+
Search

ताजा अपडेट +

पपुलर +

१३ पालिकाको बजेट रू.नौ अर्ब

१३ पालिकाको बजेट रू.नौ अर्ब
त्रिशूली प्रवाह
५० मिनेट अगाडी

धादिङबेँसी । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रू.नौ अर्ब १२ करोड ९६ लाख ६१ हजार दुई सयबराबरको बजेट सार्वजनिक गरेका छन् । अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, पर्यटन, सुशासन, सामाजिक सुरक्षा तथा स्थानीय उत्पादन प्रवद्र्धनलाई विकासका प्रमुख आधार बनाएका छन् ।

Utsuk Books & Stationery

सबैभन्दा ठुलो बजेट नीलकण्ठ नगरपालिकाले रू.एक अर्ब २४ करोड ८८ हजार ल्याएको छ भने सबैभन्दा कम नेत्रावती-डबजोङ गाउँपालिकाको रू.४० करोड ५० लाख ६७ हजार रहेको छ । धुनीबेँसीले रू.एक अर्ब तीन करोड ९५ लाख ७० हजारको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्रको विकास, कृषि प्रवद्र्धन र आधारभूत सेवा सुधारका कार्यक्रम बजेटका मुख्य आकर्षण बनेका छन् । बेनीघाट–रोराङले रू.९१ करोड ९९ लाख बजेटमार्फत शिक्षा र कृषिलाई प्राथमिकता दिएको छ भने थाक्रेले रू.८४ करोड आठ लाख २९ हजारको बजेटमार्फत उत्पादनमुखी अर्थतन्त्र, कृषि, पूर्वाधार, स्वास्थ्य, सामाजिक विकास र सुशासनलाई जोड दिएको छ । गजुरीले रू.७३ करोड १५ लाख चार हजारको बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखेको छ । गल्छीले रू.६७ करोड ६० लाख ४३ हजार बजेटमार्फत पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा जोड दिएको छ ।

आगामी आवका लागि त्रिपुरासुन्दरीले रू.६१ करोड २५ लाख ७९ हजारको बजेटमार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा धार्मिक पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ । गङ्गाजमुनाले रू.६० करोड ५३ लाखको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वन संरक्षण, विपत् व्यवस्थापन र महिला सशक्तीकरणलाई विकासका मुख्य आधार बनाएको छ । सिद्धलेकले रू.६० करोड ५० लाख ४५ हजारको बजेटमार्फत कक्षा १२ सम्म निःशुल्क शिक्षा, घरमै स्वास्थ्य सेवा, स्थानीय उत्पादन प्रवद्र्धन तथा पर्यटन विकासजस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । ज्वालामुखीले रू.५७ करोड ९० लाख ५२ हजार दुई सयको बजेट सार्वजनिक गर्दै स्वास्थ्य सेवा विस्तार, खानेपानी, कृषि, पर्यटन तथा महिला आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी, खनियाँबासले रू.४४ करोड २६ लाख ५४ हजार, रुबीभ्यालीले रू.४१ करोड २२ लाख २९ हजार र नेत्रावती-डबजोङले रू.४० करोड ५० लाख ६७ हजार बजेट सार्वजनिक गरेका छन् । धादिङका स्थानीय तहले सार्वजनिक गरेका बजेटले आधारभूत सेवा सुदृढीकरणसँगै उत्पादन र रोजगारी वृद्धि, ग्रामीण अर्थतन्त्रको सबलीकरण तथा दिगो विकासलाई केन्द्रमा राखेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह