श्रीमतीको माइतीको सम्पत्ति, निजी आर्जन वा पेवामा श्रीमान्को अधिकार हुन्छ ?

  • त्रिशूली प्रवाह
  • २७ आश्विन २०७९, बिहीबार १२:०५
  • शिवराज धिताल

सम्पत्ति भनेको के हो ?
कुनै पनि उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिन्छ । सम्पत्तिमाथि स्वामित्व रहेको व्यक्तिमा आफ्नो सम्पत्ति भोगचलन गर्न, बेचबिखन गर्न, अरूलाई प्रयोगमा दिन वा अन्य जुनसुकै किसिमले पनि उपयोग गर्न सक्ने अधिकार रहेको हुन्छ । नेपालको संविधान, २०७२ को धारा २५ ले सम्पत्तिसम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ भने धारा ३८(१) बमोजिम प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ भन्ने उल्लेख गरिएको छ ।

स्त्रीधनबारे कानुनी व्यवस्था के छ ?
ऐतिहासिक रूपमा हेर्दा जयस्थिति मल्लको मानव न्यायशास्त्रमा समेत महिलाको सम्पत्तिको हकबारे उल्लेख गरिएको पाइन्छ । सामान्य अर्थमा स्त्रीधन भन्नाले महिलाको दाइजो र पेवालाई बुझिन्छ । महिलाले आफ्नो माइतीपट्टिबाट पाएको चल–अचल सम्पत्तिलाई दाइजो भनिन्छ भने आफ्नो श्रीमान्पट्टिको नातेदारबाट उसको एकलौटी हक हुने गरी दिएको चल वा अचल सम्पत्तिलाई पेवा भनिन्छ । पेवालाई महिलाले आफैँले काम गरी कमाएको सम्पत्ति वा श्रीमान्पट्टिका अंशियारको मञ्जुरीको लिखत गरी दिएको सम्पत्ति वा श्रीमान्पट्टिको अरू नातेदार वा इष्टमित्रले दिएको चल-अचल र त्यसबाट बढे-बढाएको सम्पत्तिको रूपमा पनि बुझ्ने गरिएको छ । यससम्बन्धी व्यवस्था साबिकको मुलुकी ऐनको स्त्री अंश धनको महलमा पनि गरिएको थियो भने हाल पनि मुलुकी देवानी संहिता २०७४ ले महिलाको निजी सम्पत्तिको हकको सुनिश्चितता गरेको छ र सो निजी सम्पत्ति महिलाले आफूखुसी गर्न पाउने व्यवस्थासमेत उल्लेख गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा परापूर्वकालदेखि हेर्दै आउने हो भने सम्पत्तिको हकमा पैतृक सम्पत्तिको अंशबन्डा गर्दा केवल बुबा, पति, छोरा गरी लोग्नेमान्छेको हकमा अंश पर्दै एक पुस्तादेखि अर्को पुस्तामा सो सम्पत्ति हक हस्तान्तरण हुँदै आउने व्यवस्था गरिएको थियो । बुबाको सम्पत्तिमा समेत आफ्नै छोरीको अंश दाबी लाग्दैनथ्यो । छोरीमान्छे पछि विवाह भई अर्काको घर जाने हुनाले पैतृक सम्पत्तिमा छोरीको केही अंश प्रदान गरिएको थिएन । तर, छोरी विवाह गरेर जाँदा माइतीबाट भने चल-अचल सम्पत्ति दिइने चलन थियो र यसलाई दाइजो भनिन्थ्यो, जसमा केवल छोरीको मात्र हक हुन्छ । पूर्वकालीन समयमा महिला पूर्ण रूपमा आफ्नो पतिउपर निर्भर रहने हुँदा उनीहरूको बाहिरी आफ्नो निजी आम्दानीको स्रोत भने केही हुँदैन थियो । आफ्नो माइतीपट्टिबाट र श्रीमान्पट्टिको नातेदारबाट आर्जन गरेको सम्पत्ति मात्र उनीहरूको निजी सम्पत्ति अर्थात् स्त्रीधनको रूपमा हुने गर्दथ्यो । त्यसरी महिलाले अरू कतैबाट कमाएर सम्पत्ति जोड्ने नहुँदा र निजी सम्पत्तिको नाममा आफूले पाएको दाइजो र पेवा भएकाले सो सम्पत्तिउपर केवल महिलाको आफ्नो हक मात्र हुने र आफूखुसी सो सम्पत्तिको प्रयोग गर्न सक्ने हक रहँदै आएको छ ।