एमालेबाहेक अरूले जित्नुपर्ने आधार नै छैन

  • त्रिशूली प्रवाह
  • १ मंसिर २०७९, बिहीबार १३:०१
  • रामशरण प्याकुरेल

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको सदस्य
बागमती प्रदेश कमिटीको सचिवालय सदस्य
प्रतिनिधिसभाका लागि एमालेका समानुपातिक उम्मेदवार

(रामशरण प्याकुरेल नुवाकोट जिल्लाको वाम राजनीतिक परिवृत्तमा चर्चामा आइरहने पुराना वामपन्थी नेता हुन् । नुवाकोट जिल्लामा ०३८/३९ सालताका प्रतिबन्धित अवस्थाको तत्कालीन नेकपा मालेको सङ्गठन सुरुवात गर्ने केही व्यक्तिमध्ये उनी पनि पर्छन् । पार्टी भूमिगत अवस्थामा रहेको बेला अर्जुन तामाङका नामले सङ्गठन गरेका उनी हाम्रो समाज र सामाजिक सम्बन्धलाई मिहिन रूपमा केलाउन सक्ने, हाम्रो राजनीति, समाज र राजनीतिक सम्बन्धलाई सापेक्षतामा रहेर विचार प्रस्तुत गर्न सक्ने, विकास र विकासजनित सम्बन्धलाई कुशलतापूर्वक पहिचान गरेर अगाडिको दृष्टिकोण दिन सक्ने एवम् नुवाकोटको प्रगतिशील आन्दोलनका उबड-खाबड सबै भोगेको व्यक्तिको रूपमा उनलाई सबैले स्मरण गर्ने गर्दछन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थामा रहेर नेतृत्व गरेका प्याकुरेलको सामाजिक विकास अभियन्ताका हैसियतमा पनि लामो इतिहास छ । विगतमा बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश नीति तथा योजना आयोगमा विज्ञ सदस्यका रूपमा काम गरेका प्याकुेरल हाल नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागको सदस्य र बागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहेर पार्टी काममा क्रियाशील छन् । आसन्न निर्वाचनमा नेकपा एमालेले उनलाई प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार बनाएको छ । जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका र स्वास्थ्य अर्थशास्त्रमा विशेष दक्षता हासिल गरेका एवम् जिल्लामा एकजना वाम वैचारिक नेता, अध्ययनशील र कम विवादमा आउने व्यक्तिको रूपमा पहिचान बनाएका प्याकुरेलसँग निर्वाचन प्रचार-प्रसारकै क्रममा समसामयिक विषयमा गरिएको कुराकानीको सारसङ्क्षेप :

प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेले जित्ने आधार के छ ?
प्रतिनिधिसभा तथा प्रदेशसभाको यो निर्वाचन झट्ट हेर्दा मूलतः काङ्ग्रेस नेतृत्वको गठबन्धन र ओली नेतृत्वको एमालेबीच रहेको देखिन्छ । मङ्सिर ४ को निर्वाचनका सन्दर्भमा मुख्यतया घोषणापत्र र दलका नेताको सार्वजनिक प्रतिबद्धता नै जनताको छनोटको मुख्य आधार हो । यस सन्दर्भमा एमाले र नेपाली काङ्ग्रेसका घोषणापत्रको अध्ययन र विश्लेषण सान्दर्भिक हुन्छ । काङ्ग्रेसको घोषणापत्र मुख्य रूपमा शिक्षा र स्वास्थ्यको निजीकरणको बाटो र विदेशीसँग मागेर देश चलाउँछु भन्ने रहेको छ । उसको घोषणापत्रका पानालाई अध्ययन गर्ने हो भने उसले हिजो आफैँले हाँसोमा उडाएको रेल, सुरुङमार्गका योजनालाई आफ्नै घोषणापत्रमा मुख्य विकास योजनाको रूपमा उल्लेख गरेको छ । काङ्ग्रेसकै पछि लागिरहेको माओवादी केन्द्रको घोषणापत्रमा आर्थिक एजेन्डालाई चटक्कै भुलेको देखिन्छ । माओवादी केन्द्रले जारी गरेको घोषणापत्र विकासका प्रतिबद्धताभन्दा पनि राजनीतिक आरोपका पुलिन्दाजस्तै मात्र रहेको छ । यद्यपि, माओवादी घोषणापत्रको खासै अर्थ त छैन, किनभने उसले नेता मानेको र आस गरेको नेपाली काङ्ग्रेसले गठबन्धनको प्रधानमन्त्री प्रचण्ड होइनन् भनेर सार्वजनिक रूपमै भनिसकेकाले, प्रचण्डको घोषणापत्र र रवि लामिछानेको घोषणापत्रको राजनीतिक हैसियत उस्तै–उस्तै नै रहेको देखिन्छ । एमालेको घोषणापत्रमा मुख्य रूपमा उसका अघिल्ला ४१ महिनाको कार्यकालमा भए–गरेका कामको विस्तार र थप विकासका योजना बुँदागत रूपमा उल्लेख भएको देखिन्छ । राष्ट्रिय स्वाधीनता, एकता, राजनीतिक स्थिरता, स्पष्ट नेतृत्व र आगामी सरकारको खाकासमेत प्रस्तुत गर्न सफल भएको एमालेले घोषणापत्रका आधारमा बाँकी सबैलाई सहजै चुनौती दिएको देखिन्छ । एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको, अन्य पार्टीले देश र प्रदेशका लागि एमालेबाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेकै छन्, एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६–१७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ । देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने राष्ट्रिय आवश्यकता छ । अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेकाले चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको र त्यसका लागि सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ । सधैँ तानातान र स्वार्थी समूहको अखडा अब देशलाई चाहिएको छैन । त्यसैले जनताले एमालेलाई रोज्नेछन् ।

निर्वाचनका बखत सधैँ तपाईंको चर्चा चल्ने गर्दछ, तर यसपटक समानुपातिकको सूचीमा पर्नुभएको छ नि । पार्टीले विश्वास नगरेको हो कि तपाईंकै चाहना नभएको हो ?
यो जिल्लामा एमालेको सङ्गठन सुरु गर्ने बेलादेखि हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको छु । जनताले गर्ने आदर-सम्मान नै मेरा लागि ठूलो कुरा हो । पार्टीले दिने जनुसकै जिम्मेवारी पूरा नगर्ने भन्ने कुरा होइन । हामीले बुझ्नुपर्छ – समय र सन्दर्भअनुसार पार्टीका जिम्मेवारी फरक-फरक हुन सक्छन् र प्राथमिकता तोकिन्छन्, त्यसअनुसार हामीले काम गर्ने हो । लामो समयदेखि निरन्तर लगिरहेको एकजना कार्यकर्ताका हिसाबले, पार्टीले विश्वास नगर्ने कुरै आएन । पार्टीले दिएको सबै जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सदैव प्रयत्न रहिआएको छ । पदका लागि मात्रै मरिमेट्ने दौडमा भने म टाढै छु । आज हामीले कुन जिम्मेवारीमा रहने र पार्टी कामका विभिन्न क्षेत्रमध्ये कुन काममा केन्द्रित हुने, केलाई प्राथमिकता दिने भन्ने प्रश्नको वरिपरि रहेर आफ्नो योग्यता र क्षमता देखाउन मलाई केहीले पनि छेक्न सक्दैन ।

तपाईं नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको सदस्य पनि हुनुहुन्छ र पार्टीको विभिन्न जिम्मेवारीमा हुनुहुन्छ ? पार्टी स्कुल विभागको काम के हो ?
पार्टीको ०७८ असोज १५/१७ मा गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले ‘पार्टीमा वैचारिक काम अपेक्षाकृत बलियो बन्न नसकेको, पार्टी पङ्क्तिको चेतनास्तर अपेक्षित मात्रामा सुदृढ हुन नसकेको र नयाँ परिस्थितिका नयाँ चुनौतीको सामना गर्न पार्टी पङ्क्ति पर्याप्त मात्रामा सक्षम बन्न नसकेको आमअनुभूतिका आधारमा ‘पार्टी स्कुलका माध्यमबाट नियमित प्रशिक्षण सञ्चालन गर्दै पार्टी पङ्क्तिको चेतना माथि उठाउने’ कार्यभार किटान गरेको थियो । पार्टीको दशौँ महाधिवेशनबाट पारित सङ्गठनात्मक प्रस्तावमा पनि पार्टी निर्माणको पहिलो विषय ‘वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपता’ उपशीर्षकमा ‘विचारमा आधारित एकताबद्ध, अनुशासित र गतिशील सङ्गठनको निर्माणविना पार्टी र आन्दोलन सफलतापूर्वक अघि बढ्न सक्दैन’ भन्ने निष्कर्ष निकालिएको छ । यसै निष्कर्षमा आधारित रहेर ‘पार्टी नीतिलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा बुझाइमा एकरूपता कायम गर्न व्यवस्थित पार्टी स्कुल विभागको गठन भएको हो । विभिन्न पार्टी तह, जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्तालाई राजनीतिक, साङ्गठनिक र विचार-सिद्धान्तसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय पार्टी स्कुल विभागलाई संस्थागत जिम्मेवारी प्रदान गरिएको छ । प्रदेश र मातहत कमिटीले पनि आवश्यकताअनुसार स्कुल विभाग गठन गर्न सक्ने वैधानिक व्यवस्था हुँदै आएको छ । एमालेको पार्टी स्कुलिङ तुलनात्मक रूपमा व्यवस्थित र गतिशील पनि रहँदै आएको छ । पार्टीमा दुईखाले प्रशिक्षण सञ्चालन गरिनेछ । ‘क’ पार्टी स्कुलद्वारा सञ्चालित पाठ्यक्रममा आधारित नियमित प्रशिक्षण र ‘ख’ समसामयिक विषयमा अभिमुखीकरण/प्रशिक्षण कार्यक्रम ।

नुवाकोट जिल्लामा पार्टीको आन्तरिक जीवन अझै सुदृढ छैन, निर्वाचनमा अपेक्षित उभार आउन सकेन नि ?
यो जवाफ दिइरहनुपर्ने प्रश्न नै होइन भन्ने लाग्छ । पार्टी एकताबद्ध छ र एकमना ढङ्गले यस निर्वाचनमा सबै प्रदेश कमिटीदेखि वडा र टोल तहसम्मका कमिटी परिचालित छन् र निर्वाचन प्रचार-प्रसारका काम तीव्र गतिमा भइरहेका छन् । एमालेको सबैभन्दा बलियो शक्ति भनेकै सङ्गठन भएकाले हुनाले तत्त-त् कमिटी र कार्यकर्ता परिचालन भएर उम्मेदवार पुग्न नसकेका ठाउँमा पनि कमिटीले नेतृत्व गरेर मतदातासमक्ष पुग्ने काम भइरहेको छ । तपाईं आफैँले पनि विश्लेषण गरेर भन्ने कुरा हो । पार्टीको निर्णयका आधारमा हामीले उम्मेदवार चयन गरेका छौँ । हाम्रो जिल्लाको दुवै सङ्घीय र चारै प्रदेशमा हाम्रा पत्यक्ष र समानुपातिकका उम्मेदवारप्रतिको विश्वास र पार्टीप्रतिको आड-भरोसाका कारण अन्य पार्टीबाट सयौँको सङ्ख्यामा मानिस प्रवेश गरिरहेका छन् । विगत पाँच वर्षमा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा हाम्रा प्रतिनिधिले गर्नुभएको विकास निर्माणको काम तीसौँ वर्ष शासनमा रहेकाले गरेका अन्य दलले गरेको कामसँग कहीँ-कतै तुलना हुन सक्दैन । यसलाई आमनुवाकोटवासी मतदाताले राम्रोसँग बुझेका छन् ।

अबको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ? हुनुपर्ने के हो ?
बहुदलीय लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वोच्च हुन् । जनताले दलीय विचार, दृष्टिकोण र नेतृत्व कुशलताको मूल्याङ्कन गरी आफ्नो प्रतिनिधि चयन गर्ने र उनीहरूमार्फत राजनीतिक, कानुनी र विकासका निर्णय गर्ने अभ्यास नै लोकतान्त्रिक आधार हो । राष्ट्रिय एकता, व्यवस्थाप्रतिको विश्वास जगेर्ना गर्न राष्ट्रपति, उपराष्ट्रपतिजस्ता संस्थाको स्थापना र त्यसप्रति उच्च सम्मानपूर्ण व्यवहार व्यक्त गरी जनताको लोकतान्त्रिक आस्था र विश्वासको जगेर्ना गरिने हो । न्यायालय, व्यवस्थापिका, कार्यपालिकाबीच समन्वयात्मक, तर सन्तुलित शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन र व्यावहारिक कार्यान्वयनबाट नै लोकतन्त्रको जगेर्ना हुन सक्दछ । आगामी निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काङ्ग्रेसले प्रत्यक्षमा एक सय ६५ मध्ये ८९ सिटमा मात्र आफ्नो उम्मेदवार उठाएको छ । नेपाली काङ्ग्रेसले प्रत्यक्षमा उठाएको सबै सिट जित्दा पनि आफ्नो पार्टीको बहुमतको सरकार बनाउने क्षमता राख्दैन र आधार पनि देखिँदैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रणनीति पनि काङ्ग्रेसलाई बहुमतमा पुग्न नदिने नै हो, तर काङ्ग्रेसको नेतृत्वले अझै पनि प्रचण्डको रणनीतिको भेउ पाएको छैन । नेपाली काङ्ग्रेसका सहयोगी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीमा बहुमतको सरकार बनाउने क्षमता हुने कुरा नै भएन । ०७२ सालको भारतीय नाकाबन्दीको मार भोगेका र देखेका पुस्ताले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका गठबन्धनका दल र बाह्य स्वार्थमा खडा भएको नयाँ पार्टीलाई मत दिएर देश कमजोर बनाउने बाह्य रणनीतिलाई सफल बन्न दिनेवाला छैनन् । तैपनि उनीहरूलाई भ्रममा पार्न खोजिँदै छ । यतिखेर चुनावको सम्मुखमा बुद्धिमान मतदाताले भ्रमको प्रतिरोध गर्दछ, राष्ट्रिय हितको वकालत गर्दछ र राष्ट्रका लागि आफ्नो मताधिकार प्रयोग गर्दछ । त्यसैले सकारात्मक सोचका साथ आइतबार मङ्सिर ४ राष्ट्रका लागि भोट गर्ने दिन हो भनेर सचेत मतदाताले बुझेका छन् ।

ठबन्धन बलियो छ र यो पछिसम्म टिक्ला ?
गठबन्धनलाई तपाईंले के आधारमा बलियो ठान्नुभयो, तपाईंको कुरा होला । यो गठबन्धन केका लागि ? लोकतन्त्रमा चुनाव लड्न, विचार राख्न पाइने स्वतन्त्रता भने प्रत्येक नागरिकलाई हुन्छ र छ । व्यक्तिगत, दलगत, गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्न पाइन्छ र सकिन्छ पनि । तर, गठबन्धनमा स्वार्थका कारण जोडिएका दल र तिनका आ-आफ्ना विचार र घोषणा हुने हुँदा कुनै एउटा दलका नेताको नेतृत्वमा सरकार गठन गर्नमा झमेला हुन्छ । पार्टीभित्रकै महत्वाकाङ्क्षालाई सम्बोधन गर्न हरेक पार्टीलाई अप्ठ्यारो हुन्छ भने धेरै दल समेट्नु गाह्रो छ । यसले गर्दा चुनावपछि सरकार बनाउन झमेला यसै छ । समग्रमा भन्नुपर्दा गठबन्धनमा रहेका दलको विजय र स्वतन्त्र उम्मेदवारको विजय भनेको राजनीतिक अस्थिरतालाई बल पु¥याउनु हो । राजनीतिक अस्थिरताको परिणाम कस्तो हुन्छ ? प्रधानमन्त्री छान्न कठिनाइ, सरकार बन्न कठिनाइ, दृष्टिकोणमा भिन्नताका कारण कामका प्राथमिकतामा कठिनाइ, भागबन्डामा कठिनाइ हुन्छ । कर्मचारीतन्त्रमा अन्योल बढ्छ, बहुकेन्द्रियताले अराजकता ल्याउँछ । प्रधानमन्त्रीले बलियो नेतृत्व दिनमा कठिनाइ हुन्छ । सरकार ढल्ने खतरा रहिरहन्छ । अर्को सरकार बन्न उस्तै झमेला हुन्छ । अनि विकास, निर्माण, उन्नति, प्रगतिमा बाधा पर्दछ र देश पछि धकेलिन्छ । बाहिरी चलखेल बढ्छ । सानातिना समस्या समाधान गर्न पनि नसकिने अवस्था हुन्छ । अन्तर्विरोध सतहमा आउँछन्, आन्दोलन हुन्छन्, दैनिकीमा बाधा पर्दछ । अहिले कुनै पार्टी र कुनै नेताविशेषसँगको असन्तुष्टि पोख्न आफ्नो मत छिरोल्यौँ भने त्यो भुइँमा न भाँडामा हुनेछ । बहुदल छ भन्नुको अर्थ बहुराजनीति छ । राजनीति धेरै भएपछि धेरै पार्टी हुन्छन् । सैद्धान्तिक वैचारिक भिन्नतालाई सम्मान गर्दै मुलुकको समग्र हितका लागि, राजनीतिक स्थिरताका लागि आवश्यक शक्तिका बीचमा केही सहयोग, समर्थन, तालमेल, समन्वय गर्न आवश्यक हुन्छ, तर तानातानी, बेमेलबीचको गठबन्धन गरी शक्ति, सङ्घर्ष र त्यसबाट उत्पन्न हुन सक्ने अस्थिरताबाट मुलुकलाई जोगाउन जनताको सचेत खबरदारीसहित एमालेको सूर्य चिह्नमा मतदान आजको आवश्यकता हो ।