एक सय चार वडामा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ

  • त्रिशूली प्रवाह
  • ३ कार्तिक २०७९, बिहीबार १२:१४

गल्छी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङ जिल्लाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थालेको छ । विभागले गल्छी गाउँपालिकाका वडाबाट शुक्रबार अभियानको सुरुवात गरेको हो ।

गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फारम भर्ने लक्ष्य लिएको जानकारी गराएको छ । शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चारवटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने कार्यको सुरुवात गरिएको छ । विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा भएको र १३ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको जनाएको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाम लाग्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जनभन्दा बढी परिचयपत्र सरकारले एकीकृत गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । स्थानीय जनप्रतिनिधिले अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भिड लाग्ने गरेको छ । तर, आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौंमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकता सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण सङ्कलन गरिने व्यवस्था छ ।