+
Search

ताजा अपडेट +

पपुलर +

वाम-लोकतान्त्रिक र एमालेका उम्मेदवार प्रतिस्पर्धी पक्ष र विपक्षमा मत विभाजन, जितहारको चर्चा

वाम-लोकतान्त्रिक र एमालेका उम्मेदवार प्रतिस्पर्धी पक्ष र विपक्षमा मत विभाजन, जितहारको चर्चा
त्रिशूली प्रवाह
३ साल अगाडी

आइतबार दोस्रो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । ०७२ सालमा संविधान जारी भएपछि ०७४ मा पहिलो निर्वाचन भएको थियो । ०७९ मङ्सिर ४ गते दोस्रो निर्वाचन हुँदै छ । निर्वाचनमा पुराना एवम् नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारले प्रचार-प्रसारमा सम्पूर्ण सामथ्र्य खन्याइसकेका छन् । उम्मेदवार विजय सुनिश्चित गर्न अन्तिमको कोसिसमा छन् । अब मतदाताको कोर्टमा बल पुगेको छ । राम्रोसँग विचार गरेर निर्णय गरिएन भने आउँदो पाँच वर्षका लागि पुनः पछुताउनुपर्ने हुन्छ । मतदाताले मतदान नगर्दा मतदान प्रतिशतसम्म घटे पनि परिणाम आइहाल्छ । आफ्नो सहभागिताबेगरको परिणाम अनपेक्षित पनि हुन सक्छ । त्यसैले सक्रियतापूर्वक मतदान गरेर आफ्नो अधिकार प्रयोग गरी परिणामलाई प्रभावित गर्नु नै मतदाताका लागि जित हुनेछ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

निर्वाचनमा मतदान गर्ने दिन आइसक्यो । राजनीतिक दललाई जनताले विश्वास गर्न नसकेकाले निर्वाचनको माहोल बन्न सकेको छैन । निर्वाचन प्रचार–प्रसारमा उम्मेदवार र कार्यकर्ताबाहेक जनता देखिँदैनन् । प्रचार-प्रसार र आमसभामा आयातित र सवारीसाधानको मात्र भिड देखिन्छ । तैपनि उम्मेदवारहरू आफ्नो क्षेत्रमा घरदैलो गरी आमसभा गर्दै मतदाता प्रभावित गर्न तल्लीन रहेका छन् । निर्वाचन आयोगले निर्वाचनको तयारी पूरा गरेर कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पठाउन थालिसकेको छ । निर्वाचनको उत्साह नदेखिए पनि ४ गते निर्वाचन हुन्छ । नुवाकोट जिल्लाको दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभाको क्षेत्रमा दल र स्वतन्त्र गरी ६३ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । दलहरूप्रति जति नै मतदाताले गुनासो गरे पनि अन्तिममा केहीले बाहेक अधिकांश मतदाताले असन्तुष्टि पोख्दै मतदान गर्नेछन् । गुनासो र असन्तुष्टि पोख्दै मतदाता अन्तिममा केहीले बाहेक अधिकांश मतदाताले दललाई साथ दिने अवस्था देखिन्छ । ठूला दल एमाले, काङ्ग्रेस र माओवादी उम्मेदवार जित्ने निश्चित छ । साना तथा नयाँ दल र स्वतन्त्र उम्मेदवारले पनि आफ्नो पक्षमा मतदाता आकर्षिक गरिरहे पनि यसपटक नेकपा एमाले र नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको वाम-लोकतान्त्रिक सत्तागठबन्धनबीच जिल्लामा रोचक प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।

निर्वाचनको मैदानमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माले) का केशवप्रसाद उप्रेती, जनता समाजवादीका देवराज घिमिरे, जनसमाजवादीका निमेश तामाङ, राप्रपाका पुष्पा न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युम्न महत क्षेत्री, नेकपा एमालेका बद्री मैनाली, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुवन तामाङ, नेमकिपाका रविन्द्र डङ्गोल, लोकतान्त्रिक समाजवादीका लक्ष्मी रसाइली, नेपाली काङ्ग्रेस (बिपी) का श्यामबहादुर गुरुङ, हाम्रो नेपाल पार्टीका सफलता बोगटी, राप्रपाका सुदर्शन सिटौला, मङ्गोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र तामाङ, वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङसहित स्वतन्त्र जितेन्द्रसिंह ठकुरी, निर्मल लामिछाने र रामकुमार बस्नेत उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा मङ्गोल नेसनल अर्गनाइजेसनबाट कर्म तामाङ, नेमकिपाबाट काशीलाल डङ्गोल, नेकपा (एकीकृत समाजवादी)बाट राजेश थापा, वाम-लोकतान्त्रिकको तर्फबाट माओवादी केन्द्रबाट राधिका तामाङ, राप्रपाबाट रामु पण्डित, जनता समाजवादी पार्टीबाट शेरबहादुर विक, नेकपा एमालेबाट सुशीलकुमार खड्का चुनावी प्रतिस्पर्धी रहेका छन् ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र नम्बर (ख)मा राप्रपाबाट केदारप्रसाद पौडेल, हाम्रो पार्टी नेपालबाट दीपेश ढुङ्गाना, मङ्गोल नेसनल अर्गनाइजेसनबाट दीपेश राई, नेकपा एमालेबाट पूर्णलाल श्रेष्ठ, राप्रपाबाट विमल थापा, वाम-लोकतान्त्रिक गठबन्धनको तर्फका नेपाली काङ्ग्रेसका रमेशकुमार महत, नेसलिस्ट पिपल्स पार्टीका रमेश सुनार, जनता समाजवादीका रामकृष्ण ढकाल र स्वतन्त्र डोलबहादुर घले चुनावी प्रतिस्पर्धीमा छन् । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिक एवम् सत्तागठबन्धनतर्फका नेपाली काङ्ग्रेसबाट अर्जुननरसिंह केसी, नेमकिपाबाट गणेशमान बाटाकांक्षी, राप्रपाका झनक प्याकुरेल, लोकतान्त्रिक समाजवादीबाट धनकुमारी सुनार, नेकपा एमालेबाट नारायणप्रसाद खतिवडा, मङ्गोल नेसनल अर्गनाइजेसनबाट प्रेममाया तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे, जनसमाजवादीबाट हिमाल जोशी तथा स्वतन्त्र गायत्री दाहाल र सुदर्शन पुडासैनी प्रतिस्पर्धामा छन् ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा सदस्य क्षेत्र नम्बर (क) मा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यो प्रदेशमा नेका (बिपी) बाट ईश्वरी बोगटी, नेकपा एमालेबाट केशवराज पाण्डे, नेपाली काङ्ग्रेसबाट गीता अमात्य, मङ्गोल नेसनल अर्गनाइजेसनबाट चन्द्र तामाङ, राप्रपाबाट दीपेश लामा ‘निश्चल’ आमूल परिवर्तन पार्टीबाट प्रेमबहादुर नेपाली, लोकतान्त्रिक समाजवादी पार्टीबाट राजन विश्वकर्मा, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रकाश लोहनी, वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसााद ढुङ्गाना, नेमकिपाबाट श्याम लामा तथा स्वतन्त्र शम्भुप्रसाद पनेरू, भरत कुमाल र देवेन्द्र न्यौपानेले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनी र नेपाली काङ्ग्रेसकी गीता अमात्यले उम्मेदवारी निष्क्रिय पारेको विज्ञप्ति जारी गरे पनि उम्मेदवारी फिर्ता नलिएकाले मतपत्रमा निर्वाचन चिह्न र निर्वाचनमा उम्मेदवारको नामावली कायम रहिरहेको छ ।

त्यसैगरी, जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (ख) मा स्वतन्त्रसहित दलका ६ जना उम्मेदवार निर्वाचनको मैदानमा रहेका छन् । यो प्रदेशमा नेकपा एमालेका विजयसिंह लामा तामाङ, वाम-लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली काङ्ग्रेसबाट बहादुरसिंह लामा तामाङ, हाम्रो नेपाल पार्टीबाट वसन्त सापकोटा, राप्रपाबाट रणप्रसाद न्यौपाने, मङ्गोल नेसनल अर्गनाइजेसनबाट दिलमान तामाङ र स्वतन्त्र सिंहराज तामाङ प्रतिस्पर्धी रहेका छन् । निर्वाचनमा रहेकामध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाम-लोकतान्त्रिक एवम् सत्तागठबन्धनका उम्मेदवार हितबहादुर तामाङ र नेकपा एमालेका बद्री मैनालीबीच रोचक प्रतिस्पर्धा हुनेछ । तामाङ र मैनालीमध्ये एकले यो क्षेत्रबाट विजय हुने निश्चित रहेको छ । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पनि वाम-लोकतान्त्रिकका उम्मेदवार अर्जुननरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा रहेको छ । केसी र खतिवडा दोस्रोपटक प्रतिस्पर्धा गरिरहेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सुमनविक्रम पाण्डेको चर्चा रहे पनि प्रतिस्पर्धा केसी र खतिवडाको हुने अवस्था रहेको छ ।

जिल्लाको चारवटा प्रदेश सभा पनि प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क)मा वाम-लोकतान्त्रिककी उम्मेदवार राधिका तामाङ र एमालेका सुशील खड्काबीच नै प्रतिस्पर्धा रहेको छ । यसै क्षेत्रको प्रदेश सभा (ख) मा पनि वाम-लोकतान्त्रिकका रमेशकुमार महत र एमालेका पूर्णलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर (क) मा वाम-लोकतान्त्रिकका उम्मेदवार रामप्रसाद ढुङ्गाना र एमालेका केशवराज पाण्डेबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा वाम-लोकतान्त्रिकका बहादुरसिंह लामा र एमालेका विजयसिंह लामा तामाङबीच नै प्रतिस्पर्धा रहेको छ । साना दल र स्वतन्त्र उम्मेदवारको सङ्ख्या उल्लेख्य रहे पनि जिल्लामा निर्वाचनको माहोललाई विश्लेषण गर्दा र मतदाताको सेन्टिमेन्ट दललाई पूर्ण रूपले असहयोग गर्ने अवस्था रहेको छैन । जिल्लाका मतदाताले दलप्रति विश्वास गर्न छाडेका पनि छैनन्, विरोध र असन्तुष्टि गुनासो पोख्न पनि छाडेका छैनन् । त्यसैले यसपटक ठूला दलबाहेकका उम्मेदवार विजय हुने अवस्था रहेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह