अष्ट्रेलिया भ्रमणका टापनटिपन-२ : भाग्यमानी कुकुरहरू

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार १६:००
  • हरिप्रसाद रिमाल

१. हामीलाई थाहा छ कुकुरहरू पनि भाग्यमानी र अभागी हुन्छन् । ती भाग्यमानी हुन्, जो मानिसबाट गहिरो माया, उचित तालिम र शिक्षा पाउँछन् । अभागी ती हुन्, जो सडेगलेका कुरा पनि खान पाउँदैनन् र मानिसबाट धेरै गाली र अपमान सहन विवश छन् । अभागी कुकुरका उदाहरण नेपालका सडक-गल्लीका कुकुरहरू हुन् ।

२. अहिले म अष्ट्रेलियाका भाग्यमानी र प्रतिभाशाली कुकुरका बारेमा केही कुरा गरिरहेको छु । यहाँ मानिस कुकुरलाई अति नै माया गर्छन्, आफ्नो सन्तानलाई जस्तै । कुकुरलाई हप्तैपिछे नुहाई दिन्छन् र उसको रूचिअनुसारको पौष्टिक र स्वस्थ्यकर खाना खुवाउँछन् । बिरामी भयो भने उसको उपचारमा धेरै धनराशी खर्च गर्छन् । प्रातः भ्रमण र अन्यत्र पनि जाँदा सम्भव भएसम्म उसलाई सँगै लिएर जान्छन् ।

३. कुकुर त यहाँ मानिसका सबैथोक हुन् – मित्र, रक्षक, सेवक, आज्ञापालक आदि । त्यसैले त बच्चादेखि बुढाबुढीका समेत कुकुर प्यारा छन् । उनीहरू मानिसका दुःख, सुख, हर्ष, बिस्मात सबै बुझ्ने समझदार हुन्छन् ।

४. अझ बुढाबुढीका लागि र अपाङ्ता भएका मानिसका लागि त कुकुर अत्यन्तै उपकारी सहारा र आधार नै बनेका हुन्छन् । उनीहरूको ह्विलचेयर यताउता तानेर लैजाने, लठ्ठी र औषधीको बट्टा खोजेर ल्याईदिने, धेरै असजिलो अवस्थामा छिमेकीलाई खबर गर्नेसम्मका काम कुकुरले गर्दा रहेछन् ।

५. नेत्रहिन मनिस कुकुरको सहाराले सहजै यताउता जान सक्छन् । त्यस्ता पथप्रदर्शक कुकुरको पिठ्युँमा ‘पथप्रदर्शक कुकुर’ (गाईड डग) भन्ने बिल्ला झुण्ड्याईएको हुन्छ ।

साधारणीकरण !

१. यहाँ ब्रिसबेन सहरमा आएदेखि नै हामीले प्रत्येक दिन जसो नेपली परिवारसँग भेट गर्ने र उनीहरूले दिएको न्यानो आतिथ्यग्रहण गर्ने अवसर पाईरहेका छौँ । यस्तो अवसर जुटाउँने स्मरणीय काम छोरी बिन्दु र ज्वाई रमेशबाट भईरहेको छ । कतिपय नातेदार र कतिपय भेटघाटपछि परिचय भएका ब्यक्ति छन् । आश्चर्य त यो छ कि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीमा अचम्मको स्वभाव विकसित भएको अनुभव हुन्छ । पहिले अपरिचित ब्यक्ति पनि परिचय हुनासाथ आत्मीय बन्ने र दुःख, सुखका कुरा खुलेर गर्ने गर्दा रहेछन् । यसै क्रममा आज बेलुका हामीले रात्रीभोजका निम्ती सागर अर्यालको घर Heath Wood नामको शान्त र रमाइलो बस्तीमा जाने अवसर भेट्यौं । ज्वाई-छोरीको निवास Brisbane सहरबाट आधा घण्टाको Drive मा पुगिंदोरहेछ उहाँको घर । बेलुका ७ बजे हामी निवासबाट निस्कियौं । ज्वाई रमेशले हाक्नुभयो मोटर र हामी बाटो लाग्यौँ । बाटामा कार र अरू विभिन्न थरी सवारी साधन बिजुलीका मालाको झल्को दिईरहेका थिए । सुन्दर, सफा, फराकिला सडक, पैदलयात्रु र साईकल सवारका लागि बनेका फराकिला पेटी अनि दुबैतर्फ विभिन्न जातका झ्याम्म परेका र सुन्दरताको नमुना बनि वातावरणीय स्वच्छता प्रवाहित गरिरहेका पुड्का बोट । यी सबै हेर्दै आनन्दमय परिवेशमा हामी सागर अर्यालकोमा पुग्यौं ।

२. उहाँको घरमा पुगेपछि हामी भुईतलाको एक फराकिलो कोठामा प्रवेश गछौं । त्यस प्रकोष्ठमा एप्रोन लगाएरै एक पुरुष र महिला खानाका परिकार तयार गर्नमा ब्यस्त, एक वर्ष जतिकी मोटीघाटी पुटुक्क परेकी जोसुकैको मन आफुतिर तान्न सिपालु मनोहर शिशु गलैंचामा घस्रदैं बाबु-आमाको खोजीमा भान्सातर्फ लम्कीरहेकी देखिन्छिन् । त्यहाँ एकतर्फ दुई जोर सोफा र अर्कातर्फ सेतो रंगका डिनर टेबुल र मेच सजिएका छन् । अर्कातिर भित्तामा सोफा र डिनर चेयरमा बस्ने सबैले देख्ने गरी सिनेमाको पर्दाझंै बडेमानको टिभी झुण्ड्याईएको छ । हामीलाई देख्नासाथ ती एप्रोनधारी पुरुष र महिला दुबै हात जोडेर विनम्रतापूर्वक हामीलाई अभिवादन गर्नुहुन्छ र हामी पनि त्यही शैलीमा अभिवादन फर्काउँछौँ । अब भने स्पष्ट भयो ती एप्रोनधारी युवक र युवती ता सागर अर्याल र श्रीमती अर्याल नै हुनुहुँदोरहेछ ।

३. अब हामी सोफामा आरामसाथ बस्यौं । चिसो तातो के लिनु हुने ? प्रस्ताव आईहाल्यो । हामीले मनतातो पानी एक÷एक ग्लास पियौं । चिया आयो त्यो पनि मिठो स्वादका साथ सिध्यायौं । फेरी पनि ती युवा र युवती भने रात्रीभोजका विविध ब्यञ्जन तयार गर्नमा नै ब्यस्त हुनुहुन्छ र हामीसँग रोचक बातचित गर्न पनि भ्याईरहनुभएको छ । उहाँ सागपात केलाउन र तरकारी काटकुट गर्न मात्र होइन कि खाना पकाउन पनि अत्यन्त सिपालु हुनुहुँदोरहेछ भन्ने कुरा पछि अत्यन्त स्वादिलो डिनर खान थालेपछि थाहा भयो । नेपालमा थोरै युवक होलान् जो यति मिठो खाना तयार गर्ने हैसियत राख्छन् ।

४. सागरजी भर्खरै ४० टेकेका युवा ! इ.सं.२००६ मा अष्ट्रेलिया पसेर आफ्नो जीवनमा बुद्धि, विवेक र परिश्रमको त्रिवेणी बगाउँदै अष्ट्रेलियाली र नेपाली जनतामा मात्र होइन कि विश्वका दक्षिण कोरिया, भियतनाम, श्रीलंका, चीन, भारत, पाकिस्तान आदि १६/१७ देशका पेशाका खोजी गर्दै अष्ट्रेलिया पसेका जनताका पनि परिचित ब्यक्ति हुनुहुन्छ ती देशमा उहाँहरूको नेटवर्क फिजारीसकेको छ । उहाँहरूको संस्था Expert Education And Visa Services Brisbane हो । यस संस्थाका सागरजी डाइरेक्टर हुनुहुँदोरहेछ । यस संस्थाले हजारौँ विद्यार्थीलाई यस देशमा अध्ययन गर्ने मौका जुटाई दिएर र धेरै जनतालाई अष्ट्रेलियामा बसोबास गर्ने उपाय एवं तरिका सिकाईदिएर ठूलो गुन लगाएको छ । यस संस्थाको मुख्य कार्यालय भने अष्टेलियाको सिड्नीमा रहेको छ ।

५. काम सानो र ठूलो भन्ने हुँदैन । आफ्नो, परिवारकोे, समुदाय, समाज, राष्ट्र र विश्व-मानवको हित हुने, मानव जातिको भलाई हुने काम हो भने त्यस्तो जुनसुकै काम पनि गर्न हुन्छ । काम नगरेर कोही पनि ठूलो मानिस हुँदैन । कामले नै मानिसलाई उच्चस्तरको प्रगतिमा उकालीदिन्छ । सागर कहाँ आएर पनि मैले यही कुरा स्पष्ट बुझ्ने अवसर भेटें । तर नेपाली युवायुवतीमा कामलाई माया गर्ने र आफुले गर्दै आएको कामप्रति गर्व गर्ने प्रवृत्तिको अझै विकास हुन सकेको छैन । त्यस्तो प्रवृत्ति थोरै देखिएका युवायुवतीमा पनि त्यस्तो प्रवृत्तिको पूर्ण विकास हुन बाँकी छ । नेपालमा हुँदा जुन काम गर्न लाज मान्छन्, हिचकिचाउँछन् त्यही काम विदेशमा गएर भने उनीहरू गर्छन् । इज्जतको पर्दाले गर्दा उनीहरू आफ्नो देशमा सहजरूपमा गर्न सकिने र आर्थिक विकास हुने काम पनि गर्दैनन् । विदेश पसेर बाउन्न हण्डर र त्रिपन्न ठक्कर भेटेपछि भने त्यही काम लुत्रुक्क परेर गर्छन् नेपाली युवाहरू । आफुलाई साधारण बनाउनुमा र साधारणीकरण गर्नुमा नै जुनसुकै ब्यक्तिको भलाई छ । मानिस जति साधारण बन्न सक्यो उति सर्वसाधारण जनताका माझ प्यारो बन्दै जान सक्छ । साधारणीकरणतिर ढल्कनु नै मानिसको महानता हो भन्ने शिक्षा पनि सागरजीको घरले दिईरहेको मैले अनुभूति गरें आज ।

(लेखक : पूर्व प्रशासक, साहित्यकार तथा आध्यात्मिक चिन्तक हुनुहुन्छ।)
कामपा-५, हाँडीगाउँ, काठमाडौँ