+
Search

ताजा अपडेट +

पपुलर +

दीपावलीमा दियो बाल्नुको महत्व

त्रिशूली प्रवाह
३ साल अगाडी
  • शरण उत्सुक सापकोटा

हिन्दूहरूको महान् पर्व तिहारलाई दीपावली अर्थात् उज्यालोको पर्व पनि भनिन्छ । शरद ऋतुमा पर्ने महत्वपूर्ण र सुन्दर रङ्गीन पर्वका रूपमा यसलाई लिइन्छ । यस पर्वलाई फूलैफूलको पर्व पनि भनिन्छ । तैपनि, यस पर्वमा खासगरी उज्यालोलाई नै प्राथमिकता दिने गरेको पाइन्छ । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट उज्यालोतिर अग्रसर होऊ भन्ने भावनामा परापूर्वकालदेखि नै यो पर्व मनाइँदै आएको देखिन्छ । त्यसो त तिहार अर्थात् दीपावलीको धार्मिक, सांस्कृतिक र जैविक महत्व पनि पाइन्छ । यस पर्वलाई तिहार, दीपावली, त्यौहार, यमपञ्चक, दीपोत्सव जुन नामले मनाए पनि खासगरी यो दीप वा उज्यालोको पर्व नै हो । त्यसैले यस पर्वमा विभिन्न खालका दीप प्रज्ज्वलन गर्ने चलन छ । पानीबिनाको माछाजस्तै दीपबिनाको दीपावलीको अर्थ हुँदैन ।

प्रारम्भिक कालमा प्रकाशको मुख्य स्रोत अग्नि थियो । जुन स्रोत मनुष्य जातिको प्रमुख आधार पनि थियो । तत्कालीन मानवले आगोलाई ज्यादै प्रिय वस्तुका रूपमा त्यतिबेलादेखि नै लिएको पाइन्छ । मानिस आफू जहाँजहाँ जान्थे उनीहरू आगोलाई त्यतै लैजान्थे । यसरी मानव सम्यतासँगै आगोको प्रयोगमा व्यापकता हुँदै आएको हो । यसै कारण कालान्तरमा अग्निपुत्रको क्रम पनि चलेको हुनुपर्छ । तर, निरन्तर चलिरहन मानव मस्तिष्कले सानै भए पनि ज्योति विकासतर्फ महान् आविष्कार ग¥यो र त्यो नै दियो अर्थात् दीप थियो । फलस्वरूप मानव सभ्यताको विकाससँगै दियोको प्रचलनमा पनि अनेकता देखिन थाल्यो । हाम्रो समाजमा दीपावलीका अवसरमा थरीथरीका बत्तीको प्रयोग हुने गरेको छ । माटोका पालामा तेल हालेर वा सल्लाको दियालो बालेर होस्, महँगा मैनबत्ती होस् वा आकर्षक विभिन्न थरीका बिजुली बत्ती नै मानिसले दीपावली पर्वलाई समयसापेक्ष रूपमा उज्यालोको व्यवस्था गरी मनाउँदै आएको पाइन्छ । हाम्रो समाजमा कुनै पनि कार्य गर्नुपूर्व दियो बाल्ने गरिन्छ । कुनै पनि कार्य आरम्भ गर्नुभन्दा पहिले दियो बाल्ने चलन हाम्रो संस्कृतिमा आदिकालदेखि नै चल्दै आएको हो । त्यसो त दीप पूजाको प्रचलन सबैभन्दा पहिले अर्थात् आजभन्दा ४५ सय वर्ष पहिले हरप्पा र मोहेन्जोदारोका निवासीले गरेका थिए ।

त्यतिबेलादेखि हालसम्म आइपुग्दा बत्ती बाल्ने दियोका पनि विभिन्न स्वरूपमा विकास र परिमार्जन हुँदै गएको पाइन्छ । सिन्धु घाँटीको सभ्यतामा वर्णनअनुसार त्यतिबेलाका दियो, माटो या ढुङ्गाबाट बनेका हुन्थे । त्यतिबेला सिन्धुघाँटी वरपर पाइएका मूर्तिका वरपर दियो जडित हुन्थ्यो । त्यसको ठोस् प्रमाण सिन्धु सभ्यताको उत्खननबाट प्राप्त भएका दियोबाट बुझ्न सकिन्छ । त्यहाँ दियोबाहेक कपास काट्ने औजार र तेल हाल्ने भाँडो पनि पाइएका थिए । दीपावली मात्र होइन, कुनै मन्दिर वा धार्मिकस्थल वा धार्मिक कार्यमा समेत जताततै हामी दीपावलीको प्रयोग गर्छौँ । बत्ती बाल्ने दियो प्रायः तामा काँस, पित्तलजस्ता धातुका अलावा नरिवल, काठ, माटो एवम् ढुङ्गाबाट पनि तयार गरेको पाइन्छ । कपास वा रेसमको धागोलाई कातेर बनाइएको बत्तीलाई घिउ वा तेलमा भिजाएर बाल्ने गरिन्छ । हिजोआज घरायसी प्रयोजन होस् वा दीपावली होस् । विभिन्न प्रकारका दियो वा दीपको प्रयोग हुने गरेको छ । ठाउँअनुसार दियो विभिन्न आकृतिमा निर्माण गरिएका पाइन्छन् । स–साना अञ्जुली आकारदेखि लिएर ठूला–ठूला पानसजस्ता दियो वा दीपस्तम्भको पनि प्रयोग भएको भेटिन्छ ।

नेपालमा मल्लकालभन्दा पहिले नै दीपस्तम्भको प्रचलन भएको पाइन्छ । विभिन्न देवीदेवताका सुन्दर तस्बिर वा कलाकृति कोरिएका रत्न, सुन, चाँदीद्वारा निर्मित दीपस्तम्भलाई त्यतिबेला सभा वा बैठक कोठाको शोभा वा आकर्षण नै मानिन्थ्यो । त्यतिबेला प्रचलनमा रहेको चिरागदानी वा दीपस्तम्भलाई वृक्षदीप भनिन्छ । यसप्रकारका दियोलाई विशेष पूजापाठ वा समारोहमा मात्र प्रयोग गरिन्थ्यो । जुन विभिन्न कलाकारबाट निर्माण गरिएका र विभिन्न आकर्षक कलाकृतिद्वारा सजिएका हुन्थे । मन्दिरतिर राखिने कलश जस्तै आकृतिको दीपलाई बृहताकार दीप भनिन्छ । जसको प्रयोग हाम्रो समाजमा परापूर्वकालदेखि नै हुँदै आएको पाइन्छ । यसलाई शिखरदीप पनि भनिन्छ । गोलो आकारको तामाद्वारा निर्मित बीचमा बत्ती राखिने एवम् वरिवरि प्वाल भएको कारण यसलाई बलयाकृति दीप पनि भनिन्छ । हाम्रो धर्मशास्त्रमा पनि कुनै शुभकार्य गर्दा दीप बाल्ने गरिन्छ । जसलाई उक्त कार्य सम्पन्न नभईकन निभाइँदैन । यसप्रकारको दीपलाई अखण्ड दीप भनिन्छ । पितृकार्य, श्राद्ध एवम् स्मृतिमा पनि दीप बाल्ने गरिन्छ । यस अवसरमा जुन दीप जलाइन्छ, त्यसलाई पाथेय दीप भनिन्छ ।

सृष्टि विज्ञानमा समेत आगो वा दियोको व्यापक महत्व पाइन्छ । वर्तमान अवस्थामा आइपुग्दा त यसको झनै महत्व बढेको छ । दियोको सांस्कृतिक, पौराणिक, धार्मिक गाथा व्यापक पाइन्छ । उज्यालो वा तापका रूपमा प्रयोग हुँदै आएको दियोको प्रयोगलाई लिएर चाडपर्व मनाउनु यसको व्यापक महत्व हुनु नै हो । त्यसो त बिजुली, प्रकाशपुञ्ज एवम् विभिन्न दीप उत्पादक साधनको बाहुल्य भएको वैज्ञानिक युगमा पनि दियोको महिमा र गरिमा विशिष्ट खालको छ । दियोले हाम्रो सांस्कृतिक महत्वलाई जीवन्त मात्र बनाएको छैन, सांस्कृतिक गरिमासमेत वृद्धि गरेको छ । दियोमा बत्ती बाल्ने प्रचलनमा भने आजभोलि सुधार हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह