होटेल ब्यवसाय चलायमान निकुञ्जले ५३ लाख ४२ हजार राजश्व उठायो

  • सरस्वती न्यौपाने

धुन्चे, कोरोनाको कारणले विगत दुई वर्षदेखि थिलथिलिएको रसुवाको होटेल व्यवसायमा यस वर्ष आशालाग्दो पर्यटकको चहल-पहल बढेको छ । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्धि हुँदै गएको छ । यसबाट होटेल व्यवसायीको आर्थिक अवस्था सुधारसमेत हुन थालेको छ ।

कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट्ट रूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटेल तथा लज सञ्चालन गर्ने व्यवसायी एवम् अप्रत्यक्ष रूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् । विगतमा कोरोना त्रासका कारण धराशायी बनेको हिमाली क्षेत्रका होटेल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटो, छरितो सेवा प्रदान भइरहेको पर्यटकीय होटेल व्यवसायी सङ्घ रसुवाले जनाएको छ । असोजको पहिलो सिजनअन्तर्गत आगमन भएका पर्यटकलाई स्थानीयस्तरमा उत्पादन भएको खाद्यान्न, माछामासु र तरकारीको परिकारले उनीहरूको मन लोभ्याउँदै गएको छ ।

भ्रमणमा आएका पाहुनालाई स्थानीय आलु, रायोको साग, काउली, बन्दाकोभी, फर्सी, बरेला, स्कुस, डल्लेमुलाजस्ता सब्जीको तरकारी र खानाको हकमा स्वदेशी तथा विदेशी पर्यटकको चाहनाअनुरूप मकैको ढिँडो, चामलको भात, गहुँ वा आँटाको पिठोबाट तयार गरिने रोटी एवम् पाहुनाको चाहनाबमोजिम खाना तयार पारिँदै आएको व्यवसायीले बताएका छन् । पर्यटकको मागअनुसार स्थानीयले पालेका खसी, बोका, हाँस, कुखुरा, रेन्बो ट्राउट माछाको समेत परिकार ख्वाउने गरेको व्यवसायी बताउँछन् । पाहुना फर्कंदा लौ साहुजी मिठो खुवाउनुभयो भनी फ्रफुल्लित मुद्राले धन्यवाद भन्दै जाने गरेको होटेल व्यवसायी सुब्बा लामा बताउँछन् । पदयात्राका क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकका रूपमा महिलाको समेत उल्लेखनीय सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले पुष्टि गर्छ । चालू आर्थिक वर्षको साउनदेखि गत कात्तिक १५ गतेसम्म आन्तरिक एवम् बाह्य रूपले आगमन भएका १४ हजार तीन सय ९३ पर्यटकमध्ये स्वदेशी तथा विदेशीसमेत करिब तीन हजार महिलासमेत आगमन भएको लाङटाङ राष्ट्रिय निकुञ्ज वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिए ।

निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमअनुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारीको व्यवस्थापन एवम् ठाउँ–ठाउँमा चेतनामूलक होर्डिङबोर्डसमेत राखिएको छ । हिमाली पदयात्राका लागि हेलम्बुतर्फको पूर्वी एवम् धुन्चेतर्फबाट चन्दनबारी जाने यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङटाङको क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन जाने पाउनाको स्वागतार्थ धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयनजिक स्वागतद्वार निर्माणका साथ–साथै सन्देशमूलक सूचना एवम् महत्वपूर्ण जनावरको चित्रणसमेत राखिएका कारण पर्यटकको यात्रामा केही सहजता आएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहयोग दिन निकुञ्ज प्रशासन तयार रहेको जानकारी दिए ।

आगमन भएका विदेशी पर्यटकमा भने सार्क राष्ट्रका साथै अमेरिका, जर्मन, जापान, कोरिया, अस्ट्रेलियासमेत विभिन्न देशका छन् । अन्य क्षेत्रको तुलनामा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा अवस्थित हिमाली प्रकृतिको छटा अवलोकन गर्न राजधानी काठमाडौंबाट छोटो दूरी पर्ने र धुन्चे पुग्नासाथ नजिक जसरी देख्न सकिने लाङटाङ हिमाल एवम् गोसाइँकुण्ड नजिकको चुचुराले मनमोहक बनाउने आफ्ना अनुभव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । कुनै पनि यात्रुले पैदलमार्गमा हिँड्दा देखिने जनावरलाई मार्ने, तर्साउनेजस्ता क्रियाकलाप नगर्ने, कुनै पनि वनस्पति विरुवा भाँच्ने एवम् काट्ने काम नगर्ने र आफूबाट उत्पन्न हुने कागज वा प्लास्टिकजन्य सबै प्रकारका फोहोर तोकिएको स्थान वा ठाउँ-ठाउँमा राखिएका ड्रममा मात्र फ्याँक्न अनुरोध गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिव्यक्ति नेपालीका लागि एक सय रुपैयाँ, सार्क राष्ट्रका नागरिकका लागि एक हजार पाँच सय रुपैयाँ एवम् अन्य देशका नागरिकको हकमा तीन हजार रुपैयाँ शुल्क लिने कानुनी प्रावधानलाई लाङटाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गर्दै साउनदेखि कात्तिक १५ गतेसम्म उठाएको ५३ लाख ४२ हजार पाँच सय रुपैयाँ राजस्व राज्यकोषमा दाखिला गरिसकेको छ । आगन्तु पाहुनालाई सफा मौसमको शरद ऋतुमा देखिने हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली–ओराली, लाङटाङ हिमाल, गोसाइँकुण्ड, धुन्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय र ऐतिहासिक घलेराजाको दरबारस्थल, बाटोमा हिँड्दा भेटिने पुराना माने, चट्टानले भरिएका पहाड, छ्याङ–छ्याङ गर्ने ठाँडो खोल्छा, स्थानीय परिकारका अर्गानिक खाना, लोकल वेशभूषा, स्थानीय सांस्कृतिक नाचगानले नै पर्यटक प्रफुल्लित हुने गरेका छन् । फर्किने क्रममा सबै पाहुना खुसी भएर जाने गरेको पाइएको निकुञ्जका कर्मचारीले बताएका छन् ।

पर्यटक सेवाका लागि धुन्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङटाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटेलले सेवा दिइरहेका छन् । हिमाली क्षेत्रमा चिसोपन बढिसकेका कारण नयाँ-नयाँ बाक्ला सिरक, डस्नासमेतका बिस्तारा राखिएकाले रातको समयमा पाहुनालाई जाडोको प्रवाह नहुने बताउँदै पर्यटकीय होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान)ले जानकारी दिए । पर्यटकीय पदमार्गका ठाउँ-ठाउँमा रहेका सबै होटेल तथा लज सञ्चालन भएका कारण जति बेला पनि वास बस्न सक्ने व्यवस्थाले आगन्तुक पाहुना प्रफुल्लित हुने गरेको पाइएको छ । पाहुनाको आगमनले हिमाली कुना-कन्दरा, भिर-पाखामा रौनकता छाएको, होटेल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेकोसमेत अध्यक्ष गजुरेलले बताए ।

भ्रमण गर्न आएका पाहुनाले लाङटाङ, गोसाइँकुण्ड एवम् तामाङ सम्पदा मार्गका होटेल लज तथा होमस्टेमा वास बस्ने गरेका छन् । गोसाइँकुण्ड तथा लाङटाङका साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गत्लाङ, चिलिमे, नाकथली, थुमन तथा वृद्धिम होमस्टेसम्मको यात्रासमेत रोमाञ्चकारी बन्दै गएको छ । पाहुनाका लागि समय-साक्षेप, स्थानीयका साथै नेपाल-तिब्बत युद्ध झल्काउने कलासमेत देखाउने गरेका छन् । होमस्टेमा बस्नका लागि पर्यटकको पहिलो रोजाइ गत्लाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउँछन् । गत्लाङ क्षेत्रमा हिमालयकी पुत्री पार्वती माता विराजमान रहेका पवित्र कुण्ड, तामाङ समुदायको झुरुप्प बस्ती, अर्गानिक भोजन, स्याब्रु, जरायो, घोडानाँचजस्ता प्रहसनले पर्यटकको बसाइ गत्लाङतर्फ आकर्षित बन्दै गएको छ ।

काठमाडौंबाट सीधा बससेवासमेत सञ्चालनले गत्लाङ जाने पाहुनाको आगमनमा निकै सहज भएको छ । रसुवा भ्रमणमा आउने सबै पाहुनाका लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरीका साथै स्याफ्रुबेँसीमा पर्यटन प्रहरी युनिटसमेत रहेकाले यात्राका लागि सुरक्षा आवश्यक पर्नासाथ प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ । वर्षात् कम भएसँगै रसुवा प्रवेश गर्ने पासाङल्हामु राजमार्ग र बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-रसुवागढी सडक सहज रूपले सुचारु भएकाले पनि रसुवामा आउने पर्यटकलाई सुविधा पुगेको छ ।