+
Search

ताजा अपडेट +

पपुलर +

हरियो नुवाकोट अभियानका लागि बाँडियो सुन्तला-कागतीका ३१ हजार बिरूवा

हरियो नुवाकोट अभियानका लागि बाँडियो सुन्तला-कागतीका ३१ हजार बिरूवा
त्रिशूली प्रवाह
३९ मिनेट अगाडी

विदुर । नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत दुई वर्षदेखि सुरु भएको ‘हरियो नुवाकोट अभियान’ जिल्लाभर फैलिएको छ । वरिष्ठ पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले सञ्चालन गरेको अभियान सफल बनाउन चालू आर्थिक वर्षका लागि जिल्लाभर तीन हजार दुई सय ४० वटा कागती र २८ हजार एक सय ७५ वटा सुन्तलाका बिरुवा गरी जम्मा ३१ हजार चार सय १५ वटा बिरुवाको माग सङ्कलन भएको थियो । मागअनुसार असार १५ सम्म किस्पाङ र म्यागङ गाउँपालिकामा गरी १४ हजार चार सय ६५ बिरुवा वितरण भइसकेको छ भने अन्य स्थानीय तहमा चरणबद्ध रूपमा वितरण भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

कुनै समय वैदेशिक रोजगारी र बसाइँसराइका कारण गाउँका बारी बाँझिन थालेका नुवाकोटका धेरै बस्तीमा अहिले फेरि हरियालीका साथै फलफूल उत्पादन फर्काउने प्रयास भइरहेको छ । घर-आँगन, कान्ला, पाखो जमिनमा सुन्तला र कागतीका बिरुवा रोप्ने उत्साह बढ्दै जाँदा स्थानीय कृषक पनि भविष्यमा आम्दानीको नयाँ आधार बन्ने आशामा अभियानमा जोडिएका छन् । ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले आफ्नो गृहजिल्ला नुवाकोटलाई फलफूल उत्पादनको प्रमुख केन्द्र बनाउने दीर्घकालीन सोचका साथ विगत दुई वर्षदेखि १२ वटै स्थानीय तहमा कागती र सुन्तलाका बिरुवा वितरण अभियानलाई तीव्रता दिइरहनुभएको छ । अभियानको लक्ष्य बिरुवा बाँडेर मात्र पूरा हुँदैन भन्ने मान्यताका साथ पाण्डेले सही स्थान छनोट, गुणस्तरीय बिरुवा, प्राविधिक परामर्श र दीर्घकालीन अनुगमनमार्फत उत्पादन सुनिश्चितलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ । अहिले खाडल निरीक्षण, प्राविधिक अनुगमन तथा बिरुवा वितरण व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । यो अभियानले छोटो समयमै जिल्लाभर उल्लेखनीय रूपमा विस्तार हुने क्रममा छ । सन् २०२५ मा जिल्लाका ११ वटा स्थानीय तहमा २६ हजार ६ सय ८० सुन्तला र ३० हजार ६ सय कागती गरी कुल ५७ हजार दुई सय ८० वटा बिरुवा वितरण गरिएको थियो । त्यसभन्दा अघिल्लो वर्ष २०२४ मा तारकेश्वर र म्यागङ गाउँपालिकामा २४ हजार नौ सय ३३ वटा बिरुवा वितरण गरिएको थियो ।

पाखाबारी र कान्ला व्यावसायिक बगैँचामा रूपान्तरण योजना
बिरुवा वितरणसँगै गाउँका कृषकमा पनि नयाँ उत्साह देखिएको छ । धेरैले आफ्ना खाली रहेका पाखाबारी र कान्लालाई व्यावसायिक बगैँचामा रूपान्तरण गर्ने योजनाका साथ बिरुवा रोप्न थालेका छन् । केही कृषकले भविष्यमा सुन्तला र कागती बिक्रीबाट नियमित आम्दानी गर्ने योजना बनाएका छन् । युवाहरूले पनि गाउँमै फलफूल खेती गरेर स्वरोजगार बन्न सकिने सम्भावना देख्न थालेको म्यागङ-२ का फलफूल कृषक गरबहादुुर तामाङले बताउनुभयो । म्यागङका कृषक छेपोन तामाङका अनुसार यस्तो अभियानले खेतीप्रतिको आकर्षण बढाउनुका साथै गाउँमा हरियाली विस्तार गर्ने, वातावरण संरक्षण गर्ने र बाँझो जमिनको सदुपयोग गर्ने काममा समेत महत्त्वपूर्ण योगदान पुयाउनेछ । फलफूल उत्पादन बढेपछि स्थानीय बजारसँगै काठमाडौँलगायतका सहरमा समेत नुवाकोटका उत्पादन पुग्ने अपेक्षा गरिएको छ ।

ग्रामीण अर्थतन्त्र र भविष्यको आशा
पर्यटन व्यवसायी पाण्डेका अनुसार ‘हरियो नुवाकोट अभियान’ केवल वृक्षरोपण कार्यक्रम होइन, यो वातावरण संरक्षण र आर्थिक समृद्धिलाई जोड्ने दीर्घकालीन अभियान हो । अभियानले भूक्षय नियन्त्रण, जलस्रोत संरक्षण, कृषि उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना तथा कृषकको आयस्तर उकास्ने लक्ष्य राखेको छ । उहाँले गुणस्तरीय बिरुवा सही स्थानमा रोपिएर उचित हेरचाह हुन सके केही वर्षभित्रै नुवाकोटका धेरै गाउँमा व्यावसायिक सुन्तला र कागती खेती विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ‘हामी बिरुवा मात्रै बाँडिरहेका छैनौँ, भविष्यको आम्दानीको आधार रोपिरहेका छौँ,’ पाण्डेले भन्नुभयो । स्थानीय तह, कृषक र अभियानबिचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी वर्षमा पनि वितरण कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको छ । अभियानको दीर्घकालीन लक्ष्य नुवाकोटलाई सुन्तला र कागती उत्पादनको नमुना जिल्लाका रूपमा स्थापित गर्नु पनि रहेको छ । हरियाली विस्तारसँगै कृषकको अनुहारमा देखिएको मुस्कानले यो अभियानले केवल बिरुवा रोपेको मात्र होइन, ग्रामीण अर्थतन्त्र, वातावरण र भविष्यप्रतिको आशा पनि सँगै रोप्न थालेको सन्देश दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह