नयाँ सत्तासमीकरणले ३५ पदमा काङ्ग्रेस वञ्चित प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री

  • त्रिशूली प्रवाह
  • १४ पुष २०७९, बिहीबार १२:१४

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४४औँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार नियुक्त भएका छन् । दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी नियुक्ति गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री दाहालसहित आठ मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ राष्ट्रपति भण्डारीबाट लिइसकेका छन् ।

नवनियुक्ति प्रधानमन्त्री दाहाल तेस्रो कार्यकालका लागि नियुक्ति भएका हुन् । ०६५ र ०७३ मा नौ-नौ महिना सरकारको नेतृत्व गरेका दाहालले ६ वर्षपछि पुनः सत्ताको वागडोर सम्हाल्न पाएका हुन् । ०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन केपी शर्मा ओलीले नगरेपछि ओलीसँग उनको तिक्ततापूर्ण सम्बन्ध भए पनि यसपटक ओलीकै साथले सत्ताको नेतृत्व समाल्ने मौका पाएका छन् । प्रदेश सभा विगठन, तत्कालीन नेकपा भङ्ग र एमाले विभाजनपछि ओली र दाहालको संवाद ठप्प र घोचपेच चलिरहेको थियो । आमनिर्वाचन ०७९ को परिणामले ओली र दाहाललाई बोलचाल गराएको थियो । निर्वाचनमा काङ्ग्रेससँगको गठबन्धनबाट अपेक्षित मत नआएको आरोप लगाउँदै आएका दाहालले प्रधानमन्त्री पदलाई प्राथमिकतामा राखेर वार्ता गरिरहेका थिए । काङ्ग्रेसले प्रधानमन्त्री आलोपालो गर्ने सहमति गरे पनि पहिला काङ्ग्रेसले लिने र राष्ट्रपति पनि नछाड्ने अडानले गठबन्धन टुटेको थियो । गठबन्धन भत्काउने अवसरको खोजीमा रहेको एमालेले मौकाको फाइदा राम्रोसँग गरेर काङ्ग्रेसलाई सत्ताबाहिर पार्न सफल भएको छ ।

काङ्ग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहितको सातदलीय नयाँ समीकरण बनाएर दाहालले आइतबार राष्ट्रपतिले दिएको समय अवधिमै प्रधानमन्त्री पदमा दाबी गरेका थिए । प्रतिनिधिसभाको दुई सय ७५ सदस्यमध्ये एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको चार र स्वतन्त्र तीन गरी एक सय ६९ सांसदको दाहाललाई समर्थन रहेको छ । काङ्ग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै प्रतिनिधिसभाको ठूलो दल काङ्ग्रेस सत्ताबाहिर पुगेको छ । नयाँ समीकरणले गर्दा देशको मुख्य ३५ वटा पदमा संसद्को ठूलो दल काङ्ग्रेस वञ्चित हुने अवस्था आएको छ । राजनीतिक नियुक्त हुने ती ३५ पदमा एमाले नेतृत्वको गठबन्धनले भागबन्डा गर्नेछ । ३५ पदमध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अहिले नै पदमा छन् भने प्रधानमन्त्रीमा दाहाल नियुक्ति भएका छन् । अब सङ्घीय तहका पाँच (राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष) र सातवटा प्रदेशको २८ (प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख) गरी ३३ पदमा एमाले नेतृत्वको गठबन्धनरत दलहरूले भागबन्डा गर्नेछन् । सङ्घीय सरकारको नेतृत्व र गठबन्धनको टुङ्गो लागेसँगै सातवटा प्रदेशमा एमाले नेतृत्वको गठबन्धन दलबीच छलफल सुरु भएको छ । यो गठबन्धनको सातै प्रदेशमा बहुमत रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको मन्त्रिपरिषद् पहिलो चरणमा प्रधानमन्त्रीसहित आठ सदस्यीय बनेको छ । प्रधानमन्त्रीका रूपमा सोमबार माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नै पहिलो चरणमा मन्त्रिपरिषद्लाई प्रधानमन्त्रीसहित आठ सदस्यीय बनाइएको छ । सरकारमा दाहाललाई तत्काल सातमन्त्रीको साथ हुनेछ । प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ लिएसँगै सरकारमा तीनजना उपप्रधानमन्त्रीसहितका अन्य मन्त्रीलाई पनि राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ गराइसकेकी छिन् । उपप्रधानमन्त्रीसहितको जिम्मेवारी पाउनेमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीमा नियुक्ति भएका एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानको मन्त्रालय तोकिन बाँकी छ । उपप्रधानमन्त्री बनेका लामिछानेसहित पाँचजना सरकारमा नयाँ अनुहार हुन् । तीन उपप्रधानमन्त्रीमध्ये पौडेल र श्रेष्ठले यसअघि पनि सरकारमा उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् । सरकारमा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री पौडेल छन् । त्यसपछि उपप्रधानमन्त्री श्रेष्ठ र लामिछानेको वरीयता निर्धारण भएको छ । सरकार विस्तार नहुँदासम्म प्रधानमन्त्री प्रचण्डको जिम्मामा १८ मन्त्रालय रहेका छन् ।