रसुवागढी नाका चीनले फेरि बन्द गर्यो

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:४७
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाललाई सूचना नै नदिई मित्रराष्ट्र चीनले एकपक्षीय रूपमा तातोपानी र रसुवागढी नाका गत हप्तादेखि बन्द गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै पुसको पहिलो सातादेखि रसुवागढी नाकाबाट चीनले निर्यात खुला गरेको थियो ।

कोभिड– १९ सुरु भएपछि ३० महिनाअघि चीनले आयात–निर्यातमा रोक लगाएको भए पनि कोभिड घटेपछि आयात खुकुलो पारेर नेपालबाट हुने निर्यात पूरै रोकेको थियो । कोभिडको कारण ०७६ माघ १५ देखि आयात–निर्यात प्रभावित भएको थियो । कोरोना भाइरस फैलिएपछि २०७६ फागुनदेखि चीनबाट हुने आयात–निर्यात ठप्प भएको थियो । आयात–निर्यात ठप्प रहेको ६ महिनापछि ०७७ असार २२ गतेबाट पुनः आयात मात्र सुरु भएको र निर्यात बन्द गरेको चिनियाँ पक्षले दाहाल प्रधानमन्त्री भएपछि गत पुसको दोस्रो हप्तादेखि खोलेको थियो । निर्यात खोलेको एक महिना पनि नाका सञ्चालनमा नआउँदै माघ ६ गतेदेखि औपचारिक माध्यमबाट जानकारी नदिई चीनले बन्द गरेको हो । चीनतर्फ नयाँ वर्षसँगै अन्य चाडपर्व सुरु भएको बहाना बनाउँदै केरुङ र तातोपानी नाका बन्द गरिएको हो । विगतमा पनि चिनियाँ पक्षले यस्तै गर्ने गरेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय व्यापारमा नाका बन्द गर्दा सम्बन्धित पक्षलाई पूर्वजानकारी दिनुपर्ने मान्यता छ । तर, चिनियाँ अधिकारीले नेपाली पक्षलाई औपचारिक रूपमा कुनै जानकारी नदिई केरुङ र तातोपानी नाकाबाट आयात–निर्यात रोकेको छ । नाका बन्द भएपछि त्यहाँबाट हुने आयात–निर्यात ठप्प भएको छ । १५ दिनका लागि केरुङ नाका बन्द गरेको अनौपचारिक माध्यमबाट जानकारी मिलेको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए । ‘नाका बन्द गर्ने औपचारिक कुनै जानकारी छैन,’ भण्डारीले भने, ‘शुक्रबार सामान आएको होला भनेर जाँदा ढोका बन्द थियो ।’ केरुङ नाका माघ २१ गतेसम्म बन्द हुने जनाइएको छ । गत हप्तासम्म केरुङ नाकाबाट दैनिक एक दर्जन कन्टेनरमा सामान आयात हुने गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भएलगत्तै पुसको पहिलो साता रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको थियो । कोभिड– १९ सुरु भएपछि ३० महिनाअघि चीनले आयात–निर्यातमा रोक लगाएको भए पनि कोभिड घटेपछि आयात खुकुलो पारेर नेपालबाट हुने निर्यात पूरै रोकेको थियो । दाहाल प्रधानमन्त्री भएलगत्तै आयात–निर्यात सुरु भए पनि फेरि नाका बन्द गरेको भन्दै व्यापारी चिन्तित भएका छन् । चिनियाँ अधिकारीले विगतमा पनि यसैगरी एक पक्षीय रूपमा नाका बन्द गर्ने गरेका थिए । चीनले कोभिडको बहाना बनाउँदै रसुवागढी र तातोपानी नाका पटक–पटक बन्द गरी दुःख दिएको भन्दै व्यापारीले गुनासो गरिरहेका छन् । पुसको पहिलो साताबाट निर्यात सुरु भएकोमा अहिले फेरि बन्द गरेपछि सामान आयात–निर्यात ठप्प हुँदा व्यापारी मर्कामा परेका छन् । लामो समयदेखि चीनसँगका दुई नाका रसुवागढी र तातोपानीबाट सहज रूपमा नियमित सामान आयात–निर्यात हुन सकेको छैन । व्यवसायी र स्थानीयले नाका निरन्तर सञ्चालन गर्न माग गर्दै आए पनि चिनियाँ पक्षले आफूअनुकूल गर्दै आएको छ ।

नेपाली बजारमा चिनियाँ सामानको वर्चश्व छ । तातोपानी र केरुङबाट सामान आयात गर्दा १८–२० दिनमै आइपुग्ने भएकाले नेपाली व्यापारी यी दुई नाकाबाट सामान ल्याउन चाहन्छन् । भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ । तातोपानी र केरुङ हुँदै आयात गर्दा आधा समय कम लाग्ने भएकाले कम खर्चिलो पनि हुन्छ । तर, चिनियाँ पक्षले नेपाली व्यवसायीको समस्यालाई ध्यान दिने गरेका छैनन् । नेपाली व्यवसायी र सरकारले नाका बिनाअवरोध निरन्तर सञ्चालन गर्न माग गर्दै आए पनि चिनियाँ अधिकारीले बेवास्ता गर्दै आफूखुशी नाका खोल्ने र बन्द गर्दै आएका छन् ।

नाका खुलेको एक महिनामा नेपालबाट करिब ६ करोड रुपैयाँबराबरको ३९ कन्टेनर सामान चीन निर्यात भएको भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालबाट निर्यात हुनेमा बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान रहेको भन्सार कार्यालयले जनाएको छ । चीनबाट भने दैनिक १४ कन्टेनरका दरले सामान नेपाल आउने गरेको कार्यालयले जनाएको छ । नेपालबाट अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छालाका जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफीसमेत जाने गरेको छ । यस्तै, तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री, रड, सवारीसाधन आयात हुने गरेका छन् ।

तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सात वर्षअघि सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको छैन । ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।