+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाका तीन पालिकाको बजेट रु.एक अर्ब ३२ करोड ३७ लाख

रसुवाका तीन पालिकाको बजेट रु.एक अर्ब ३२ करोड ३७ लाख
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लाका उत्तरगया, नौकुण्ड र गोसाईँकुण्ड गाउँपालिकाले आगामी आव २०८३/०८४ का लागि रु.एक अर्ब ३२ करोड ३७ लाख ४७ हजार तीन सय ९० बजेट सार्वजनिक गरेका छन् । संविधानले सङ्घीय सरकारलाई जेठ १५ र प्रदेशलाई असार १ गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने किटानी व्यवस्था गरेको छ । त्यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्रत्येक वर्षको असार १० भित्र स्थानीय तहलाई बजेट ल्याउन समय निर्धारण गरेको छ ।

Utsuk Books & Stationery

संविधानअनुसार रसुवाका पाँचवटै पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । उत्तरगयाको २०औँ गाउँसभा असार १० गते सम्पन्न गरी आगामी वर्षका लागि रु.४७ करोड ६ लाख १० हजार एक सय ८० बजेट पारित गरेको छ । गाउँपालिकाको आव २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृतार्थ दोस्रो सभा बस्ने गरी २०औँ अधिवेशनको पहिलो बैठक समापन भएसँगै २०औँ अधिवेशनको पहिलो बैठकले आव २०८३/०८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, न्यायिक समितिको प्रतिवेदन २०८३ र संस्थागत विकास तथा सुशासन समितिको प्रतिवेदन २०८३ प्रस्तुत भई दफावार छलफल गरेर पारित गरेको छ । त्यसैगरी, गाउँसभाको आगामी बैठक छलफल हुने गरी विनियोजन विधेयक २०८३ र मध्यकालीन खर्च संरचना २०८३/०८४, २०८५/०८६ गाउँसभाको पहिलो बैठक पेस गरिएको थियो । कृषि, पशुसँग सम्बन्धित विषयलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति, धर्म, परम्पराको संरक्षणमार्फत स्थानीय जनताको ऐतिहासिक पहिचानका आधारको संरक्षण गरी आर्थिक विपन्नता तथा भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अन्त्य गरी शिक्षामा सबैको पहुँच हुने व्यवस्था गर्न शिक्षण सिकाई वातावरणको निर्माण गर्न गाउँपालिकाका अध्यक्ष छात्रावास कार्यक्रम पोसाक वितरण कार्यक्रम र माध्यमिक विद्यालयको विद्यालय बसलाई निरन्तरता दिएको छ ।

आगामी वर्षको बजेटमा शिक्षाको अवस्थालाई गुणस्तरीययुक्त र प्रभावकारी बनाउन शिक्षालाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, सडक सञ्जालका अभिवृद्धिमार्फत सडक यातायातमा जनताको पहुँच बढाउने, पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, गुम्बा, बिहारको निर्माण र मर्मतसम्भारमार्फत स्थानीय जनताको धर्म, संस्कृतिको जर्गेना गर्ने रहेको छ । सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा बजेट विनियोजन गरिएको छ । यस्तै, पूर्वाधार विकास, व्यवस्थित बस्ती विकास तथा पर्यटकीय योजनामा ४५ प्रतिशत कम नहुने गरी विनियोजन भएका छन् । त्यसैगरी, वातावरण, विपत् व्यवस्थापनमा रु.१० लाख, प्रशासनिक कार्यालय सञ्चालन तथा राजस्व सुशासनमा आवश्यक बजेट विनियोजन गरिएको छ । सभाले वडागत योजना तथा कार्यक्रममा रु. दुई करोड ११ लाख ५० हजार विनियोजन गरेको छ ।

त्यसैगरी, असार १० गते सम्पन्न भएको नौकुण्डको २२औँ अधिवेशनले रु. ४८ करोड ३५ लाख नौ हजार दुई सय १० पारित गरेको छ । पालिका प्रमुख नुर्पुस्याङ्बो घलेले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा उपाध्यक्ष चन्द्रबहादुर ग्लानले आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम (रु.४८ करोड ३५ लाख नौ हजार दुई सय १० को) राजस्व आय र व्ययको अनुमान, विनियोजन विधेयक २०८३, आर्थिक विधेयक २०८३ र न्यायिक समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । लेखा समितिको संयोजक मानकाजी ग्यावाले लेखा समितिको प्रतिवेदन, सामाजिक विकास समितिको संयोजक ज्ञानी वाइबाले सामाजिक विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिको संयोजक नोकेन्द्रदेव तामाङ आर्थिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिको संयोजक कान्छा तामाङले पूर्वाधार विकास समितिको प्रतिवेदन, वातावरण तथा विपत् व्यवस्थापन समितिको संयोजक योनुर्पु तामाङले वातावरण तथा विपत् व्यवस्थापन समितिको प्रतिवेदन र संस्थागत विकास तथा सुशासन समितिको संयोजक श्यामबहादुर थिङले संस्थागत विकास तथा सुशासन समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा पालिकाका उत्कृष्ट कर्मचारी, जनप्रतिनिधि, व्यावसायिक, कृषक र सेवानिवृत्त हुनुभएका शिक्षकलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

संविधानले तोकेको समयमै गोसाईँकुण्ड गाउँपालिकाको १९औँ अधिवेशनमा आगामी आव २०८३/०८४ का लागि रु.३९ करोड ९६ लाख २८ हजार बजेट प्रस्तुत गरी पारित भएको छ । पालिकाका उपाध्यक्ष प्रतिमा तामाङले सभामा बजेट प्रस्तुत गर्दै चालूतर्फ ५९.४३ प्रतिशत र पुँजीतर्फ ४०.५७ प्रतिशत खर्च विनियोजन गरिएको सार्वजनिक गर्नुभयो । बजेटको प्रमुख उद्देश्य गोसाईँकुण्ड, लाङ्टाङ हिमाल, रसुवागढी, तामाङ कल्चरल, रेडपाण्डापार्कजस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धनमार्फत पर्यटकीय पदमार्गको विकास गरेर पालिकालाई पर्यटकको गन्तव्य क्षेत्रको रूपमा विकास गर्ने रहेको छ । कृषि, पशुसँग सम्बन्धित विषयलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति, धर्म, परम्पराको संरक्षणमार्फत स्थानीय जनताको ऐतिहासिक पहिचानका आधारको संरक्षण गरी आर्थिक विपन्नता तथा भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट टाढा रहनुपर्ने अन्त्य गरी शिक्षामा सबैको पहुँच हुने व्यवस्था गर्न शिक्षण सिकाइ वातावरणको निर्माण गर्ने अध्यक्ष छात्रावास कार्यक्रम पोसाक वितरण कार्यक्रम र माध्यमिक विद्यालयलाई बस खरिदमा बजेट विनियोजन गरिएको छ । आगामी आवको बजेटले शिक्षाको अवस्थालाई गुणस्तरीययुक्त र प्रभावकारी बनाउन शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, सडक सञ्जालका अभिवृद्धिमार्फत सडक यातायातमा जनताको पहुँच बढाउने, पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने गरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, गुम्बा, बिहारको निर्माण र मर्मतसम्भारमार्फत स्थानीय जनताको धर्म, संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्ने रहेको छ । सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यमा आवश्यकताअनुसार बजेट विनियोजन गरिएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह