सँगै पढेका साथीको सम्झना

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:५६
  • फुर्पा तामाङ

म कक्षा पाँचको प्राथमिक तहको परीक्षा उत्तीर्ण भएपछि धुन्चेमा पढ्न आएँ । गाउँको विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो । त्यसपछि कि स्याफ्रुबेँसी जानुपथ्र्यो कि धुन्चे । स्याफ्रुबेँसी जानुभन्दा धुन्चे जानु अलि सजिलो थियो । स्याफ्रुबेँसीमा राखेर पढाउन अभिभावक डराउँथे । स्याफ्रुबेँसी जाने बाटो निकै डरलाग्दो भिर भएर जानुपथ्र्याे । तातोपानी भिर (क्विलेप ब्रा) को गोरेटोले सबैको सातो खान्थ्यो । त्यो भिरबाट खस्यो भने कहीँ अड्किने ठाउँ थिएन । सोझै केरुङ भोटेकोसीमा पुगिन्थ्यो । अर्को हो केटाकेटी केरुङ भोटेकोसी र लाङटाङ खोलामा पौडी खेल्न जालान् र खोलाले बगाउला भन्ने चिन्ता । मेरो दाजु ल्हाक्पा र कान्छी दिदी किप्पा याङजेन स्याफ्रुबेँसीको श्यामेवाङ्फेलमा पढ्दा एक दिन दाजु पौडी खेल्न जानुभएछ । पौडिन नजानेर झन्डै खोलाले बगाएछ । गाउँकै काका पर्ने पासाङ ग्युर्मीले च्याप्प समात्न सकेर मात्र बचाउन सकेको रे । तेस्रो कारण मैले पाँच कक्षा उत्तीर्ण गर्दासम्म दाजु र दिदीले निम्नमाध्यमिक तहको शिक्षा पूरा गरेर धुन्चेको रसुवा माध्यमिक विद्यालयमा पढ्न आउनुभएको थियो । त्यही भएर बुबाआमाले मलाई पनि धुन्चेमै पढ्नु भन्नुभयो ।

मनमा भने कुतूहल थियो । धुन्चेमा पढ्न जाँदा कस्तो साथीसँग भेट हुने हो ? मिल्ने खालको भेटिन्छ कि निहुँ खोज्ने खालको ? यस्तै लागिरहन्थ्यो । दाजुले भन्नुहुन्थ्यो, ‘धुन्चेमा कहिलेकाहीँ केटाले कुट्न आउँछन् ।’ मलाई दाजुको यो कुराले झन् पिर पथ्र्याे । धुन्चेमा कक्षा आठमा पढ्न आउँदा केटाले कुट्ने र जिस्क्याउने गरेपछि दाजु विद्यालय जानै नमानेर बुबाआमाले फकाइफुल्याई स्कुल पठाएको मैले देखेको थिएँ । गाउँको श्री भीमसेन प्राथमिक विद्यालयमा पृथ्वीबहादुर तमाङ, कामी छिरिङ तमाङ र म गरी तीनजना पढ्थ्यौँ । हामी तीनैजना कक्षा पाँच उत्तीर्ण गरेपछि पृथ्वीबहादुर स्याफ्रुबेँसी पढ्न गए । कामी छिरिङ र म धुन्चे आयौँ । कुरा ०४० सालको फागुनको पहिलो सातातिरको हो । त्यसबेला कक्षा ६ मा पढ्नेमा धुन्चेकै दिकी साङ्मो तामाङ, रिकी ल्हामो घले, देकी ल्हामो घले, सोनामछिरिङ तामाङ, नुर्पुछिरिङ तामाङ, हाकुको अम्बरबहादुर तामाङ र साङतेम्बा तामाङ, सानोभार्खुको कामी छिरिङ तामाङ, ठूलोभार्खुबाट म र नुवाकोटतिर घर बताउने सुष्मा ठकुरी थियौँ ।

सुष्माको बुबा कृषि फाराम धुन्चेमा र आमा धुन्चेकै हेल्थपोस्टमा नर्स हुनुहुन्थ्यो । सुष्मा एक्ली छोरी रहेछिन् । गोरी, राम्री र मिठो बोल्ने थिइन् । पहिलो दिनमा कक्षामा सबैको परिचय भयो । सुष्माले परिचय दिँदा ‘मेरो नाम सुष्मा ठकुरी’ भनिन् । म गाउँबाट आएको मान्छे, ठकुरी भनेको के हो ? थाहापत्तो थिएन । नौलो थर लाग्यो । किनभने हामी सबैले कोही तामाङ भन्यौँ, कोहीले घले भने । यी थर गाउँघरमा सानैदेखि सुन्दै आएको हो । तर, ठकुरी थर सुनेको थिइनँ । खासगरी कक्षा ६ मा पढ्न आउँदासम्म म नेपाली राम्ररी बोल्न जान्दैनथेँ । निकै अप्ठ्यारो लाग्थ्यो । शुद्ध नेपाली बोल्न नजानेर होला मैले बोल्यो कि साथीहरू गलल्ल हाँस्थे । घरमा र गाउँमा हामी सबैजना तामाङ बोल्थ्यौँ । बाहिरबाट पढाउन आएका पुराना शिक्षकले पनि तामाङ बोल्न सिकिसकेका हुन्थे । कक्षामा पढाएको बुझिएन भने शिक्षक केशरीप्रसाद खनालले धुन्चेको तामाङ भाषामा र होमप्रसाद श्रेष्ठले गोल्जोङको तामाङ भाषामा हामीलाई बुझाइदिनुहुन्थ्यो । यस्तो थियो उसबेला ।

एक दिनको कुरा हो । म कक्षामा बसिरहेको थिएँ । सुष्मा आएर भनिन्, ‘फुर्पा, चेक क्योसी ङ्युउसे । ङए अयातिङ् नो प्रे टिबा । असेम् दुङ्च्युरी टिजिम् डोबरी खतेबा लग्तिज्यी ? अर्थात् फुर्पा, अलि पर जाऊँ । म पनि तिमीसँगै बस्छु । अनि धुन्चेमा बसेर पढ्न कस्तो लाग्यो ? म त ट्वाँ भएँ । सुष्माले मसँग धुन्चेको तामाङ भाषामा बोल्न आइन् । एक किसिमले खुसी पनि लाग्यो । अर्को छक्क पनि परेँ । किनभने मैले उनले यसरी धुन्चेकै ठेट तमाङ भाषा बोल्छिन् होलिन् भन्ने सोचेकै थिइनँ । खासगरी सुष्माको बाबु र आमा धुन्चेमा जागिर गरेको लामो समय भएको रहेछ । बाबु दलित समुदायको र आमा ठकुरी रहेको पछि बुझियो । सुष्माको आमा पनि खुब सुन्दरी थिइन् । गोरी र बान्की मिलेकी । कहिलेकाहीँ सुष्मासँग हेल्थपोस्ट जाँदा उनकी आमालाई देखेको हुँ । हेल्थपोस्ट हाइस्कुल मुन्तिर थियो ।

उसबेला धुन्चे बजार अहिलेजस्तो ठूलो थिएन । मान्छेहरू तामाङ भाषामै कुरा गर्थे । बत्ती भर्खर आएको थियो । धुन्चेलाई सडक सञ्जालले जोडेको थिएन । सोमदाङ सडक खन्दै थियो । मान्छेमा नगदको कमी थियो । जागिर हुने र व्यापार–व्यवसाय गर्नेको आर्थिक हैसियत उच्च हुन्थ्यो । सुष्माका बाबुआमा दुवै जागिरे र उनी एक्ली छोरी भएर होला दिनदिनै सफा च्याट्ट मिलेको लुगा लगाएर आउँथिन् । स्कुलको पोसाक थिएन । जुनै लुगा लगाएर जान पाइन्थ्यो । उनी टिफिनमा खाजा ल्याउँथिन् । कहिलेकाहीँ बाँडेर दिन्थिन् । हाफ टाइम र कुनै विषयगत शिक्षक नहुँदा मलाई खुट्टी खेल्न सुष्माले नै सिकाएकी थिइन् । मेरा लागि त्यो पनि नौलो खेल थियो ।

कक्षा ६ बाट सातमा जाँदा म प्रथम भएँ । दिकी साङ्मो द्वितीय, रिकी ल्हामी तृतीय, सुष्मा चौथां, देकी ल्हामी पाँचौँ हुनुपर्छ । सात कक्षा उत्तीर्ण भएपछि सुष्माको बाबुआमा धुन्चेबाट काठमाडौं सरुवा भए । एक दिन उनी हाम्रो कोठामा त्यो कुरा सुनाउन आएकी थिइन् । दाजु र म कोठामा थियौँ । हाम्रो कोठा मामा म्लाङकैको घरमा थियो । सुष्माले भनिन्, ‘बुबा र आमा दुवैजना काठमाडौं सरुवा हुनुभएछ । मलाई पनि कालीमाटीको कुनै एउटा स्कुलमा भर्ना गरिदिने भन्नुभएको छ । उतै पढ्ने भएँ । ल राम्रोसँग पढ्नु है फुर्पा ! पछि क्याम्पस पढ्दा भेट भयो भने सँगै पढ्नुपर्ला ।’ एकछिन बसिन् । कुराकानी गरेर उनी बिदा भइन् । त्यति भनेर हामी छुट्टियौँ । सुष्मा आफ्नो बाबुआमासँगै काठमाडौं गएदेखि हाम्रो भेट भएन । उनी पछि फर्केर धुन्चे आइन् कि आइनन् त्यो थाहा भएन । मैले बुझेसम्म उनीसँगसँगै पढेका साथीको अहिलेसम्म भेट भएजस्तो लाग्दैन । अहिले कहाँ छिन् र के-कस्तो भइन् त्यो भगवान्लाई मात्र थाहा होला । तैपनि बाल्यकालमा सँगै पढेको हुनाले कहिलेकाहीँ सम्झना भने आउँदोरहेछ । कारण उनी, देकी ल्हामो, नुर्पु छिरिङ, कामी छिरिङ र म उस्ता–उस्तै उमेरका थियौँ । कक्षामा हामी साना थियौँ ।
हामी कक्षा ६ मा सँगै पढेकामध्ये धेरैसँग भेट हुन्छ ।

धुन्चेमा पुग्दा देखिरहन्छौँ । भेटिरहन्छौँ । एउटा दुःखद खबर पनि छ । धुन्चेकै नुर्पु छिरिङको केही वर्षअघि घर आगलागीमा परेर निधन भयो । ऊ पनि मिल्ने साथीमध्येकै थियो । सँगै गुच्चा खेल्थ्यौँ । उसलाई होमवर्क सिकाइदिनुपथ्र्याे । उसले कहिलेकाहीँ घरमा लैजान्थ्यो । उसको आमाले छोरालाई झैँ माया गर्नुहुन्थ्यो । उसको आमाले पकाएको खाजा र खाना धेरैपटक खाएको छु । आमासँग त अहिले पनि धुन्चे जाँदा भेट हुन्छ । मलाई छोरा भनेरै बोलाउनुहुन्छ । म पनि आमा नै भन्छु । कति साह्रो ज्ञानी लाग्छ नुर्पु छिरिङको आमा । मलाई देखेपछि नुर्पु छिरिङ (नुप्पा)को याद आउँछ भन्नुहुन्छ । बाल्यकालमा सँगै पढेका साथीको याद यसरी पो आउने रहेछ । के मलाई मात्र हो कि तपाईंहरूलाई पनि यस्तै हुन्छ ?

phurpatamang1971@gmail.com