बलि दिने प्राणीको चिरशान्तिका लागि वडाध्यक्षको नेतृत्वमा मौनव्रत

  • त्रिशूली प्रवाह
  • २७ आश्विन २०७९, बिहीबार ११:४८
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिका-१ का वडाध्यक्ष एवम् कराँते प्रशिक्षक दावा तामाङसहित २१ जना खेलाडी दसैँको अवसरमा बलि दिने प्राणीका लागि चिरशान्तिको कामनासहित असोज १६ देखि १९ गतेसम्म चार दिन मौनव्रत बसे ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका डोजो कराँतेका खेलाडीको सहभागितामा मौनव्रत (ञ्युङ्ने) बस्नका लागि काठमाडौं बौद्धस्थित प्राचीन अनुवाद एकमात्री गुरु सङ्घ नेपालमा २१ जना खेलाडी गएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व वडा दसैँको उपलक्ष्यमा लाखौँ निर्दाेष प्राणीको बलि दिने भएकाले उक्त प्राणीको आत्माको चिरशान्तिको कामना गर्दै प्राचीन अनुवाद एकमात्री गुरु सङ्घ नेपालको आयोजनामा करुणामय आर्य अवलोकेश्वरको मौनव्रत अर्थात् ञ्युङ्ने (उपवास) बसेको वडाध्यक्ष एवम् डोजो कराँते प्रशिक्षक तामाङले जानकारी दिए । जीवनमा जानी–नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्ध धर्मावलम्बी ञ्युङ्ने बस्ने चलन रहेको छ । ञ्युङ्ने मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपासना हो । ञ्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुख, शान्ति मिल्ने उनको दाबी छ । बौद्ध धर्मावलम्बी विभिन्न समयमा ञ्युङ्ने बस्ने गरेका छन् भने विशेषगरी लाखौँ प्राणीको हत्या हुने भएको हँुदा दसैँमा बस्ने ञ्युङ्ने मौनव्रत उपवासको छुट्टै महत्व रहेको बौद्ध धर्म गुरुहरू बताउँछन् । ञ्युङ्ने (मौनव्रत) मा पालाना गर्नुपर्ने अष्टशील १. हत्या नगर्नु २. चोरी नगर्नु ३. व्यभिचार नगर्नु ४. झुटो नबोल्नु ५. मादक पदार्थ सेवन नगर्नु ६. उच्च आसनमा नबस्नु ७. विपरीत समयमा भोजन सेवन नगर्नु ८. फूलमाला, गहना, नाचगान नगर्नु । यस प्रकारको अष्टशील अनिवार्य पालना गर्नुपर्नेछ ।

ञ्युङ्ने मौनव्रतको महत्वबारे भगवान् बुद्धको पवित्र ग्रन्थ काग्युर ग्रन्थमा उहाँको वाणी ञ्युङ्ने फेन छेम्बोमा प्रस्ट रूप बताइएका छन् कि ‘हे कुलपुत्र कुलपुत्री हो, ञ्युङ्ने मौनव्रत हामी जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिनेछ, अनि देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङ्ने मौनव्रत पालना गर्नाले स्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्युपछि देवाचेनको शिङ्खममा जन्म प्राप्त हुनेछ । ञ्युङ्ने व्रत क्रिया तन्त्र विधिअनुसार हुने भएकाले सर्वप्रथम नुहाएर सफा सुग्घर हुनुपर्दछ । सुतीको नयाँ लुगा लगाएमा उत्तम हुनेछ । पुरानो लुगा भए रगत र मासुुको दाग र गन्ध नभएको सफा र सुकिलो हुनुपर्दछ । आफूले प्रयोग गर्ने ओढ्ने–ओछ्याउने शुद्ध र चोखो रूपमा प्रयोग गर्नुपर्दछ । आफूले प्रयोग गर्ने भाँडा, वर्तन सफा र शुद्ध हुनुपर्दछ । त्यसमा विशेषगरी मासु, प्याज, लसुन, जाँड, रक्सीको गन्ध हुनुहुँदैन । ञ्युङ्ने व्रतको वेला गुम्बामा सुत्ने ठाउँ नपुगेमा नजिकको घरमा सुत्न सकिन्छ । राति चाँडै सुतिसक्नुपर्ने र बिहान सबेरै शील लिन आइपुग्नुपर्दछ ।
ञ्युङ्नेको समयमा बिहान छिटो उठ्ने बानी भएमा अरूलाई असर नपर्ने गरी उठ्नुपर्दछ । बिहान गुरुबाट शील लिनुपर्दछ । ञ्युङ्ने बस्नेले गुरुबाट शील लिने बेला टुसुक्क बस्नुपर्छ । नबुझेमा साथीलाई सोध्नुपर्छ । शील २४ घन्टाका लागि हुनेछ ।

ञ्युङ्ने बस्नेले गुरुबाट शील लिएपछि आठवटा प्रतिज्ञा अनिवार्य रूपमा गर्नुपर्दछ । शीलको आठवटा प्रतिज्ञा हत्या नगर्ने-शील लिँदाको समयमा ठूलादेखि स-साना प्राणीसमेत मार्नुहुँदैन । झारपात र रूखसमेत काट्नुहुँदैन । चोरी नगर्ने-कसैको अनुमतिबेगर कुनै पनि सामान चलाउने तथा चोरी गर्नुहुँदैन । झुटो नबोल्ने- ख्यालठट्टा गर्दासमेत झुटो बोल्नुहुँदैन । ब्रह्मचार्य पालन-ञ्युङ्ने बस्ने बेलामा स्त्री र पुरुष अलग-अलग रहनुपर्दछ । नशा पाल-यस समयमा जाँड, रक्सी, गाँजा र सुर्तीजन्य पदार्थ लिनुहुँदैन । आसनपालन-सकेसम्म भुइँमा सुत्ने, बढीमा एक हात अग्लो, छालाबाट नबनेको, बास्नादार नभएको पलङमा सुत्नुपर्दछ । सुगन्धित वस्तु-ञ्युङ्नेको शील लिएको बेला गरगहना नलगाउने, शृङ्गारपटार नगर्ने र अत्तर छर्किने गर्नुहुँदैन । खानपिन-दिनको १२ बजेभित्र खाना खाइसक्नुपर्नेछ । खाना नउठीकन पलेटी मारेर एकै स्थानमा बसी नउठी खानुपर्छ । उठेमा खाना खानुहुँदैन । खानुअघि थोरै खाना डल्लो बनाएर छेउमा राख्नुपर्छ र खाइसकेपछि फाल्नुपर्दछ । खानामा केराउ, गेडागुडी, मासु, लसुन, प्याज, अन्डा, मुला र केही सागसब्जी बार्नुपर्दछ । एकछाक खाना खाएपछि चिया र पानी गरी रातको नौ बजेसम्म लिन सकिन्छ । त्यसपछि खानु, पिउनु र बोल्नुहुँदैन । गुरुको आज्ञा लिएर मात्रै खाना खानुपर्छ । कुक्पाको दिन बोल्नु त के पानी पनि नपिएर मौनव्रत बस्नुपर्दछ ।