धादिङमा चुनावी परिणाम उल्ट्याउने दिलमानको उद्घोष

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १२:५३
  • राजेन्द्र बस्नेत

धादिङ, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मतदानको दिन नजिकिँदै गर्दा नेपाली काङ्ग्रेसका नेता दिलमान पाख्रिनले दिएको अभिव्यक्तिले धादिङमा नयाँ तरङ्ग ल्याएको छ ।

धादिङमा चुनावी परिणम उल्ट्याउने काङ्ग्रेस नेता पाख्रिनको अभिव्यक्तिले धादिङ प्रतिनिधिसभा २ मा गठबन्धन र काङ्ग्रेसका उम्मेदवार हराउने अभियान पो चलाउलान् जस्तो बुझिन्छ । जिल्ला र केन्द्रीय नेतृत्वका राजनीति संस्कार मैलेजति पनि सिकेका रहेनछन् । यथार्थ नबुझी प्रलोभन, निजी स्वार्थ, गुट/उपगुटका राजनीति गर्दै छन् । काङ्ग्रेसभित्र तीन समूह छ – पाख्रिनले भने । दिलमान यत्तिकै नेता भएको होइन । प्रवास बसेको छ । मेरो बुबा दामन पाख्रिनले जेल बस्नुभएको थियो । हामी तीन पुस्ता काङ्ग्रेसमा बिताएर चौथो पुस्ता तयार गर्दै छौँ । मलाई बेवास्ता गरेर काङ्गे्रसले के राजनीति गर्छ । म बुबाको ब्याज खान उम्मेदवार बन्न खोजेको पनि होइन । अहिले सर्भे गरे हुन्छ । ६० प्रतिशत काङ्ग्रेस कार्यकर्ताले दिलमान रोज्छ । कि दिलमान काम नलाग्ने, पार्टीमा भूमिका नभएको भनेर प्रमाणित गर्नुपर्छ । नत्र किन मलाई बेवास्ता गरिन्छ । म बिहीबारसम्म हेर्छु । जिल्ला र केन्द्रीय नेताले मलाई आश्वस्त मार्न सकेनन् भने धादिङमा चुनावी परिणाम उल्ट्याउने काङ्ग्रेस नेता पाख्रिनले त्रिशूली प्रवाह साप्ताहिकसँग कसको पक्षमा लाग्ने, कसरी लाग्ने भन्ने रणनीति बनाइरहेको भन्दै अहिले खुलाउन चाहेनन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्यका आकाङ्क्षी रहेका पाख्रिनलाई टिकट नदिएपछि बिच्किएका छन् । पाख्रिनले काङ्ग्रेस नेतासमेत रहेका बुबा ‘दामन पाख्रिन स्मृति प्रतिष्ठान’ले आयोजना गरेको कार्यक्रममा गत आइतबार किन्ताङफेदीमा बोल्दै ‘अहिले आफू केन्द्रीय नेताहरूको निर्णयको पर्खाइमा बसिरहेको र आफ्नो पक्षमा सकारात्मक निर्णय नभए मङ्सिर ४ गतेको मतपरिणाम नै उल्टाइदिने’ अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले काङ्ग्रेस र गठबन्धनमा रहेका दलमा मात्रै होइन, नेकपा एमालेका नेता/कार्यकर्ता र स्वतन्त्र उम्मेदवार पनि पाख्रिनले कस्तो निर्णय गर्लान् भनेर निर्णयको प्रतीक्षामा छन् । एकपटक मन्त्रीसमेत भइसकेका केन्द्रीय सदस्य पाख्रिन धादिङको उत्तरी क्षेत्रका मतदातामाझ प्रभावशाली मानिन्छन् । नेता पाख्रिन धादिङ प्रतिनिधिसभा २ मा थोरै मतले ०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए । ‘पाख्रिनले पार्र्टी हितविपरीत निर्णय लिएमा गठबन्धनका साझा उम्मेदवार काङ्ग्रेस सभापति रामनाथ अधिकारीलाई घाटा हुनेछ र अर्काेतिर नेकपा एमालेका उम्मेदवारलाई फाइदा हुन सक्छ । पाख्रिनको नकारात्मक निर्णय अधिकारीका लागि तगारो बन्नेछ र त्यही मौका एमालेका उम्मेदवार खेमप्रसाद लोहनीका लागि फाइदा हुन सक्नेछ,’ धादिङका आम नेता/कार्यकर्तामा गत आइतबारदेखि तरङ्ग फैलिएको छ ।

पाख्रिन काङ्ग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवाकै समूहका सक्रिय नेता हुन् । त्यही समूहबाट केन्द्रीय सदस्य जितेका हुन् । अघिल्लोपटक झिनो मतले पराजित भएका पाख्रिन यसपटक पनि आफैँले टिकट पाउने विश्वासमा थिए । शेखर समूहमा रहेका जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएपछि केन्द्रीय समितिको नजिक पाख्रिन छन् । अधिकारीले टिकट ल्याएको दिनदेखि पार्टीको केन्द्रीय सदस्यको भूमिकामा जिल्लाको पार्टीको आन्तरिक कुनै पनि गतिविधिमा सहभागी नरहेका पाख्रिन गत आइतबार काङ्ग्रेसका पूर्वसभापति स्वर्गीय दामन पाख्रिनको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न किन्ताङफेदी आएका थिए । पाख्रिननिकट कार्यकर्तासँगको कुराकानीमा बुझ्दा आगामी संसद्मा कुनै न कुनै भूमिका खोजेको हुन सक्ने बुझ्न सकिन्छ । केन्द्रीय नेतृत्वमा अरू भूमिका खोजेको भनेर पनि बुझ्न सकिन्छ ।

नेपाल विद्यार्थी सङ्घ धादिङका पूर्वसचिव एवम् उत्तरी क्षेत्रका प्रभावशाली युवा नेता डेबिट घले, नेत्रावती-डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीतामाया चोदेनलगायतले पनि दिलमानको पक्षमा खुलेरै अभिव्यक्ति दिएपछि झनै धादिङ २ मा काङ्ग्रेसको माहोल बिग्रिन सक्ने देखिएको छ । यता जिल्ला नेतृत्वले भने उत्तरी भेगबाट दिलमानको माग गर्ने समर्थक धेरै रहेको र ती समर्थक मतदाताको आफ्नै पक्षमा कायम राख्न मात्रै पाख्रिनले त्यस्तो अभिव्यक्ति दिएको दाबी गरेका छन् । ‘पाख्रिन सम्मानित नेता हुनुहुन्छ, आक्रोश पोख्नु एउटा कुरा हो,’ काङ्ग्रेस जिल्ला सचिव विकास श्रेष्ठ भन्छन्, ‘जिल्ला र केन्द्रीय नेतृत्वले समन्वय गरिरहेको छ । निरन्तर सम्पर्क र कुराकानी भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ । पार्टीको निर्णय शिरोधार्य गर्छु भन्नुभएको छ ।’