मतदाता बढ्यो मत घट्यो

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार १२:१३

मतगणना जारी सय मत गन्न १५ मिनेट

मंसिर ४ गते आईतबार सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको दोश्रो आम निर्वाचनमा मतदाता बढेपनि मतदान गर्नेको संख्या घटेको छ ।
गत बैंशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नेको संख्या नुवाकोटमा कम रह्यो । दुई प्रतिनिधीसभा र चार प्रदेशसभा रहेको नुवाकोटमा प्रत्यक्षतर्फ प्रतिनिधीसभा सदस्यमा २८ तथा प्रदेशसभा सदस्यमा ३५ जना उम्मेदवार चुनावी मैदानमा भएपनि उत्साहजनक मत नखसेको निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रारम्भिक जानकारीअनुसार जिल्लामा कूल मतदातामध्ये समानुपातिक मतसहित ५३ दशमलव ९१ प्रतिशत मात्र मत खसेको छ । जिल्लाको प्रतिनिधीसभा र प्रदेशसभाको मतगणना सोमबारदेखि जारी रहेको छ । एक हप्ताभित्र मतगणनाको अन्तिम नतिजा आउने गरी गणना भईरहेको छ । गत बैंशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ७१ दशमलव ६ प्रतिशत मत खसेको नुवाकोटमा यसपटकको निर्वाचनमासमानुपातिक मतसहित ५३ दशमलव ९१ प्रतिशत मात्र खसेको छ । गणना यहीँ रफ्तारमा भईरहे निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ता लाग्ने देखिएको छ । हाल मतगणनाको अवस्था हेर्दा १५ मिनेटमा एकसय मतगणना मात्र भएको छ । मतगणनामा रहेका उम्मेदवारका प्रतिनिधीबिच मतको लागि विवाद, गणनामा संलग्न अनुभवि कर्मचारी नहुँदा पनि मतगणनाले गति लिन सकेको छैन ।

गत स्थानीय तह निर्वाचनमा नुवाकोटमा जम्मा २ लाख ३७ हजार ४ सय ३४ मतदाता रहेकोमा प्रतिनिधी तथा प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी मतदातासहित २ लाख ४० हजार ७ सय १५ मतदाता बढेको भएपनि १ लाख २९ हजार ९ सय २ मात्र मत खसेको थियो । कूल खसेको मत ५३ दशमलव ९१ प्रतिशत रहेको छ । प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं.१ को ‘क’ प्रदेशमा ५९ हजार ४ सय ५९ मध्ये ३१ हजार ८२ मात्र मत खसेको छ । प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं.१ को ‘ख’ प्रदेशमा ६१ हजार २ सय ९३ मध्ये ३२ हजार ३ सय ४ मात्र मत खसेको छ । त्यसैगरी, प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं.२ को ‘क’ प्रदेशमा ६० हजार ४ सय ४२ मध्ये ३४ हजार २ सय ५७ मात्र मत खसेको छ । प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं.२ को ‘ख’ प्रदेशमा ५९ हजार ५ सय २१ मध्ये ३२ हजार २ सय ५९ मात्र मत खसेको छ ।
जिल्लाको १२ वटा पालिकामध्ये म्यागङ गाउँपालिकामा सबैभन्दा बढी खसेको मतको प्रतिशत ५८ दशमलव ७५ रहेको छ भने सबैभन्दा कम शिवपुरी गाउँपालिकामा ४८ दशमलव ७३ प्रतिशत रहेको छ । त्यसैगरी ककनी गाउँपालिकामा ५३ दशमलव ९९ प्रतिशत, तादी गाउँपालिकामा ५० दशमलव ८ प्रतिशत, दुप्चेश्वर गाउँपालिकामा ५६ दशमलव ७८ प्रतिशत, पञ्चकन्या गाउँपालिकामा ५३ दशमलव ६१ प्रतिशत, लिखु गाउँपालिकामा ४९ दशमलव ५८ प्रतिशत, सुर्यगढी गाउँपालिकामा ५४ दशमलव ९ प्रतिशत, किस्पाङ गाउँपालिकामा ५४ दशमलव ९१ प्रतिशत, तारकेश्वर गाउँपालिकामा ५२ दशमलव ९४ प्रतिशत, बेलकोटगढी नगरपालिकामा ५६ दशमलव ३९ प्रतिशत र विदुर नगरपालिकामा ५६ दशमलव १७ प्रतिशत रहेको छ ।

मृत्यु भएकाहरूको नामावलीमा नाम रहिरहनु, सम्बन्धित पालिका छाडेर अन्यत्र बसोबास गर्ने र वैदेशिक रोजगारीमा जानेको संख्या धेरै भएको तथा राजनीतिक दलप्रति र उम्मेदवारप्रति विश्वास नभएकोले यसपटकको निर्वाचनमा मतको प्रतिशत कम रहेको हुनसक्ने सामाजिक अभियान्ता एवं गितकार सहदेव ढुंगानाले बताउनु भयो । नुवाकोटको १२ वटा पालिकामध्ये प्रतिनिधीसभा क्षेत्र नं.१ को ककनी र लिखु गाउँपालिकाको गणना यो समाचार तयार पारिञ्जेलसम्म सम्पन्न भईसकेको छ । उक्त पालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिईरहेका छन् । त्यसैगरी प्रतिनिधीसभा क्षेत्र नं.२ को बेलकोटगढी नगरपालिकाको गणना सम्पन्न भएर विदुर नगरपालिकाको १ नं. वडाको गणना सकेर वडा नं.२ को जारी रहेको छ । यो क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले अग्रता लिईरहेका छन् । नुवाकोटमा सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीसहित पाँच दलीय गठबन्धनबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र नेकपा एमालेको उम्मेदवारबिच प्रतिस्पर्धा रहेको छ ।