हाम्रा धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीयस्थलमा पूर्वाधार विकासका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारले भूमिका खेल्नुपर्छ । मुख्यतः स्थानीय तहका सरकारले नै आफ्ना सूक्ष्मभन्दा सूक्ष्म महत्त्वपूर्ण स्थल पहिचान गर्न सक्नुपर्छ । त्यसका स्थानीय तहले बजेट नै छुट्याउनुपर्छ । यस्ता स्थलको गुरुयोजनामार्फत विकास गर्न सके व्यवस्थित रूपले विकास पनि गर्न सकिन्छ ।

सरकारले मुलकभर हुने मेला, पर्व, जात्रामात्रा, उत्सव, महोत्सव आदिको तालिका बनाई समन्वयात्मक ढङ्गले प्रचार-प्रसार वा पर्यटकीय प्रवद्र्धनको काम गर्नु वेश हुनेछ । राजनीतिक दल तथा तिनका भ्रातृ-भगिनी सङ्गठन एवम् अन्य राष्ट्रियस्तरका व्यावसायिक संस्था जस्तै नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चिकित्सक सङ्घ, नेपाल प्राध्यापक सङ्घ, नेपाल शिक्षक युनियन, पर्यटनकेन्द्रित सङ्घ-संस्था (नाटा, टुर्गान आदि) ले पनि आफ्ना राष्ट्रिय भेला, सम्मेलन, अधिवेशन, महाधिवेशन आदि पर्यटकीयस्थलमा गरेर पर्यटकीय प्रवद्र्धन गर्न सक्छन् । हरेक वर्ष सातै प्रदेशमा फरक-फरक समयमा मेला, महोत्सव भएमा सबै ठाउँमा पुग्न पनि सकिन्छ । त्यस्ता मेला-महोत्सवमा स्थानीय व्यक्ति मात्र होइन, राजधानी र अन्यत्रका पर्यटकलाई पनि आकर्षित गर्न सक्नुपर्छ । स्थानीय उत्पादनको छुट्टै कक्ष राखी बिक्रीको व्यवस्था गर्ने र तिनका परिकारले पाहुनाको स्वागत गर्न सके थप आम्दानी हुन सक्नेछ । पर्यटकीयस्थलमा बेलाबखत सेलेब्रिटीको उपस्थिति गराउन सके त्यसले अर्काे रौनक दिनेछ ।

नेपाल सबै याम वा मौसमको पर्यटन गन्तव्य हो । यहाँ हुने बाह्रै महिनाका चाडबाडलाई सांस्कृतिक पर्यटनको अवसरका रूपमा प्रयोग गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य, योगध्यान आदि अनेक विषय पर्यटनका रूपमा उपयोग गर्न सकिन्छ । तीनै तहका सरकारले पूर्वाधार विकास गर्न सकेमा निजी क्षेत्र त्यसमा आकर्षित भई अन्य प्रवद्र्धनात्मक काम गर्न उत्सुक हुने नै छन् ।

shyampdrimal@gmail.com