+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरको बजेट रू.६० करोड

चालू र पुँजीगत गरी कुल खर्च ५२ दशमलव नौ प्रतिशत

दुप्चेश्वरको बजेट रू.६० करोड
त्रिशूली प्रवाह
५९ मिनेट अगाडी

समुन्द्रटार । दुप्चेश्वर पालिकाले आगामी वर्षको लागि रू.६० करोड १० लाख ६६ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । यही असार १० गते गाउँसभामा उपाध्यक्ष माकुरी तामाङले चालू खर्च रू.४२ करोड ४२ लाख ८६ हजार अर्थात् कुल बजेटको ७१ प्रतिशत र पुँजीगत खर्च रू.१७ करोड ६७ लाख ८० हजार अर्थात् २९ प्रतिशत हुने प्रक्षेपण प्रस्तुत गर्नुभयो । अध्यक्ष शंकरबहादुर थापाले स्थानीय स्रोत साधनको सदुपयोगमार्फत नागरिकको जीवनस्तर उकास्ने, आर्थिक गतिविधि विस्तार गर्ने र गाउँपालिकाको समग्र विकासलाई गति दिने लक्ष्यसहित बजेट छुट्याइएको बताउनुभयो । ‘कृषि, संस्कृति, पर्यटन र पूर्वाधार सन्तुलित विकास दुप्चेश्वरको आधार’ भन्ने लक्ष्य हासिल गर्नका लागि बलियो आधार तयार गर्नु बजेटको मूल उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । नुवाकोट जिल्लाको सो पालिकाले चालू आवको चालू र पुँजीगत गरी कुल खर्च ५२ दशमलव नौ प्रतिशत हालसम्म भएको जानकारी गराइएको थियो ।

Utsuk Books & Stationery

उपाध्यक्ष तामाङले आगामी वर्षको प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट वित्तीय समानीकरणतर्फ रू.आठ करोड ७५ लाख, ससर्त अनुदानतर्फ रू.२४ करोड २७ लाख र सङ्घीय राजस्व बाँडफाँटबाट रू.नौ करोड १६ लाख तीन हजार प्राप्त हुने अनुमान गर्नुभएको छ । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रू.७२ लाख ५९ हजार, ससर्त अनुदानतर्फ रू.एक करोड ७६ लाख एक हजार र राजस्व बाँडफाँट (सवारीसाधन कर) बाट रू.तीन करोड ५० लाख ७९ हजार एक सय १० प्राप्त हुने अनुमानसहित बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा सङ्घीय विशेष अनुदानबाट रू. एक करोड ८० लाख र प्रदेश सरकार विशेष अनुदानबाट रू.७० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी, सङ्घीय समपूरक अनुदान रू.६० लाख तथा प्रदेश समपूरक अनुदानबापत रू.एक करोड ८० लाख पनि प्राप्त हुने अनुमान छ । आन्तरिक आयततर्फ रू.सात करोड ४३ लाख २३ हजार आठ सय ९० राजस्व सङ्कलन तथा बैंक मौज्दातमार्फत सङ्कलन हुने अनुमान गरिएको छ ।

जिल्लाका अन्य ११ स्थानीय तहले कानुनबमोजिम यही असार १० गतेभित्रै बजेट सभामा पेस गरी सोही दिन पारित गरिसकेका छन् । स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण, नगर–गाउँसभाबाट पारित तथा मन्त्रालयको प्रणालीमा प्रविष्टि (एन्ट्री) गर्ने कार्य पूरा नगरेकाले १२ पालिकाको वेबसाइटमा भने यो समाचार तयार गर्दासम्म अपलोड भएको छैन । वेबसाइटमा अपलोड गर्न प्राविधिक तयारी वा आन्तरिक प्रक्रियाका कारण ढिलाइ भएको सम्बन्धित पालिकाले हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह