गोसाइँकुण्ड युवा क्लबले २५औँ रजत दिवस मनाउँदै

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:३७
  • शशिकुमार डङ्गोल

बेत्रावतीबजार, नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा क्रियाशील गोसाइँकुण्ड युवा क्लबले यस वर्ष २५औँ वर्षगाँठको उत्सव मनाउँदै छ । यसै सन्दर्भमा माघेसङ्क्रान्तिका दिन धुमधामले गोरु जुधाउने कार्यक्रमसमेत राखेको छ । उक्त दिन १८ जना किसानले १८ वटा गोरु बेत्रावतीको ढाडेको बगरमा जुधाउन ल्याउन नाम दर्ता गराएको गोरु छनोट उपसमितिका सदस्य एवम् क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी गराएका छन् ।

यसपटक गोरु जुधाउन ल्याउने किसानको मनोबल उच्च बनाउन क्लबले पुरस्कार राशि बढाएको छ । प्रतियोगितामा भाग लिएर प्रथम हुने गोरुधनीलाई १३ हजार र द्वितीय हुनेलाई ११ हजार रुपैयाँ दिइनेछ । साथै, कार्यक्रम अवधिभर किसानको गोरु कुनै क्षति भए गोरुको बिमासमेत गरिएको छ । गोरु ल्याउने किसानका लागि खाजाखाना र बसोवासको समेत क्लबले व्यवस्था गरेको सचिव ईश्वर थापा आइटमले बताए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद मोहन आचार्य आउने आयोजकले जानकारी दिएको छ । माघेसङ्क्रान्ति मेलामा विविध वेशभूषामा सजिएर बेत्रावती नेवार समुदायको लाखेनाच, जिबजिबे रसुवाको ब्राह्मण समुदायको बालन भजन कीर्तन, मगर समुदायको सोरठीनाच, तामाङ सेलो र झाँक्रीनाच, पञ्चेबाजासमेतको झाँकी प्रदर्शनी गरिने क्लबका अध्यक्ष दीपु डङ्गोलले जानकारी दिए । यसै अवसरमा पुस ३० गते र माघ १ गते दुई दिन विविध मनोरञ्जनात्मक कार्यक्रम गरिनेसमेत उनले बताए ।

पुस ३० गते भने दिउँसो ३ बजेबाट घ्याम्पो फुटाई कार्यक्रम सुरु हुनेछ । साथै स्थानीय रसुवा-नुवाकोटका कलाकारबाट लोकगीत सुन्न र नृत्यको मनोरञ्जन लिन पाइनेछ । बेलुकी ५ देखि ८ बजेसम्म भने प्रसिद्ध Divine Soul Band को साङ्केतिक प्रस्तुति रहनेछ । माघ १ गते भने बिहान ११ बजे कार्यक्रम उद्घाटनपछि दिनभर गोरुजुधाइ कार्यक्रम हुनेछ र बेलुकी ५ देखि ८ बजेसम्म ख्यातिप्राप्त राष्ट्रिय कलाकार गायिका राधिका हमाल, गायक खुमन अधिकारी, रमेशराज भट्टराई, ध्रुव तामाङ र सुवास शर्माको बेजोड साङ्गीतिक कार्यक्रम हुने साङ्गीतिक कार्यक्रम उपसमिति सदस्य नारायण आचार्य ‘हेप्पी’ले जानकारी गराए । बेत्रावतीको गोरुजुधाइ कार्यक्रम गोसाइँकुण्ड युवा क्लब ०५३ को स्थापनाकालदेखि नै आयोजकको भूमिकामा रहँदै आइरहेको छ । यस कार्यक्रमको मूल उद्देश्य भनेको परापूर्वकालदेखि नै बेत्रावतीका सतृईफाँट, दहफाँट, सातबिसेफाँट, सम्राटफाँट जुडिफाँटका खेतका गह्रामा यहाँका स्थानीय किसानले अघिपछि गोठालो जाँदा आफ्नो बलिया बहर गोरु एक-आपसमा मिलेर जुधाउने गर्दथे भने माघेसङ्क्रान्तिका दिन घ्यु, चाकु, तरुल भोज खाई दिउँसो गोरु नै बाजी थापेर आफ्नो राजीखुसीले गोरु जुधाइथ्यो ।

अर्को कथनमा नेपाल-तिब्बत-भोट युद्धपछि वि.सं. १८४९ सालमा बेत्रावतीमा ऐतिहासिक सन्धि भएको र सो सन्धिबाट नेपालको क्षति नोक्सान हुनबाट बचेकाले उक्त सन्धिको स्मरण र खुसियालीमा पनि बेत्रावतीमा गोरु जुधाउने गरिएको भन्ने पनि बुढापाकाको कुरा सुन्नमा पाइन्छ । यसै सांस्कृतिक परम्परालाई निरन्तरता दिन, बेत्रावतीबजारको स्थानीयस्तरको व्यवसायमा थप आर्थिक उपार्जनमा लाभ पु¥याउनु, बेत्रावतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वलाई उजागर गरी विश्वव्यापी रूपमा प्रचार–प्रसार गर्न र बेत्रावतीको सम्भावित दिगो पर्यटनलाई आवश्यक पहल गर्न, हराउन गइरहेको बलिया बहर गोरु हुर्काउन, पाल्न किसानको मनोबल उच्च राख्नका साथै हौसला प्रदान गर्न यस कार्यक्रम आयोजनाको मूल ध्येय रहेको छ ।