सभामुख, प्रदेश प्रमुख र अर्थमन्त्रीमा नुवाकोटको दाबी

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १४:१३

विदुर, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको परिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै सरकार गठनको गृहकार्यमा दलहरू सक्रिय बनेका छन् । राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई सातदिने समय-सीमासहित आइतबार बहुमत सांसदसहित आउन आह्वान गरेकी छिन् ।

वर्तमान पाँचदलीय सत्तागठबन्धनको नेतृत्वमा भावी सरकार बन्ने अवस्थामा नुवाकोटका तीनजना नेताले प्रतिनिधिसभाको सभामुख, बागमती सरकारको मुख्यमन्त्री र सङ्घीय सरकारको अर्थमन्त्री ताकेका छन् । सांसद पदको शपथग्रहण नहुँदै सभामुख मुख्यमन्त्री र अर्थमन्त्रीका दौडमा नुवाकोटका तीन नेताले दाबी गर्दै शक्तिकेन्द्र धाउन थालेका छन् । नेपाली काङ्ग्रेस नेतृत्वको सत्तागठबन्धन दलको निर्वाचन परिणामअनुसार सङ्घीय सरकार बनाउन नपुग्ने अवस्था रहेको छ । गठबन्धनमा थप साना दुई-तीनवटा दल नमिली भावी सरकार बन्ने कुनै छाँटकाँट देखिँदैन । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट विजयी सांसद अर्जुननरसिंह केसीले सांसदको सभामुख बन्न राजनीतिक भेटघाट तीव्र बनाएका छन् । गठबन्धन दलबीच सहमति हुँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षसहित संवैधानिक पदमा भागबन्डा हुनेछ । उक्त भागबन्डाअनुसार पदहरू कसको भागमा कुन पर्ने हो निश्चित नभए पनि नुवाकोटका तीन नेताले आफ्नो दाबी प्रस्तुत गर्दै आफ्नै दल र अन्य दलसँगको भेटघाट बाक्लो बनाउँदै लगेका छन् ।

वर्तमान सत्तागठबन्धनले नै निरन्तरता पाउँदा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले पाउने सम्भावना अति न्यून रहेको सत्तागठबन्धनका केही नेताले बताउने गरेका छन् । शर्मामाथि अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न नसकेको, अर्थतन्त्रलाई खेलाँची गर्दै चलाएको, देशको अर्थतन्त्र लथालिङ्ग र थिलथिलो बनाएको आरोप छ । अहिले देशमा आर्थिक तरलता आउनुमा मन्त्री शर्माको नालायकीपन रहेको अर्थविज्ञले बताइरहेका छन् । यही सत्तागठबन्धन रहिरहे अर्थ मन्त्रालय लिएर काङ्ग्रेसले अन्य मन्त्रालय छोड्ने मनस्थिति बनाएको छ । त्यो अवस्था रहे नेपाली काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवाको विश्वासपात्र डा. प्रकाशशरण महतले अर्थ मन्त्रालय हाँक्नेछन् । उनी समानुपातिक कोटामा सांसद बनेका हुन् । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचन उठ्ने तयारी गरेका महत गठबन्धन हुँदा उक्त क्षेत्र माओवादीको भागमा परेकाले पछि हटेका थिए । त्यसैगरी, बागमती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट प्रत्यक्षमा निर्वाचित सांसद बहादुरसिंह लामाले दाबी गरेका छन् ।

बागमती प्रदेशमा गठबन्धन दलको बहुमत रहेको छ । काङ्ग्रेसबाट मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पनि अघि बढेको कारण भावी मुख्यमन्त्री लामा र बानियाँबीच कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) प्रदेशबाट निर्वाचित बानियाँ र लामा दुवै संस्थापन पक्षधर हुन् । काङ्ग्रेसबीचमै मुख्यमन्त्रीमा विवाद भए नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट प्रदेश सभामा निर्वाचित माओवादी केन्द्रकी राधिका तामाङ पनि अग्रसर भएकी छिन् । धादिङबाट प्रदेश सभा सांसद शालिकराम जम्मरकट्टेलले समेत मुख्यमन्त्री दाबी गरेको कारण वर्तमान सत्तागठबन्धनलाई भावी मुख्यमन्त्री चयन गर्न ठूलै पापड पेल्नुपर्ने अवस्था रहेको छ । सत्तागठबन्धनबीच केन्द्रीय सरकारमा कुरा मिलेपछि मात्र प्रदेशको मुख्यमन्त्री चयन हुने भएकाले भावी मुख्यमन्त्रीबारे गठबन्धनरत दलका नेताहरूको आधिकारिक धारणा आएको छैन ।