प्रदेश सभाका उम्मेदवार थपलियालाई पितृशोक

  • त्रिशूली प्रवाह
  • २४ कार्तिक २०७९, बिहीबार १२:१४
  • राजेन्द्र बस्नेत

धादिङ (गजुरी), मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि आउँदो मङ्सिर ४ गते सङ्घ र प्रदेश सभा सदस्यका लागि एकसाथ निर्वाचन हुँदैछ । दुवै सभाका उम्मेदवार दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ तथा बुद्धिजीवी परिषद्का महासचिव इन्जिनियर गजेन्द्रप्रसाद थपलियालाई पितृशोक परेको छ । प्रदेश सभा उम्मेदवार थपलियाका बुबा शिवप्रसाद थपलियाको ८९ वर्षको उमेरमा कात्तिक १६ गते मृत्यु भएपछि थपलिया दाजु ध्रुवको साथमा हिन्दू संस्कारअनुसार काजकिरियामा बसेका छन् । धादिङ प्रतिनिधिसभा १ को प्रदेश सभा २ मा थपलियासँग प्रतिस्पर्धा गरिरहेका सत्तागठबन्धनका साझा उम्मेदवार शालिकराम जमरकट्टेल मतदातासमक्ष दलबलसहित पुगिरहँदा उनी भने काजकिरियामा बस्नुपरेको छ । उम्मेदवार पितृशोकमा परे पनि एमालेका नेता/कार्यकर्ताले घरदैलो र भोट माग्ने कामलाई निरन्तरता दिइरहेका छन् ।

एमालेको नेता हामी हौँ भन्दै प्रतिनिधिसभाका उम्मेदवार भूमिप्रसाद त्रिपाठीका साथ प्रदेश सभाका उम्मेदवार इन्जिनियर थपलियाका लागि भोट माग्दै हिँडिरेहका छन् । यही २८ गते उनी काजकिरिया गरेर निस्कन्छन् । उनी आफंँमा नयाँ अनुहार हुन् । त्यसमाथि पितृशोकमा परेका छन् । उनी अहिले टोलटोलका कार्यकर्ताको नम्बर खोजेर फोनमार्फत आफ्ना कुरा राखिरहेका छन् । उम्मेदवार थपलियालाई जिल्ला नेता, अगुवा कार्यकर्ताले ढाडस दिइरहेका छन् । सोहीअनुसार प्रचार–प्रसारमा व्यस्त छन् । वर्षौँदेखि एमालेको गढ मानिएको धादिङमा पार्टी फुटको असर पर्न नदिन यो चुनाव उम्मेदवार थपलियाका लागि भन्दा पनि एमाले स्वयम्लार्ई चुनौती छ ।