नुवाकोट महोत्सवको तयारी तीव्र प्रधानमन्त्री प्रचण्डलाई उद्घाटनको निम्तो

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार ११:४६

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ २७ देखि फागुन १० गतेसम्म हुने सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउन सङ्घले निर्णय गरेर निम्तो पठाइसकेको छ ।

महोत्सवलाई भव्य र सभ्य बनाउने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सवका संयोजक ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी बाँडफाँट गरेको छ । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नुवाकोटको रीतिरिवाज, धार्मिक, सांस्कृतिक, भाषा, वेशभूषा, कला र स्थानीय कृषि उत्पादन, धार्मिक एवम् ऐतिहासिक स्थलको प्रचार-प्रसार गर्नेलगायतका जिल्लाको पहिचान झल्कने महोत्सव बनाउने उद्देश्यले २९ वटा उपसमिति बनाएर संयोजकको जिम्मेवारी तोकेको छ । संयोजकले बाँकी सदस्य चयन गर्ने अधिकारसमेत दिएको सङ्घका महासचिव कृष्णप्रसाद अधिकारीले बताए । महोत्सवको मूल समारोह समितिको संयोजक ताराबहादुर कार्कीले दिएको जानकारीअनुसार अतिथि सत्कारको जिम्मा वरिष्ठ उपाध्यक्ष गीता अमात्य, मेला अनुगमन निरीक्षणको जिम्मा पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, स्थानीय पालिकासँग समन्वयको जिम्मा सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकार, प्रचार-प्रसार मञ्च व्यवस्थापनको जिम्मा महासचिव कृष्णप्रसाद अधिकारी, उपहार व्यवस्थापनको जिम्मा प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ब्रोसर तथा कलाकार व्यवस्थापनको जिम्मा द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती, बाल उद्यान तथा हेलिकोप्टर व्यवस्थापनको जिम्मा सचिव उपेन्द्र बुढाथोकीलाई दिएको छ ।

त्यसैगरी, सूचना तथा सञ्चारको जिम्मा प्रवक्ता सविन राजभण्डारीलाई र आर्थिक व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठलाई दिइएको छ । सङ्घका सदस्यलाई पनि जिम्मेवारी तोकिएको छ । गेट व्यवस्थापनको जिम्मा निरोज खड्गी, खानेपानी तथा सरसफाइ व्यवस्थापनको जिम्मा उद्धव पन्त, स्वयम्सेवक परिचालनको जिम्मा सुमन भण्डारी, आदिवासी तथा जनजातिको कला, संस्कृति, वेशभूषा, परिकार प्रदर्शनी तथा व्यवस्थापनको जिम्मा नवीनकुमार जोशी, पार्किङको व्यवस्थापन जिम्मा गगन लामा, कृषि स्थानीय उत्पादन तथा सङ्घ-संस्था समन्वय गर्ने जिम्मा विष्णु प्याकुरेल, कृषि पर्यटन समन्वयको जिम्मा सरोज श्रेष्ठ, पास व्यवस्थापनको जिम्मा ध्रुवकुमार रावलले पाएका छन् । महोत्सवको बाद्यबाधन व्यवस्थापनको जिम्मा सविन जोशी, महिला उद्यमीको उत्पादन प्रदर्शनीको जिम्मा लिस्ना प्रधान, स्थानीय उत्पादन तथा स्टल मूल्याङ्कनको जिम्मा गीता थापा ढकाल, स्थानीय कलाकारको संयोजनको जिम्मा राजकुमार आचार्य, टिकट व्यवस्थापनको जिम्मा मधुसुदन थपलिया, खाना तथा वास व्यवस्थापनको जिम्मा हरिशरण रिमाल, ब्याच वितरणको जिम्मा व्यवस्थापन ज्ञानुमाया गिरी, काठमाडौं तथा अन्य जिल्लासँग समन्वय पुरुषोत्तम कार्की, प्रदेशस्तरीय समन्वय गर्ने जिम्मा अञ्जली राजभण्डारी, सल्लाहकार समन्वयको जिम्मा शिव देवकोटा, जग्गा व्यवस्थापनको जिम्मा उत्तम ढकाल र स्टल व्यवस्थापनको जिम्मा मेघनाथ घिमिरेलाई दिइएको छ ।

महोत्सव पिपलटारमा गर्ने निर्णय गरेपछि वडाध्यक्ष लीलानाथ न्यौपानेले स्थानीयसँग समन्वय गरेर जग्गा व्यवस्थापनलगायत अन्य सहयोग जुटाइरहेका छन् । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको सङ्घका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गराउने र उनको समय नमिले र उपस्थित हुन नसक्ने अवस्था आए नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाबाट गराउने निर्णयसमेत भएको उनले बताए ।