केरुङ-काठमाडौं र रक्सोल-काठमाडौं रेलमार्ग निर्माणको चर्चा चीन र भारत कसको रेल काठमाडौंमा पहिला

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार ११:५३

विदुर, चीनको केरुङ र तिब्बतबाट नेपालको रसुवा, नुवाकोट हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माणको चर्चा फेरि सुरु भएको छ । पुस दोस्रो हप्ता अर्थात् नयाँ वर्ष २०२३ सुरु भएसँगै केरुङ-काठमाडौं रेलमार्ग निर्माणको चर्चा चुलिएको हो । कोभिड-१९ को सुरुवातसँगै बन्द रहेको केरुङ-काठमाडौं रेलमार्ग अध्ययनका लागि गत महिना चिनियाँ प्राविधिक टोली नेपाल आएको छ ।

०७२ सालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि केरुङ-काठमाडौं रेलमार्ग निर्माणको चर्चा चले पनि कोभिड-१९ को कारण लकडाउन सुरु भएसँगै रेलमार्ग निर्माणको प्रक्रिया सेलाएको थियो । चीनले कोभिडविरुद्ध लगाउँदै आएको लकडाउनलाई खुकुलो बनाएपछि नेपालमा सञ्चालित चिनियाँ लगानीका धेरै आयोजनामा चहल-पहल सुरु भएको छ । कोभिडको कारण आयोजनामा काम गर्ने चिनियाँ प्राविधिक र कामदार कार्यक्षेत्र फर्किरहेका छन् । पुस लागेपछि चिनियाँ ठेकेदार र कामदार नेपाल आउन थालेका हुन् । चीनले काठमाडौं रेलमार्ग बनाउने चर्चासँगै भारतले पनि रक्सोल-काठमाडौं रेलमार्ग बनाउन नेपाल सरकारसँग सम्झौता गरेको छ । कोभिडको कारण भारतले रक्सोल-काठमाडौं रेलमार्ग बनाउन प्राविधिक अध्ययन गर्दै छाड्दै आएको थियो । कोभिडको महामारी मत्थर हुँदै गएपछि भारतले पुनः प्राविधिक अध्ययनलाई निरन्तरता दिइरहेको छ । दुई छिमेकी देशबीच काठमाडौंमा कसले पहिला रेल पु¥याउने प्रतिस्पर्धा भएमा मात्र चाँडो उत्तर र दक्षिण रेलमार्ग निर्माणले मूर्तरूप पाउनेछ । नत्र दुवै देशले अध्ययनमै नेपाललाई अलमल्याइरहनेछन् । अहिले चर्चा भएजस्तै चिनियाँ रेल काठमाडौंमा चाँडै देख्न पाइने अवस्था भने छैन । यसको अध्ययन चीन आफैँले आफ्नो खर्चमा गर्दै छ । त्यही भएर चीनले रेलमार्ग अध्ययनमा वर्षौँ लगाउने कि चाँडै नै सिध्याएर निर्माणको प्रक्रिया अगाडि बढाउने चीनमै निर्भर रहेको छ । नेपालले अध्ययनमा खर्च नगर्ने भएको कारण चीनले चाहेमा मात्र यसको प्राविधिक अध्ययन पूरा हुनेछ । भौगर्भिक अध्ययन पूरा भएपछि मात्र लागत कति लाग्ने भने यकिन हुनेछ । भौगर्भिक अध्ययन पूरा भएपछि आर्थिक रूपमा थेग्ने अवस्था आएन भने यसको निर्माण नै सुरु हुनेछैन ।

पुस लागेपछि नेपालमा सञ्चालित विभिन्न आयोजनामा चासो दिने मात्र होइन, केरुङ-काठमाडौं रेलमार्गको अध्ययनलाई पनि चीनले तीव्रता दिइरहेको छ । रेलमार्गको अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आउनुअगाडि नेपाल-चीनका कुनै पनि सडकनाका चीनले एकतर्फी रूपमा खोलेको छ भने रसुवागढी नाका दुईतर्फी नै खुला गरिदिएको छ । काठमाडौंबाट केरुङ रेलमार्ग जोडियो भने नेपालले चीनसँग मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ मार्गबाट व्यापार गर्न पाउने अपेक्षा गरिएको छ । त्यही भएर यो रेलमार्गबारे जनचासो बढेको हो । खासगरी भारतीयले लगाउने नाकाबन्दीको कारण आजित नेपाली ठूला पूर्वाधार विकासको कामलाई बढी नै चासो दिने गर्छन् । केरुङ-काठमाडौं जोड्ने रेलमार्ग मात्र होइन उत्तरी नाकाबाट नेपाली भू-भागमा जोड्ने जुनसुकै सडकमार्ग पनि नेपालीको चासोको विषय बन्ने गरेको छ । त्यस्ता सडकमार्ग बीसौँ वर्षसम्म निर्माण पूरा नभए पनि चासो र चर्चाको विषय बन्दै आएको छ । नेपालीले भारतीय नाकाको विकल्पको रूपमा चिनियाँ नाका हेर्ने गरेको कारण रेलमार्ग, सडकमार्ग सधैँ चर्चाको विषय बन्ने गरेको हो । चीनले १ जुलाई १९६२ देखि कोदारी राजमार्ग निर्माण सुरु गरेदेखि उत्तरी नाकाबारे नेपालमा मात्र होइन भारत पनि जति चर्चा थियो, अहिले पनि त्योभन्दा बढी नै चर्चा हुने गरेको छ, नेपाल-चीनबीच सडक वा रेलमार्गबारे तत्कालीन राजा महेन्द्रको आग्रहको कारण कोदारी राजमार्ग निर्माणमा माओ त्से तुङले ठूलो चासो दिएका थिए । माओकै कारण उक्त सडक मार्ग निर्माण भएपछि नेपालमा मात्र होइन भारतमा पनि ठूलो चर्चा भएको थियो । कोदारी राजमार्ग निर्माण सुरु गर्ने बेला आफूहरूले तिब्बतमा रेलमार्ग बनाउने र त्यसपछि त्यो रेलमार्ग नेपालसम्म पुग्ने बताएका थिए माओले । अहिले सिगात्से-केरुङ-काठमाडौं रेलमार्गलाई माओकै योगदानको रूपमा हेरिन्छ ।

कोभिड-१९ सुरु हुनुअघि सन् २०१८ मा चिनियाँ प्राविधिकले केरुङ-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेका थिए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बेला सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी हस्ताक्षर भएपछि केरुङ-काठमाडौं रेलमार्गले थप चर्चा पाएको हो । उक्त रेलमार्ग प्राविधिक रूपमा चुनौतीपूर्ण र आर्थिक रूपमा बढी खर्चालु हुने देखिए पनि असम्भव भने नभएको बताइएको थियो । चिनियाँ प्राविधिक अहिले पनि उक्त रेलमार्गलाई चुनौतीपूर्ण नै देख्छन् । किनकि अहिलेसम्मका अध्ययनले यो रेलमार्ग करिब ९८ प्रतिशत जमिनमुनि हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यही भएर प्राविधिकले यसलाई चुनौती मानेका हुन् । यो रेलमार्गको अर्को चुनौती भनेको तिब्बतको चार हजार मिटरको उचाइबाट करिब एक हजार तीन सय ५० मिटरको काठमाडौंसम्म आइपुग्नेछ । रेलमार्ग जमिन बाहिरबाट बनाउँदा ठाडो ओरालो पर्ने भएकाले चिनियाँ प्राविधिकले जमिनभित्रै यो रेलमार्ग हुने अहिलेसम्म अनुमान गरेका छन् । प्राविधिक रूपमा यो रेलमार्ग चुनौतीपूर्ण रहनुको अर्को कारण भनेको नेपाल तथा हिमालयन क्षेत्र भूकम्पको बढी जोखिमपूर्ण स्थान रहेको कारण भूकम्पप्रतिरोधी रेलमार्ग बनाउनु नै हो ।

चिनियाँ टोली रसुवागढी, नुवाकोट पुगेर अध्ययन गर्नासाथ अब चाँडै रेलमार्ग निर्माण सुरु भइहाल्छ कि भन्ने कुतूहल काठमाडौंमा सुरु भइहाल्छ । यसअघि मात्र होइन, यो पुसको अन्तिम साता रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको रेल विभागका अधिकारी र ६ जनाको चिनियाँ टोली रसुवागढी नाकामा गएर रसुवा र नुवाकोटको केही भाग हेरेर काठमाडौं फर्केपछि चर्चा थप चुलिएको हो । रेल विभागका महानिर्देशक बिसुरालका अनुसार यो रेलमार्गको अध्ययनका लागि गत पुस १७ गते अर्थात् सन् २०२३ को जनवरी १ तारिखदेखि कम्तीमा साढे तीन वर्ष लाग्नेछ । त्यसपछि मात्र उक्त रेलमार्ग निर्माणको आर्थिक स्रोतबारे अध्ययन हुनेछ । आर्थिक स्रोतको व्यवस्था भएपछि मात्र रेलमार्ग निर्माणको मोडालिटी तयार भएर ठेक्का लाग्ने छ । तर, साढे तीन वर्षमा अध्ययन पूरा गर्न बिना कुनै बाधा लगातार रूपमा काम हुनुपर्छ । यो रेलमार्गको अध्ययन गर्न चीनको ‘रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको-अपरेट लिमिटेड’ अहिले नेपाल आएको हो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणको बेला सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार ६ जना चिनियाँ प्राविधिकको टोली नेपाल आएर बसेको छ । अहिलेसम्म अध्ययन गर्ने टोलीले नेपालमा कार्यालय पनि खोलेको छैन । उसले होटेलमा बसेर आफ्नो काम गरिरहेको छ ।

स्थलगत सर्भे गरेको चिनियाँ टोलीले यसै वर्ष एरियल सर्भे गर्नेछ । यो सर्भे गर्दा चिनियाँ टोलीले प्लेनको सहयोग लिनेछ । अर्थात् प्लेनबाट रेलमार्गको फोटोग्राफी लिनेछ । यसबाट जमिनको वास्तविकता पत्ता लाग्नेछ । अर्थात् रेलमार्गमा भएका भिर, खोला, जमिनको अवस्था पत्ता लाग्नेछ । त्यसपछि मात्र चिनियाँ टोली डिटेल फिजिबिलिटी अध्ययनमा जानेछ । त्यसका लागि विभिन्न भागमा मेसिन प्रयोग गरेर प्वाल पार्नेछ । ती प्वालबाट मेसिनबाटै जमिनभित्रको माटो, ढुङ्गाको अवस्था, खानी छ वा छैन, पानीको मात्रा कति छ, रकको बनावट कस्तो छ भन्ने पत्ता लाग्छ । त्यसले मात्र यो रेलमार्गको लागत अनुमान गर्न सकिन्छ । तर, अहिले नै यति रकम लाग्छ, निर्माण सुरु भएको यति समयमा सकिन्छ भनेर अनुमान नै गर्न सकिँदैन । ‘कुनै बाधा-अवरोध भएन भने पनि अध्ययन गर्न नै वर्षौँ लाग्छ,’ महानिर्देशक बिसुरालले भने, ‘चिनियाँ टोलीले लगातार अध्ययन गर्न पाएमा साढे तीन वर्षमा फिजिबिलिटी स्टडी सकिन्छ भन्ने योजना बनाएका छन् । अझ अध्ययनको क्रममा केही समस्या देखा परेमा त्यो साढे तीन वर्ष पनि लम्बिन सक्छ ।’ अहिले चीनले केरुङबाट काठमाडौं रेलमार्ग बनाउने भनेर अध्ययन गरिरहेको छ भने भारतले पनि रक्सोलबाट काठमाडौंसम्म रेलमार्ग बनाउने भनेर अध्ययन गरिरहेको छ । यी दुई देशबीच कसले चाँडो रेलमार्ग काठमाडौं ल्याउने भन्ने प्रतिस्पर्धा गरेमा मात्र चाँडो रेलमार्ग बन्ने देखिन्छ । नत्र अध्ययनमै वर्षौँ समय बित्नेछ । अहिले चर्चा गरे जसरी चिनियाँ रेल काठमाडौंमा चाँडै देख्न पाइने अवस्था भने छैन । यसको अध्ययन चीन आफैँले आफ्नो खर्चमा गर्दै छ । त्यही भएर अध्ययन कति समयमा सकिन्छ भन्ने यकिन चीनमै भरपर्छ । नेपालले अध्ययनमा खर्च नगर्ने भएको कारण चीनले चाहेमा मात्र यसको साढे तीन वर्षमा अध्ययन पूरा हुने हो । भौगर्भिक अध्ययन पूरा भएपछि मात्र लागत कति लाग्ने भन्ने यकिन हुनेछ । भौगर्भिक अध्ययन पूरा भएपछि आर्थिक रूपमा थेग्ने अवस्था आएन भने यसको निर्माण नै सुरु हुनेछैन ।