दुईवटा संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभाद्वारा बनेको नेपालको संविधान, २०७२ सङ्घीय संरचनाअनुरूपको गणतन्त्रात्मक देशको पहिलो संविधान हो । २००७ सालदेखि दलहरूले माग गर्दै आएको संविधानसभाले बनेको सङ्घीय संविधान यो पहिलो हो । संविधानअनुसार तीनै तह सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन २०७४ मा पहिलोपटक भयो ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरेर निर्वाचन लडे । उक्त निर्वाचनमा गठबन्धनले माओवादीलाई खासै फाइदा भएन । त्यसपछि २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादीले युटर्न ग¥यो । माओवादीले काङ्ग्रेससँगको गठबन्धनलाई तोड्दै चुनावी तालमेल नेकपा एमालेसँग ग¥यो । एमालेसँग चुनावी तालमेल मात्र नगरी निर्वाचनपछि पार्टी नै एकता गर्ने निर्णय ग¥यो । दुवै पार्टीले गठबन्धन गर्दा सत्ता कब्जा सहजै गरे । सत्तामा पुगेपछि पार्टी नै एकता गरे । तीन वर्ष पनि सँगै रहन नसकी दुवै पार्टी अलग भए । एमाले र माओवादी अलग भएसँगै देशमा राजनीतिक अस्थिरता सुरु भयो । त्यसको कारकतत्व जे भए पनि एमाले र माओवादी नेताबीचको जुँगाको लडाइँ थियो भनिरहनुपर्दैन । एमाले र माओवादी अलग भएसँगै एमाले पनि विभाजन भयो ।
मूल प्रवाहमा रहेको ठूला कम्युनिस्ट पार्टी अलग बनाउन देशी-विदेशी शक्तिले मलजल गरिरहे । एमाले विभाजनले देशमा फेरि काङ्ग्रेस र माओवादीलाई नजिक्यायो । माओवादीको पहलमा काङ्ग्रेस नेतृत्वको वाम-लोकतान्त्रिक गठबन्धन बन्यो । यो गठबन्धनमा काङ्ग्रेस, माओवादी र एमाले विभाजनपछिका दल नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोसपा र जसपा सामेल भए । काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा ओलीलाई विस्थापित गरेर सत्ताको वागडोरसमेत गठबन्धनले हत्याउन सफल भयो । गठबन्धनरत दलले दोस्रो स्थानीय तहको निर्वाचन ०७९ मा समेत निरन्तरता पायो । नुवाकोटमा पनि एमालेले गत ०७४ को स्थानीय निर्वाचनमा जितेको विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर गाउँपालिकामा तालमेल गरे । नतिजा गठबन्धनको पक्षमा ल्याउन सफल भए । नुवाकोट कम्युनिस्ट मतदाताको बाहुल्य रहेको क्षेत्र हुँदाहुँदै पनि नेपाली काङ्ग्रेसले विगतदेखि नै जित्ने गरेको छ । कम्युनिस्ट दलहरूलाई अलग-अलग गराउँदा काङ्ग्रेसले विगतदेखि नै जित्न सफल हुँदै आएको छ । दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेर उठ्दा गत ०७४ को प्रदेश तथा प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसलाई नुवाकोटमा खाली गराउन सफल भएका थिए ।
यसपटकको निर्वाचनमा विगतको भन्दा फरक तालमेल भयो । सत्तागठबन्धन दलबीचको तालमेलले नुवाकोटमा नेकपा एमाले खाली भएको छ । यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको आडमा काङ्ग्रेसले गत ०७४ को प्रदेश तथा प्रतिनिधिसभा सदस्यमा गुमाएको दुई प्रतिनिधिसभा र चार प्रदेश सभामध्ये एक प्रतिनिधिसभा र दुई प्रदेश सभाको क्षेत्र फिर्ता गर्न सफल भएको छ । गठबन्धनरत माओवादीले भने गत ०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन हुँदा जितेको क्षेत्र यथावत् राख्न सफल भएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ विजयी भएका छन् । उनले २६ हजार पाँच सय ४८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार चार सय ६५ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा मतदाताको सङ्ख्या एक लाख २० हजार सात सय ५२ मध्ये जम्मा ६३ हजार पाँच सय ८६ खसेको थियो । खसेको मतमध्ये ६० हजार २१ सदर र तीन हजार पाँच सय ६५ बदर भएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन् । केसीले २८ हजार एक सय सात मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत प्राप्त गरे । यो क्षेत्रमा एमाले तेस्रो भएको छ । एमालेको तर्फबाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत प्राप्त गरे । यो क्षेत्रमा मतदाता सङ्ख्या एक लाख १८ हजार नौ सय ७४ भए पनि जम्मा खसेको मत ६६ हजार एक सय १९ र कुल सदर मत ६३ हजार चार र कुल बदर मत तीन हजार एक सय १५ रहेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रकी राधिका तामाङ विजयी भइन् । तामाङ १६ हजार एक सय ६९ मतले विजयी हुँदा एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत प्राप्त गरे । यो प्रदेश सभा क्षेत्रमा ५९ हजार चार सय ५९ मतदाता रहे पनि ३१ हजार एक सय सात मात्र मत खसेको थियो भने २९ हजार सात सय ६५ सदर र एक हजार तीन सय ४२ मत बदर भएको थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका रमेशकुमार महत विजयी भए । महतले १२ हजार ६ सय तीन मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार दुई सय ९२ मत पाए । यो प्रदेश सभा क्षेत्रमा ६१ हजार दुई सय ९३ मध्ये ३२ हजार दुई सय ५७ मात्र मत खसेको थियो । खसेको मतमध्ये एक हजार पाँच सय ५७ मत बदर र ३० हजार सात सय मत सदर भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा विजयी भएका छन् । लामाले १७ हजार दुई सय ४९ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका विजयसिंह लामा तामाङले नौ हजार एक सय २४ मत प्राप्त गरे । यो प्रदेश सभामा मतदाता सङ्ख्या ५९ हजार पाँच सय २१ मध्ये ३२ हजार एक सय २९ मात्र मत खसेको थियो भने एक हजार दुई सय ८० मत बदर हुँदा ३० हजार आठ सय ४९ मात्र सदर भयो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा सत्तागठबन्धनरत दलका साझा उम्मेदवार माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भएका छन् । ढुङ्गानाले १२ हजार एक सय १० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए । यो प्रदेश सभा क्षेत्रमा ५९ हजार चार सय ५३ मतदाता रहे पनि ३३ हजार आठ सय ८९ मात्र मत खसेको र एक हजार आठ सय १९ मत बदर हुँदा ३२ हजार ७० मात्र सदर भएको छ । सत्तागठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने नुवाकोटको कुनै क्षेत्रमा भाग पाएन । समाजवादीले काङ्ग्रेस र माओवादीलाई जिताउन र एमालेलाई हराउन आफ्नो अस्तित्वसमेत प्रवाह गरेन । जसको कारण नुवाकोटमा समाजवादीका कार्यकर्ता एमालेमा प्रवेश गर्ने र पलायन हुने लहर चलेको छ ।