Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

रसुवामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

रसुवामा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र र प्रदेश सभा दुई निर्वाचन क्षेत्र रहेको रसुवामा चिसो मौसम सुरु भए पनि चुनावी सरगर्मीको तातो बढेको छ । जिल्लामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिनिधिसभा र प्रदेश सभामा रोचक प्रतिस्पर्धा हुने भएको छ । दलका नेता तथा उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी एजेन्डा लिएर घरदैलो अभियानमा जुटिरहेका छन् ।

नेकपा एमाले र गठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन् । जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि सात राजनीतिक दल र स्वतन्त्रले उम्मेदवारी दिएका छन् । एमाले जिल्ला अध्यक्ष कर्नेल तामाङले एमालेको सांसदमार्फत गत ०७० देखि ०७४ सम्म निर्माण गराइएको सबै सडकको स्तरोन्नति गरी कालोपत्र गर्ने, सडक सञ्जालले नछोएका स्थानमा फराकिलो सडक निर्माण गर्ने, गोसाइँकुण्ड केबुलकार निर्माणका लागि कार्यविधि पारित गराउने, युवा रोजगारजस्ता समग्र गतिविधि अगाडि बढाउने एजेन्डा रहेको जानकारी दिए । गाउँ समाजमा बस्ने दीर्घरोगीलाई निःशुल्क उपचार सेवा दिई सुविधासम्पन्न अस्पताल निर्माण गर्नेसमेत बताए । प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद मोहन आचार्य आफूले सुरु गरेको विकास निर्माणको अपूरो योजना पूरा गर्न भोट दिनुस् भनिरहेका छन् । उत्तरगया गाउँपालिका-५ लहरेका आचार्य गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । आचार्यसँग एमालेका प्रदेश कमिटीका सदस्य एवम् संविधानसभाका सदस्य गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेका छोवाङतेन्जिङ तामाङ चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरू आमजनतामाझ घरदैलो गर्दै आ-आफ्नो चुनावी एजेन्डा लिएर गाउँ-गाउँमा पुगेका छन् ।

जिल्लाको दुईवटा प्रदेश क्षेत्रमध्ये प्रदेश सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनबाट प्रदेश १ मा काङ्ग्रेसको तर्फबाट सानोभार्खुका प्रभात लामा, एमालेको तर्फबाट सरमथली फाम्चेतका कुलप्रसाद भट्ट, नेमकिपाको तर्फबाट बाबुकाजी माकजू, राप्रपाबाट सरमथलीका महेशकुमार डङ्गोल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट कालिका गाउँपालिका-४ का जितमान तामाङ, जनसमाजवादीको तर्फबाट नौकुण्ड गाउँपालिका-२ का कामी थोक्रा, ताम्सालिङ लोकतान्त्रिक पार्टीको तर्फबाट राम्चेका पाल्देन वाङ्दी तामाङ र स्वतन्त्र उम्मेदवार गोसाइँकुण्ड गाउँपालिका-६ का सिदार वाङ्जेन लामा रहेका छन् । त्यसैगरी, प्रदेश सभा क्षेत्र नम्बर २ मा काङ्ग्रेससहितको गठबन्धनबाट माओवादी केन्द्रका धैबुङ तल्लो धारापानीका इन्द्रप्रसाद गौतम, एमालेबाट हाकुबेँसीका तेम्ब्रेल तामाङ, राप्रपाबाट लहरे उपल्लो पौवाका हरिप्रसाद घिमिरे, नेमकिपाबाट तुल्सीराम ग्वाछा, ताम्सालिङ लोकतान्त्रिक पार्टीबाट राम्चेका वाङ्जेन तामाङ, मङ्गोल नेसनल अर्गनाइजेसनबाट उत्तरगया-१ का वाङ्दे घले, नेपाली काङ्ग्रेस (बिपी) बाट बनुवाडाँडा चौकीटारका शारदाकुमार न्यौपाने र स्वतन्त्रमा आमाछोदिङ्मो गाउँपालिका-१ का चेसाङ तामाङ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य उम्मेदवार पाटीखर्कका लीलाबहादुर न्यौपाने, बनुवाछापका रामशरण पौडेल र धुन्चेका कार्सावाङ्दी तामाङ रहेका छन् । स्वतन्त्र उम्मेदवार न्यौपानेले ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने, सम्भावना बोकेका सबै क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, अधिकांश हिमाली बस्तीमा होमस्टे सञ्चालन गराउने, युवाका लागि रोजगारको व्यवस्थापकीय कार्य गर्ने, रसुवामा उत्पादित कृषि उपजलाई ढुवानी एवम् बजार व्यवस्थापन गर्ने, धार्मिक एवम् ऐतिहासिक स्थलको संरक्षण गर्ने, शिक्षा, स्वास्थ्य एवम् शिक्षालाई गुणस्तरीय बनाउनेजस्ता विविध विषयको चुनावी नारा अघि सारेका छन् । अर्का स्वतन्त्र उम्मेदवार रामशरण पौडेलले विद्युत्, स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउने, रोजगारको व्यवस्थापन गराउने, समुन्नत समाजका लागि असल कामको थालनी गराउने बताएका छन् । रसुवामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह