कृषकले निब्र्याजी रकम पाउने

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १५:४३

विदुर, पशुपन्छीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले कृषकलाई निब्र्याजी नगद दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यो वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने सर्तमा निब्र्याजी रकम उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए ।

उनका अनुसार पशुपन्छीपालन गर्ने किसानको व्यावसायिक योजना (बिजनेस प्लान)को आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा दश लाख रुपैयाँ उपलब्ध गराउने गरेर ‘बिउ पुँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको हो । बिउ पुँजी कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाको आधारमा तीन किस्तामा निब्र्याजी रकम प्राप्त गर्न सक्ने कार्यविधिमा भनिएको छ । किसानले अनुदान लिन पशुपन्छीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुवातमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्ताबापत ५० प्रतिशत रकम पाउने कार्यविधिमा भनिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटको प्रमुख पाण्डेको अनुसार किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतको दरले पाँच वर्षमा उक्त निब्र्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ ।
किसानले लिएको निब्र्याजी पैसा तोकिएअनुसार किस्ता नबुझाएमा किसानले जुन फार्म देखाएर निब्र्याजी पैसा लिएको छ त्यस फार्ममा सरकारले हस्तक्षेप गर्न सक्ने कार्यविधिमा भनिएको छ । नुवाकोटका किसानलाई निब्र्याजी उपलब्ध गराउन ‘बिउ पुँजी परिचालन कोष’मा अहिले एक करोड पचास लाख रुपैयाँ प्राप्त भइसकेको छ । अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराउने जनाएको छ । प्रदेश कृषि मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपन्छीपालक किसान तथा कृषि फर्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालू आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित भएर दिँदै आएको अनुदान कटौती गर्दै चालू आर्थिक वर्षदेखि किसानलाई निब्र्याजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपन्छीजन्य उत्पादनको वृद्धि, विविधिकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने लक्ष्य राखिएको केन्द्र प्रमुख भरत पाण्डेले जानकारी दिए ।