हेलम्बु-लामटाङ-गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १४:५३

सिन्धुपाल्चोक, रसुवा र सिन्धुपाल्चोकको ‘ट्रेकिङ रुट’को चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । पदमार्ग निर्माण अन्तिम चरणमा पुगे पनि पर्यटकको आवत-जावत भने बढिरहेको छ ।

पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० किलोमिटर पदमार्गमध्ये तीन किलोमिटर मात्रै बन्न बाँकी रहेको छ । पर्यटकको रुचिमा परेको पुरानो पदमार्ग मानिने हेलम्बु, डुपु, भेमाथाङ, गन्जलापास (१० किलोमिटर) दूरीको पदमार्ग खोल्ने काम लगभग सकिसकेको हेलम्बु गाउँपालिकाले जनाएको छ । ‘प्रमुख पर्यटकीयस्थल लामटाङ र चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जोड्ने दुई प्रमुख पदमार्गमध्ये लामटाङ जोड्ने पदमार्ग पुग्न तीन किलोमिटर मात्रै बाँकी छ भने २२ लाख खर्चिएको गन्जलापास पदमार्गको मर्मत सम्भारको काम सकिँदै छ,’ हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । ह्योल्मो धार्मिकस्थल जोड्ने दर्जनौँ पदमार्गमा शाक्यमुनि बुद्धपछिका दोस्रो बुद्ध मानिएका गुरु रेन्पोछे या पद्मसम्भव, तिब्बती महायोगी मिलारेपा तपस्यास्थल, पुराना गुम्बादेखि आमायांग्री (धनकी देवी) सम्मको ‘ट्रेकिङ रुट’ तयार रहेको उनले सुनाए । भूकम्प र परकम्पले पुरानो ह्योल्मो सभ्यता र धार्मिक महत्व बोकेको हेलम्बुको दुई दर्जन पदमार्ग ध्वस्त बनाउँदा यहाँको पर्यटन पूरै बिथोल्यो । भूकम्पअघि ह्योल्मो जातिको उद्गमस्थल मानिने हेलम्बुको तार्केघ्याङ, गुरु रेन्पोछे गुफा, मेलम्चीघ्याङ, महादेव पाइला, मिलारेपासहित चिरी गुम्बाजस्ता अनेक प्राचीन गुम्बा, तीर्थस्थल घुम्दै वार्षिक ३६ हजार पर्यटकले यहाँ आइपुग्थे । हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमास्थित आमा ह्योल्मो (आमायांग्री), पाँचपोखरी, डुग रेन्जेन ड्राइगन गुफा, ठूलो ढुङ्गाको मनोरम दृश्य पदमार्ग प्रयोग गरेर हेर्दै ह्योल्मो होमस्टेमा बस्थ्यो ।

तर, भूकम्पपछि गाउँलाई सुगम बनाउने विकासे सडक लगिरहँदा पर्यटकीय पदमार्गलाई केही खलबल्यायो । भूकम्प गएको चार वर्षपछि गाउँपालिकाले पुरानो पदमार्गको मर्मतसम्भार र महत्वपूर्ण पदमार्गको निर्माणलाई तीव्रता दिँदै पर्यटकीयस्थल पुनर्निर्माणमा लाग्यो । ‘त्यो सपना लगभग अब पूरा गर्ने चरणमा छौँ, हेलम्बु र पाँचपोखरीको सीमाक्षेत्र ह्योल्मो देवी, आमायांग्री, पाल्चोक माईदेखि झिचेन मिलारेपासम्म पदमार्ग बनाउने बृहत् कार्ययोजनालाई तीव्र रूपमा अघि बढाइरहेका छौँ,’ उनले भने । अहिले पदमार्ग जोडिनै लाग्दा पनि यही रुटबाट गोसाइँकुण्ड र लामटाङ जाने विदेशी र स्वदेशी पर्यटक घुम्न यस क्षेत्रमा धमाधम आउन थालेका छन् । यसअघि गाउँपालिकाले उद्देश्य लिएका दर्जनौँ पदमार्गमध्ये सुन्दरीजल, कुटुम्साङ-घोप्टेघ्याङ-मेलम्चीघ्याङ, तिम्बु-मेलम्चीघ्याङ, पाल्चोक-ककनी, निगाले-ककनी, शेर्माथाङ-पाल्चोक जय बागेश्वरी भगवती पदमार्गको हालै स्तरोन्नतिको काम सकिएको छ ।

चीनको ग्रेटवाल हेरेर बौद्ध ह्योल्मो धार्मिक कथनसँग जोडिएको धर्मचक्र पर्खाल ‘हिमालयन गुरु रेन्पोछे ग्रेट ट्रेल’लाई हेलम्बु घेर्दै अन्तिम चरणमा पु¥याइँदै छ । लामटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल डुपुबाट मेलम्ची खानेपानीको मुहान भेम भेमथाङ हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’को कार्ययोजना हेलम्बु सरकारले बनाएको छ । हेलम्बु-१ का मिङमार लामाले ह्योल्मो ग्रन्थअनुरूप पवित्र मानिने ‘छुह्यालागेन्जेन’ एक सय आठवटा पानीको मूल फुटिरहेको या बालुवा भएको चौर, ताल, अम्बाथान झरना र हेलम्बु खोलाको मुहान हेर्न पाइने बताए । गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङुल, झिचेन मिलारेपा र पद्मसम्भवले तपस्या गरेको गुफा ढुक्पु, गुरु रेन्पोछे छाप वा पाइला, तेम्बाथाङ, आमायांग्री चिरीगुम्बा, पाल्चोक भगवती, कुटुम्साङजस्ता आकर्षक स्थल हेलम्बुमा हेर्न सकिन्छ ।