थुमन-काठमाडौं बससेवा सञ्चालन

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:४१

धुन्चे, भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रा.लि.ले सङ्घीय राजधानी काठमाडौँको गोंगबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबारदेखि नियमित बससेवा सुरु गरेको हो ।

शनिबार बिहान ६ बजे काठमाडौंबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो । बससेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ । ना.३ ख ८९८४ नम्बरको डिलक्स बस गुडाएर पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरुसमेतको समूहले खादा लगाई भव्य स्वागत गरेको थियो । चालक मगरले भने चार-पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बसचालक थुमन जान उत्साहित बनाएको बताए । बससेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहज रूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पु¥याउन सहज भएको गोसाइँकुण्ड-१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताए । यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ ।

स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रा.लि.का अध्यक्ष एवम् प्रबन्ध-निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गर्ने प्रतिबद्धता जनाए । तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो, भरपर्दो, विश्वासिलो एक मात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बससेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ । हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सञ्चालन गरिरहेको जनाइएको छ । नियमित बससेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौंका बजारमा पु¥याउन सजिलो भएको स्थानीय बासिन्दाले बताए । नेपालकी चेली भृकुटी र तिब्बतका राजा स्रङ्चङगम्बोबीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बत गएको इतिहासमा उल्लेख छ ।