धादिङमा ६ पदका लागि ७४ को मनोनयन दर्ता

  • त्रिशूली प्रवाह
  • २७ आश्विन २०७९, बिहीबार ११:५९

धादिङवेंशी, मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । आइतबार दुई प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पाँच महिलासहित ७४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट भूमिप्रसाद त्रिपाठी, सत्तागठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार रिमाल, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जनसमाजवादी पार्टीबाट पुष्कर सेढाईं, नेपाल मजदुर किसान पार्टीबाट विश्वअमर महर्जन, मङ्गोल नेसनल अर्गनाइजेसनबाट सुमन तामाङ र स्वतन्त्रबाट उत्तमराज कँडेल, अर्जुन तिमिल्सिना, ऋषि खतिवडा, जनक भट्टराई, प्रदीप श्रेष्ठ र प्रमोद उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा एमालेबाट रमेशकुमार आचार्य, सत्तागठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका मधुकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गीताप्रसाद आचार्य, जनसमाजवादीबाट विष्णु नेपाली, मङ्गोल नेसनल अर्गनाइजेसनबाट धर्मराज गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट पदमबहादुर तामाङ, जनता समाजवादीबाट सूर्यबहादुर तामाङ र आठजना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सालिकराम जम्मरकट्टेल, नेकपा एमालेका गजेन्द्रप्रसाद थपलिया, राप्रपाका जितबहादुर भण्डारी, नेपाली काङ्ग्रेस बिपीका एकराज सिलवाल, मङ्गोल अर्गनाइजेसनका मीनबहादुर थापामगर, जनसमाजवादीका बुद्धिबल उपरकोटी र पाँचजना स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट खेमप्रसाद लोहनी, सत्तागठबन्धनको तर्फबाट काङ्ग्रेसका रामनाथ अधिकारी, राप्रपाबाट परशुराम तामाङ, नेपाली काङ्ग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टीबाट मेकरमान तामाङ, राप्रपाबाट बसुमाया तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट धनमाया तामाङ, नेमकिपाबाट चक्रबहादुर शाह र नौजना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय धादिङले जानकारी दिएको छ । त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा एमालेबाट डा. रामकुमार अधिकारी, सत्तागठबन्धनको तर्फबाट गोविन्द लम्साल, राप्रपाबाट नारायणप्रसाद पोखरेल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट शालिकराम थापामगर र दुईजना स्वतन्त्रसहित ६ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा सत्तागठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगतबहादुर सिंखडा, नेकपा एमालेबाट धनबहादुर घले, नेपाली काङ्ग्रेस बिपीबाट सेतेमान घले, समाजवादी पार्टीबाट इमान तामाङ, नेमकिपाबाट शिवराम किजू, मङ्गोल नेसनल अर्गनाइजेसनबाट सन्तोष तामाङ र पाँचजना स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी निर्वाचन कार्यालय धादिङले दिएको छ । धादिङमा सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । विगतदेखि नै एमालेले जित्दै आएको धादिङमा यसपटक एमाले विभाजन भएको र गठबन्धनको बलमा नेपाली काङ्ग्रेसलाई विजय हुन सहज देखिन्छ । कम्युनिस्ट÷कम्युनिस्टलाई जुधाएर काङ्ग्रेसले विगतदेखि नै गुमाएको राजनीतिक विरासत यसपटक कायम गराउन लागिपरे पनि उक्त पार्टीबाट विद्रोही उम्मेदवार बनेका रमेश धमलासहितलाई मिलाउन सकेन भने काङ्ग्रेसले देखेको सपना तुहिने अवस्था रहेको छ ।