+
Search

ताजा अपडेट +

पपुलर +

माछापालनमा जम्दै छिरिङ

माछापालनमा जम्दै छिरिङ
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

नागुम (स्याफ्रुबेँसी), रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ नागुम गाउँकी छिरिङ साङ्मो तामाङले रेन्बो ट्राउट माछापालन व्यवसाय गरेर मनग्य आय-आर्जन गरिरहेकी छिन् । यस व्यवसायले घरखर्च चलाउन कसैको मुख ताक्न नपरेको उनले बताएकी छिन् ।

Utsuk Books & Stationery

नागुङ कृषि फर्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी ०६९ सालबाट माछा पाल्न सुरु गरेकी छिरिङले सुरुमा दुई लाख लगानी गरेर दुईवटा पोखरीमा एक हजार पाँच सय माछाको भुराबाट सुरु गरकी हुन् । एक वर्षपछि ०७० सालमा थप दुईवटा पोखरी निर्माण गर्न भने तत्कालीन कृषि विकास कार्यालयबाट ५६ हजार माछाको भुरा, रसुवाको वाणिज्य सङ्घबाट ३० हजार, लघु उद्यम विकास कार्यक्रमबाट ३० हजार र थप आफ्नै ६० हजार लगानी गरेर एक लाख २० हजार माछाको भुरा थप गरेकी थिइन् । ०७१ सालमा हिमाली आयोजनाबाट प्राप्त ३४ लाखबराबरको भौतिक, प्राविधिक र उपकरण सहयोग पाएको बताउने छिरिङ अहिले यस क्षेत्रको नमुना महिला उद्यमी बनेकी छिन् । ०७२ सालको भूकम्पले उनी घाइते भएर कम्मरभन्दा तल्लो भाग नचल्ने अवस्थामा पुगिन् भने व्यवसाय थिलथिलो बनायो । ‘मैले गरेको कृषि व्यवसाय सबै पहिराले लग्यो । मनमनै मेरो दिन यति नै रहेछ, अब के गर्ने होला भन्ने थियो, जब श्रीमान् र तीन छोरा साथ र सहयात्री बने बिस्तारै आफैँ हिँड्न सक्ने भएँ,’ उनले भनिन्, ‘बिस्तारै फेरि कृषि पेसामा फर्किएँ, मैले नसक्दा मैले गरेका काम तीन छोराले सम्हाल्न थाले । उनीहरूले ट्राउट माछापालन व्यवसायलाई मर्न दिएनन् ।

त्यसैको फलस्वरूप आज म सफल महिला माछापालक बनेकी छु ।’ आज-भोलि कसैको सहयोगबिना आफैँ तालिममा जान सक्ने भएकी छिन् । उमेरले ५९ लागिसकेकी छिरिङ अहिले पनि उत्तिकै जोस-जाँगरको साथ माछापालन व्यवसायमा संलग्न छिन् । पढेलेखेको नभए पनि हेरेर, सुनेर काम गरेर सफल कृषक भएको उनी जीवनमा कहिले पनि हरेश नखाई निरन्तर प्रयास गरे सफल हुने बताउँछिन् । उनको माछा फर्म सदरमुकाम धुन्चेबाट दुई घन्टाको पैदल दूरीमा रहेको नागुम गाउँ साबिकको धुन्चे गाविसको वडा नम्बर-९ मा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह