नुवाकोटमा २७ हजार ७ सय चालिस मत बदर

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार ११:२१

१ लाख ४१ हजार २१९ मतपत्र खेरा

विदुर, मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटको दुवै प्रतिनिधीसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकमा गरेर २७ हजार ७ सय ४० मत बदर भएको छ । जिल्लामा आएको मतपत्रको आधा भन्दा बढी संख्यामा छाप नै नलागी खेर गएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममा गरेको खर्च ब्यवहारिक नभएको बदर मतको संख्याले पुष्टि गर्छ ।

प्रतिनिधीसभाको लागि समानुपातिकतर्फ नुवाकोटमा २ लाख ७१ हजार मतपत्र नुवाकोट आएको थियो । अस्थायी मतदाताको लागि आएको ६ हजार मतपत्रसहितको संख्या हो यो । नुवाकोटमा अस्थायी मतदातासहित २ लाख ४० हजार ७ सय १५ मतदाता थिए । नुवाकोटमा मत भने जम्मा ५३ दशमलव ९१ प्रतिशत खसेको छ । १ लाख २९ हजार ७ सय ८१ मत खस्दा मतपत्र पनि सोहीअनुसार प्रयोग भएको छ । मतदाता भन्दा झण्डै १३ प्रतिशत बढी मतपत्र आएको नुवाकोटमा समानुपातिकतर्फ मात्र १ लाख ४१ हजार २ सय १९ मतपत्र प्रयोग नै भएन । जिल्लामा आएकोमध्ये ५२ दशमलव ११ प्रतिशत मतपत्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयकानुसार प्रयोग भएको भन्दा प्रयोग नभएको रित्तो मतपत्रको संख्या धेरै भएको छ । यसैगरी प्रत्यक्षतर्फ पनि मतपत्र झण्डै ५० प्रतिशत प्रयोगमा नै नआएको जिल्ला निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिनुभएको छ । निर्वाचन कार्यालयकानुसार सबैभन्दा धेरै क्षेत्र नं.१ प्रदेश १ मा पठाईएको मतपत्र धेरै खाली रहेको छ । उक्त क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा ६८÷६८ हजार मतपत्र आएको थियो । ३१ हजार ८२ मत खस्यो यो प्रदेशमा ।

समानुपातिक र प्रत्यक्ष गरेर १ लाख ३६ हजार मतपत्र आएको यो प्रदेशमा दुबैतर्फ गरेर ६२ हजार १ सय ६४ मतपत्रमात्र प्रयोगमा आउँदा ७३ हजार ८ सय ३६ मतपत्रमा छाप नै लागेन । नुवाकोटको यो क्षेत्रमा ५४ दशमलव २९ प्रतिशतसम्म मतपत्र प्रयोग नै भएन । निर्वाचनमा मतदाताको उत्साह कम हुँदा र आयोगले मतदाता भन्दा बढी मतपत्र छापेको कारण यो पटक देशभरमा करोडौं मतपत्र प्रयोगमा आएन ।
प्रतिनिधीसभा सदस्यतर्फको भन्दा प्रदेशसभा सदस्यतर्फको मत बदरको संख्या बढी छ । जिल्लाको प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं.१ मा प्रत्यक्षतर्फ १ लाख २० हजार ७ सय ५२ मत रहेकोमा ६३ हजार ५ सय ८६ मत खसेको थियो । खसेको मतमध्ये ६० हजार २१ सदर र ३५ सय ६५ बदर भएको छ । त्यसैगरी, प्रतिनिधीसभाको निर्वाचन क्षेत्र नं.२ को प्रत्यक्षतर्फ १ लाख १८ हजार ९ सय ७४ मत रहेकोमा ६५ हजार १ सय १९ मत खसेको र सदर मत ६३ हजार ४ रहेको छ । सदर मतमध्ये ३१ सय १५ बदर भएको निर्वाचनको अन्तिम परिणामको विवरणमा उल्लेख छ । दुई प्रतिनिधीसभाको मत जोड्दा ६ हजार ६ सय ८० मत बदर भएको छ ।

त्यसैगरी, चार प्रदेशमा रहेको नुवाकोटमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको बदर मत ५ हजार ९ सय ९८ रहेको छ । प्रतिनिधीसभा क्षेत्र नं.१ प्रदेश ‘क’ मा ५९ हजार ४ सय ५९ मतदाता रहेकोमा ३१ हजार १ सय ७ मत बदर भएको छ । प्रतिनिधीसभा क्षेत्र नं.१ प्रदेशसभा क्षेत्र ‘ख’ मा ६१ हजार २ सय ९३ मतमध्ये ३२ हजार २ सय ५७ मत खसेकोमा ३० हजार ७ सय मात्र सदर र १५ सय ५७ मत बदर भएको छ । प्रतिनिधीसभा क्षेत्र नं.२ प्रदेशसभा ‘क’ क्षेत्रमा ५९ हजार ५ सय २१ मतमध्ये ३३ हजार ८ सय ८९ मत खसेको ३२ हजार ७० सदर र १८ सय १९ बदर भएको छ । त्यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं.२ प्रदेशसभाको क्षेत्र ‘ख’ मा ५९ हजार ५ सय २१ मत रहेकोमा ३२ हजार १ सय २९ खसेको ३० हजार ८ सय ४९ सदर र १२ सय बदर भएको छ ।

सम्पन्न निर्वाचनमा दलका उम्मेदवारले प्राप्त गर्ने प्रत्यक्षतर्फको मतमध्ये प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं.१ र २ मा गरी ६१ सय ४३ मत बदर भएको छ । क्षेत्र नं.१ मा १ लाख २० हजार ७ सय ५२ मतदाता रहेको थियो । तर निर्वाचनमा ६२ हजार १ सय ३२ मत मात्र खसेको थियो । खसेको मतमध्ये ५९ हजार १ सय ३३ सदर र २९ सय ९९ बदर भएको छ । त्यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं.२ मा १ लाख १८ हजार ९ सय ७४ मतमध्ये ६६ हजार ८ सय ५३ खसेको थियो । खसेको मतमध्ये ६३ हजार ७ सय ९ सदर र ३१ सय ४४ बदर भएको छ । यी दुई क्षेत्रमा बदर मतको संख्या ६१ सय ४३ रहेको छ ।

बदर मतको संख्या जिल्लाको ४ वटा प्रदेशसभा क्षेत्रमा पनि बढी छ । प्रतिनिधीसभा क्षेत्रको दुवै प्रदेशसभाको मतगणना एकै ठाउँमा राखेर गणना गरिएको थियो । निर्वाचन क्षेत्र नं.१ प्रदेशसभा ‘क’ र ‘ख’ मा १ लाख २० हजार ७ सय ५२ मतदातामध्ये ६४ हजार १ सय ५१ मत खसेको थियो । खसेको मतमध्ये ५९ हजार ९ सय ८५ सदर र ४१ सय ६६ बदर भएको छ । त्यसैगरी, क्षेत्र नं.२ प्रदेशसभा ‘क’ र ‘ख’ को संयुक्त मतदाता १ लाख १८ हजार ९ सय ७४ मध्ये ६५ हजार ९ सय ५० मात्र खसेको थियो । खसेको मतमध्ये ६१ हजार १ सय ९४ सदर र ४ हजार ७ सय ५३ बदर भएको छ । प्रतिनिधीसभातर्फको समानुपातिकमा भन्दा प्रदेशसभाको समानुपातिकमा मत बढी खसेको भएपनि बदर मतको प्रतिशत प्रतिनिधीसभातर्फ दुई क्षेत्रमा ४ दशमलव ७६ र प्रदेशसभा क्षेत्रमा ६ दशमलव ८५ प्रतिशत रहेको छ । निर्वाचनमा मत कम खस्ने र बदर हुने क्रम गत बैंशाख ३० गते सम्पन्न स्थानीय चुुनावमा समेत रहेको थियो । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम हटाउन नसकेका कारण मतदाता धेरै रहे भने केही मतदाता विदेशमा र देशका अन्य भागमा अस्थायी बसोबास गरेको कारण मतदान कम भएको देखियो । मतदान कम हुनुमा केही प्रतिशत नेता र राजनीतिक दलप्रति जनताको विश्वास मतदातामा घट्दै गएको अनुमान गर्न सकिन्छ ।