४९ उम्मेदवारको जमानत जफत

  • त्रिशूली प्रवाह
  • १५ मंसिर २०७९, बिहीबार १२:५०

विदुर, नुवाकोट जिल्लाको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका ४९ जना उम्मेदवारको जमानत जफत भएको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेश सभा क्षेत्र रहेको नुवाकोटका ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका ६३ जनामध्ये प्रतिनिधि र प्रदेश सभाका १४ जना उम्मेदवारले मात्रै आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् ।

जमानत जोगाउनेमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाँचजना र प्रदेश सभाका उम्मेदवार नौजना रहेका छन् । उम्मेदवारले आफ्नो जमानत सुरक्षित गर्न कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा हरेक उम्मेदवारले १० हजार र प्रदेश सभा सदस्यका उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राखेका हुन्छन् । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १५ उम्मेदवारको जमानत जफत भएको छ । जम्मा खसेको मत ६० हजार पाँच सय ८३ मध्ये सो निर्वाचन क्षेत्रको उम्मेदवारले जमानत जोगाउन १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । यो क्षेत्रबाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २३ हजार चार सय ६५ मत पाएर दोस्रो भएका छन् । यो क्षेत्रबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका देवराज घिमिरेले एक सय ४९, राप्रपाका सुदर्शन सिटौलाले एक हजार ६ सय ११, नेमकिपाका रवीन्द्र डङ्गोलले एक सय १६, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मी रसाइलीले ४७, हाम्रो नेपाल पार्टीका सफलता बोगटीले एक सय ८४ मत प्राप्त गरी जमानत जोगाउन सकेनन् । त्यसैगरी, यो क्षेत्रबाट राप्रपा नेपालका पुष्पा न्यौपानेले ५२, नेकपा (माले) का केशवप्रसाद उप्रेतीले नौ सय ७०, मङ्गोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र तामाङले दुई सय ४६, सङ्घीय नेसनल अर्गनाइजेसनका सुरेन्द्र तामाङले दुई सय ४६, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुवन तामाङले ७१, नेपाली काङ्ग्रेस (बिपी) का श्यामबहादुर गुरुङले ४५, जनसमाजवादी पार्टीका निमेश तामाङले ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युम्न महत क्षेत्रीले ६ हजार एक सय १३ र ३ जना स्वतन्त्र उम्मेदवार जितेन्द्रसिंह ठकुरीले ६, निर्मल लामिछानेले एक सय ३२ र राजकुमार बस्नेतले एक सय ८८ मत प्राप्त गरे । उनीहरू सबैले जमानत जोगाउन पुग्ने मत प्राप्त गर्न सकेनन् ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवारमध्ये तीनजना उम्मेदवारले मात्र जमानत जोगाउन सकेका छन् । यो क्षेत्रबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका अर्जुननरसिंह केसी विजयी भए । उनी २८ हजार एक सय सात मत प्राप्त गरेर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे १६ हजार चार सय ७७ मत प्राप्त गरेर दोस्रो र नेकपा एमालेका नारायणप्रसाद खतिवडा १५ हजार पाँच सय ६१ मत पाएर तेस्रो भएका छन् । यो क्षेत्रबाट धरौटी जोगाउन नसक्ने राप्रपाका झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत, नेमकिपाका गणेशमान बाटाकंक्षीले ४० मत, लोकतान्त्रिक समाजवादी पार्टीका धनकुमारी सुनारले ९८ मत, मङ्गोल नेसनल अर्गनाइजेसनकी प्रेममाया तामाङले सात सय १३ मत, जनसमाजवादी पार्टीका हिमाल जोशीले ५३ मत, स्वतन्त्र उम्मेदवारी दिएका तीनजनामध्ये गायत्री दाहालले ८९ मत, विनोदकुमार तामाङले एक सय आठ मत र सुदर्शन पुडासैनीले एक सय ८७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा सातजना उम्मेदवारमध्ये पाँचजनाको जमानत जफत भएको छ । यो प्रदेश सभा क्षेत्रबाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राधिका तामाङ विजयी भइन् । उनले १६ हजार एक सय ६९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुशीलकुमार खड्का ११ हजार तीन सय मत प्राप्त गरी दोस्रो भए । यो प्रदेश क्षेत्रबाट उम्मेदवार बनेका राप्रपाका राजु पण्डितले एक सय तीन, जनता समाजवादी पार्टीका शेरबहादुर विकले एक सय ६७, नेकपा एकीकृत समाजवादीका राजेश थापाले दुई सय ८२, मङ्गोल नेसनल अर्गनाइजेसनका कर्म तामाङले एक सय ८५ मत प्राप्त गरी जमानत जोगाउन सकेनन् । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का नौजना उम्मेदवारमध्ये दुईजना मात्र धरौटी जोगाउन सफल भएका छन् । यो प्रदेश सभाको क्षेत्रबाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका रमेश महत १२ हजार ६ सय ३ मत पाएर विजयी भए भने नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठ ११ हजार दुई सय ९२ मत पाएर दोस्रो भएका छन् । यस प्रदेशमा उम्मेदवार बनेका राप्रपाका विमल थापाले तीन हजार २७, जनता समाजवादी पार्टीका रामकृष्ण ढकालले तीन सय १४, हाम्रो नेपाल पार्टीका दीपेश ढुङ्गानाले नौ सय एक, राप्रपा नेपालका केदारप्रसाद पौडेलले एक सय नौ, मङ्गोल नेसनल अर्गनाइजेसनका दीपेश राईले चार सय २०, नेसनलिस्ट पिपल्स पार्टीका रमेश सुनारले ५५ र स्वतन्त्र उम्मेदवार डोलबहालुर घलेले एक सय ७५ मत ल्याएर जमानत जोगाउन सकेनन् ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा चुनावी मैदानमा रहेका ६ जना उम्मेदवारमध्ये चारजनाको जमानत जफत भएको छ । यो प्रदेशबाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा (तामाङ) १७ हजार दुई सय ४९ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार विजयसिंह लामा तामाङ नौ हजार एक सय २४ मत पाएर दोस्रो भएका छन् । यो प्रदेशमा उम्मेदवार बनेका राप्रपाका रणप्रसाद न्यौपानेले दुई हजार ६ सय २६, हाम्रो नेपाल पार्टीका वसन्त सापकोटाले सात सय ३०, मङ्गोल नेसनल अर्गनाइजेसनका दिलमान तामाङले एक हजार ९० र स्वतन्त्र उम्मेदवार सिंहराज लामाले ३० मत प्राप्त गरी जमानत जोगाउन सकेनन् । त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा १३ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । तीमध्ये तीनजनाको मात्र जमानत जोगिएको छ । यो प्रदेशमा वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भए । उनले १२ हजार एक सय १० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत ल्याए । यो प्रदेश क्षेत्रमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार रहेर उम्मेदवारी निष्क्रिय पारेकी गीता अमात्य दुई हजार आठ सय ८४ मत प्राप्त गरेर जमानत जोगाउन सफल भइन् ।

त्यसैगरी, वाम-लोकतान्त्रिक गठबन्धनबाट बाहिरिने धम्की दिँदै यो प्रदेश सभामा उम्मेदवार दर्ता गराएका नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनीले दुई सय ८५ मत ल्याएर जमानत जोगाउन नसक्नेको सूचीमा रहे । उनले उम्मेदवारी कायम भइसकेपछि विज्ञप्ति निकालेर निष्क्रिय पारेका थिए । यो प्रदेश सभाको जमानत जोगाउन नसक्ने उम्मेदवारमा राप्रपाका दीपेश लामा (निश्चल) ले दुई हजार आठ सय ८४, नेमकिपाका श्याम लामाले ६२, लोकतान्त्रिक समाजवादी पार्टीका राजन विश्वकर्माले चार, मङ्गोल नेसनल अर्गनाइजेसनका चन्द्र तामाङले ६४, नेका (बिपी)का ईश्वर बोगटीले ६७, आमुल परिवर्तन मसिहा पार्टीका प्रेमबहादुर नेपालीले ९६ र स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र न्यौपानेले पाँच सय १७, भरत कुमालले ७५ र शम्भुप्रसाद पनेरूले एक सय १२ मत पाएका थिए । उनीहरू सबैको धरौटी जोगिएन । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयराज गौतमले दिएको जानकारीअनुसार जफत भएको जमानत र जमानत फिर्ता लिन उम्मेदवार नआए सो रकमसमेत नेपाल सरकारको राजस्वमा जम्मा हुनेछ ।