महेन्द्रबहादुर पाण्डे
पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले नेता
आजभोलि के गरेर दिन बिताइरहनुभएको छ ?
अहिले म दुई-तीनवटा काममा व्यस्त छु । पहिलो काम मदन भण्डारी मेमोरियल कलेजलाई व्यवस्थित गर्ने भनेर स्टिममा लगेर उच्च नेताको नाममा स्थापित कलेज राम्रो व्यवस्थापनमा चलाउने भनेर लागेको छु । अर्को मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी हाम्रो लामो प्रयासपछि गठन आदेश भएको छ । मकवानपुरको चित्लाङमा दुईवटा भवन बनेको छ र एउटा बन्दै छ । ०२३ बाट पठन-पाठन सुरु गर्ने र यसमा हुने ब्लाल वर्डका विश्वविद्यालयस्तरको हुने हुनाले हार्डवर्ड विश्वविद्यालयकै लेवलमा सञ्चालन गर्ने भनेर लागेका छौँ । पिएचडी र डिग्रीमा धेरै विद्यार्थीबाट सुरु गर्ने भएका छौँ । यसको सञ्चालन ट्रस्टी बोर्डले गर्छ, सरकारको कुनै अङ्गको प्रतिनिधि रहँदैन । अर्को मदन भण्डारी फाउन्डेसन अन्य कुनै गैरसरकारी संस्थाजस्तो संस्था होइन । यसले शिक्षा क्षेत्रलगायत सामाजिक काम गर्ने, वैचारिक क्षेत्रमा अध्ययन-अध्यापन गर्ने-गराउने थलोको रूपमा विकास गर्नुपर्छ भनेर लागेका छौँ ।
राजनीतिबाट सन्न्यास नै लिनुभएको हो त ?
राजनीति भनेको के हो भन्ने बुझ्नुपर्छ, अहिले राजनीति नबुझेरै देश खतम भयो । मान्छे आफैँ राजनीतिक प्राणी हो । राजनीतिमा अहिले कुनै विचार-सिद्धान्त नचाहिने, निर्वाचनको बेलामा टिकट चाहिने । निर्वाचन जित्न पनि नपर्ने कुरालाई राजनीति भन्ने हो भने म त्योबाट टाढा भइसकँे । जीवन परिवर्तन गर्ने राजनीतिबाट मान्छे टाढा हुन सक्दैन ।
अहिले पार्टीको केही जिम्मेवारीमा त हुनुहुन्न नि ?
पार्टीको जिम्मेवारी भनेको के ? पार्टी विधान र सिद्धान्तले चल्छ । हाम्रो एमाले पार्टीले ७० वर्षे उमेरको रेखा कोरेको छ । म ७० पुगिसकेकाले म पार्टीको कुनै कार्यकारी भूमिकामा छैन । म आफ्नो क्रियाशीलतामा कुनै कमी आउँदैन । अहिले मेरो काम भनेको अध्ययन-अध्यापन गर्ने, प्रशिक्षण दिने, सङ्गठन सुदृढीकरण गर्ने काममा सल्लाहकारको भूमिका हुन्छ । म अहिले पार्टीको सल्लाहकारको भूमिकामा छु ।
एमाले नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेसँगै तपाईंको नाम फेरि चीनको राजदूतको चर्चामा छ नि ?
त्यो नबुझ्ने नुवाकोटकै मान्छेले बढी चर्चा गरे होलान् । त्यसो होइन । जुन बेला मेरो चर्चा भयो, मेरो सरकारले मलाई मनोनयन ग¥यो त्यतिबेला पनि अनेक खालको टीका-टिप्पणी भएको थियो । चीन, भारत र अमेरिकामा हाम्रो क्याबिनेटसरहको मन्त्रीस्तरीय राजदूत राख्ने भनेर सरकारले निर्णय गरेको थियो । त्यही तहमा म गएको थिएँ । तर, अहिले त्यसभन्दा तलको तहमा राजदूत भएर जाने सोच र परिस्थिति पनि छैन । योग्यता-क्षमताले भ्याउनेसम्म गर्न सकिन्छ । यद्यपि, म पदका लागि मरिहत्ते गर्ने मान्छे होइन ।
पार्टी अध्यक्षले तपाईंलाई चीनको राजदूतमा प्रस्ताव गर्नुभयो भने के गर्नुहुन्छ ?
त्यसका लागि निश्चित केही अवस्थाहरू हुन्छन् । त्यस्तो अवस्था आयो भने त विचार गर्नुपर्छ । तर, भन्दैमा जानुपर्छ भन्ने पनि छैन । पहिले पनि तेस्रोपटकमा बल्ल जाने निधो गरेको हुँ । मौका आयो भनेर दौडेर जाने कुरा पनि हुँदैन । त्यसका लागि थप क्षमता, ज्ञान, सीप, अनुभव र अध्ययनबाट हुनुपर्छ ।
तपाईंको अनुभवमा चीनले नेपाललाई कसरी हेर्दोरहेछ ?
आफ्नो घनिष्ठ मित्र हो । छिमेकी राष्ट्र हो । नेपालबाट चीनलाई कुनै पनि किसिमको समस्या छैन भन्ने उसले बुझेको छ । नेपालको माटो र हामीले मित्रराष्ट्रको कुरामा कुनै दरार आउन दिँदैनौँ भन्नेमा विश्वस्त छ । कहिलेकाहीँ उल्का-भुल्का देखिन खोज्छ त्यसबाट सम्बन्धलाई सुदृढ गर्नुपर्छ भन्नेमा उनीहरू छन् । चीनको नेपालप्रतिको धारणा, दृष्टिकोण अत्यन्त सकारात्मक, भरपर्दो र विश्वासयोग्य नै छ । हाम्रो पनि चीनप्रति त्यस्तो आशङ्का, अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यद्यपि, केही खालको बाहिरी प्रभावमा पर्ने र मुलुक चलाउन आउनेले मित्रराष्ट्रसँगको सम्बन्धलाई राम्रो बनाउनतर्फ भन्दा पनि निजी स्वार्थले कसैलाई चिढाउने र रुझाउने काम हुँदा कहिलेकाहीँ सम्बन्ध दरिलो नभएको अवस्था पनि छ ।
कम्युनिस्ट सरकार बन्नेबित्तिकै चीनले नाका खोलदियो नि ?
जुन बेलामा नाका बन्द थियो, त्यसबेला कोभिड महामारी पनि थियो । महामारी नियन्त्रण गर्न चाइनिज सरकारले बन्द गरेको हो । कुनै पनि सरकारको सबैभन्दा ठूलो कुरा भनेको जनताको स्वास्थ्य, शिक्षा र आधारभूत कुरामा ध्यान पु¥याउनु हो । उनीहरूले पनि जनताको स्वास्थ्य र जीवन जोगाउन निकै प्रयत्न गरेका हुन् । बाहिरबाट सङ्क्रमण नफैलियोस् भनेर नै सुरक्षाविधि अपनाएका हुन् । उनीहरू आफ्नो पद्धतिमा चल्ने मुलुक भएकाले त्यसो गरेका हुन् । अहिले त्यस्तो महामारी कम भएकाले चीनमा पनि केही खुकुलो गरेको अवस्था छ । उनीहरूले खोल्ने तयारी गरेकै अवस्थामा सरकार परिवर्तन भएको हो । यो त बाघ कराउने र बाख्रा हराउने एकैपटक भएको हो । नेपालमा अहिले कम्युनिस्टको सरकार छैन, संयुक्त हो ।
नयाँ सरकार बन्नेबित्तिकै नाका खुलेसँगै केरुङ-काठमाडौं रेलमार्ग अध्ययनका लागि पनि चीनले टोली पठायो नि ?
हो, संयोग नै हो । यो त पहिलेदेखि नै तयारी भइरहेको थियो । हामीले सन् २०१६ मा केपी ओली प्रधानमन्त्री बनेको बेला सम्झौता र पछि राष्ट्रपतिबीच सम्झौता भएका थिए । त्यसबेलाका सबै कुरा हेरियो भने स्पष्ट हुन्छ । यसभन्दा अघिकै परराष्ट्रमन्त्रीलाई नै चीनले बोलाएर एउटा सहमतिमा हस्ताक्षर गरेर २६ अर्ब लगानी अनुदान दिने भन्या छ । अहिले नेपालले त्यसको प्रोजेक्ट बनाएर त्यो रकम कहाँ-कहाँ खर्च गर्ने भनेर प्रतिवेदन दिनुपर्नेछ । यो सरकार आएर हतारहतारमा गरेको होइन, राजनीतिमा त्यस्तो पनि हुँदैन । आजको चीनलाई त्यसो गर्न जरुरी नै छैन । चीन भनेको संसारकै सबैभन्दा बढी राजनीति गर्ने मुलुक हो । हामीले यहाँ बसेर सानो आँखाले हेरेजस्तो छैन । छोटो टिप्पणीले मात्र हुँदैन ।
चिनियाँ लगानीमा नेपालमा सञ्चालित आयोजनामा ढिलासुस्ती भइरहेको छ नि ?
यो त नेपालीले गर्दा नै भएको हो । यो चक्रपथको कलंकीदेखि धोबीखोलासम्म बनाउने भनेको प्रोजेक्ट उनीहरूले बनाइदिने हो । महाराजगन्जमा केही रूख काट्यो, घरहरू भत्काउनुपर्ने भयो, त्यति क्लियर गर हामी काम अघि बढाउँछौँ भनेको थियो । तर, बीचमा काम रोकेर बस्नुप¥यो । उनीहरूको के छ भने जे काम सुरु ग¥यो त्यो समयमै गर्ने भन्ने उनीहरूको तरिका हुन्छ । जस्तो उनीहरूको मेलम्ची खानेपानी आयोजना पाँच वर्षमा सक्ने भन्ने थियो । समयमै हुन नसकेपछि धेरै क्षति व्यहोर्नुप¥यो । पाँच वर्ष लाग्नेलाई २५ वर्ष पु¥याउने ? रकमका दायरा पनि वृद्धि गर्ने ? अनि कसरी विकास हुन्छ । उनीहरूले सबै कुराको अध्ययन गरेर काम थालनी र सम्पन्न गर्ने भन्ने थियो । हाम्रोजस्तो लथालिङ्ग तरिमा र भद्रगोल अवस्थामा काम गर्न उनीहरूको रुचि नभएको हो । यस्तो अवस्थामा काम गर्दा समयमै कार्यान्वयन गर्न सकिँदैन भन्ने थाहा भएर नै ढिला भएको हो ।
नुवाकोट दरबार पुनर्निर्माणमा किन ढिलाइ त ?
नुवाकोट दरबारको निर्माण त कोभिडका कारण ढिलाइ भएको हो । महामारीमा गएका उनीहरूको मान्छे कतिपय आउन सकेनन् । हाम्रो पाटोबाट पनि हेर्नुपर्छ । मुलुक बनाउनेले नै उनीलाई झकझकाउने काम गर्नुप¥यो । इनिसेसन लिनुप¥यो । चीनले किन बनाउन सकेन भन्ने होइन, हामीले बनाउन वातावरण गराउने हो । तत्कालीन सरकारले किन काम रोकियो भन्न सकेन ? किन काम सुचारु बनाउनतर्फ लागेन ? यसतर्फ हामीले विचार गर्नुपर्छ । नेपालमा विकास निर्माणका काम गर्न आएका विदेशी शक्तिले के बुझेर जाने ? उनीहरूको पाटोमा केही प्राकृतिक, अप्राकृतिक कुरा पनि होलान् । तर, त्यसमा हामीले हाम्रो कारण पनि खोज्नुपर्छ भन्ने लाग्छ ।
चीनले नेपालको कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
चीन र नेपाल स्वतन्त्र देश हो, स्वतन्त्र पार्टी हो । नेपालका कम्युनिस्ट पार्टीलाई चीनले नरम भएर हे¥यो भन्ने हो भने त नेपालको सिमाना निर्धारण गर्ने बेलामा पनि काङ्ग्रेस बलियो थियो । तर, नेपालको चित्त नदुख्ने गरी सम्पन्न गरेको थियो । त्यसको अर्थ के हो ? जसले डिप्लोमेटिक, कूटनीतिक बुझ्दैन उनीहरूले नै त्यस्ता तर्क गर्ने हो । वैचारिक आधारमा निकट देखिने भन्ने कुरा आफ्नो ठाउँमा छ । स्वतन्त्र मुलुक र स्वतन्त्र पार्टीको बीचमा सम्बन्ध उस्तै हुन्छ । जुन देशसँग जसको सरकार भए पनि नेपालको अन्तरदेशीय सम्बन्ध सधैँ एउटै र उस्तै हुन्छ । हल्का तर्क गरेर वैदेशिक सम्बन्धलाई विवादास्पद बनाउनुहुँदैन ।
नेपालमा नेकपामा समस्या आउँदा चिनियाँ राजदूतको भेटघाट त बाक्लो थियो नि ?
त्यो त हाम्रा कारणले हो । सरकारले विदेशी कूटनीतिज्ञलाई के-के गर्छन्, दिनमा कति पटक भेट्छन् ? एउटा राजदूतलाई भेट्न कति प्रक्रिया पूरा गर्नुपर्छ ? अहिलेको सरकार भनेको त झन् चिनियाँ राजदूत नभएको बेला हो । कसरी त्यस्तो हुन्छ । कसैले शुभकामना शुभेच्छा प्रकट गरेको आधारमा सरकार नै त्यता लोयल छ भन्न मिल्दैन । त्यो कूटनीतिक भूमिका हो ।
तपाईं राजदूत हुँदा नुवाकोट र नेपालले के-कस्तो अनुभूति ग¥यो त ?
नुवाकोटेको अनुभूति के भनेर उत्तै सोध्नुपर्छ । त्यति बेला कोरोना महामारी बढ्दो थियो । म पनि कोभिड भएकै बेलामा गएको हुँ । लकडाउन भएकै बेला चाइना गएको थियो । त्यसबेलामा नेपालमा बेहाल थियो, भ्याक्सिन थिएन, म सबैभन्दा पहिले त्यहाँ पुगेर भ्याक्सिनको कुरा गरेको थिए । चीनमा उत्पादन भएको भ्याक्सिन अन्य विदेशी मुलुकमा रहेका नेपालीका लागि पनि पु¥याउने वातावरण निर्माण भएको थियो । सबै मुलुकमा रहेका नेपालीसँग समन्वय गरेर केही काम गर्नुपर्नेछ ।