+
Search

ताजा अपडेट +

पपुलर +

नगरसभामा करदाता सम्मानित

नगरसभामा करदाता सम्मानित
त्रिशूली प्रवाह
३ महिना अगाडी

विदुर । विदुर नगरपालिकाले १९औँ नगरसभामा सबैभन्दा बढी कर तिर्ने १३ करदातालाई असार १० गते सम्मान गरेको छ । नगरपालिकाले वडा नं १ देखि १३ सम्मका बढी कर बुझाउने एक वडाबाट एकजना उद्यमीलाई छनोट गरी सम्मान गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक प्रभा बोगटीका अनुसार गत वर्ष सबैभन्दा बढी कर तिर्नेमा वडा नं ९ का सुदीप श्रेष्ठ र कम तिर्नेमा वडा नं ३ का ज्ञानबहादुर राई रहनुभएको छ । श्रेष्ठले रू.एक लाख ६७ हजार ६ सय ४० र राईले रू.दुई हजार नौ सय २५ कर तिर्नुभएको थियो । त्यसैगरी, कर तिरेर सम्मानित हुनेमा वडा नं १ का सञ्जीव थपलियाले रू.९१ हजार, वडा नं २ का कृष्णकुमार न्यौपानेले रू.एक लाख ३३ हजार दुई सय ३३, वडा नं ४ का भुवनलाल राजभण्डारीले रू.६० हजार, वडा नं ५ की टीकाकुमारी पौडेलले रू.४८ हजार, वडा नं ६ का गोविन्द अर्यालले रू.४० हजार, वडा नं ७ का मोहनबहादुर तामाङले रू.३० हजार तीन सय ९०, वडा नं १० का नारायणप्रसाद खतिवडाले रू.५५ हजार पाँच सय, वडा नं ११ की सीता न्यौपाने (श्रीमान्समेत) ले रू.२४ हजार पाँच सय, वडा नं १२ का कृष्णबहादुर खड्काले रू.१० हजार र वडा नं १३ का विष्णुबहादुर खड्काले रू.१५ हजार एक सय ९० कर बुझाउनुभएको छ । उहाँहरूलाई नगरसभामा दोसल्ला ओढाएर सम्मान गरिएको वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।

सम्मानित १३ जनाले नागरिक तथा व्यावसायिक दायित्व समयमै पूरा गरेर नगरपालिकाको आन्तरिक स्रोत बलियो बनाउन र समग्र नगरको आर्थिक विकासमा ठुलो सहयोग पुर्याएकोले सम्मान गरिएको उपप्रमुख बोगटीले बताउनुभयो । करदाताले बुझाएको कर नै स्थानीय तहको विकास, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार तथा प्रभावकारी सेवा प्रवाहको मुख्य मेरुदण्ड र आधार खम्बा भएको नगरपालिकाले जनाएको छ । उत्कृष्ट करदातालाई प्रोत्साहन गर्दा अन्य व्यवसायीमा पनि कर तिर्ने सकारात्मक बानीको विकास हुने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा उत्कृष्ट करदातालाई निरन्तर प्रोत्साहन, कदर र सम्मान गर्न बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह