ट्राफिक कारबाही र जरिवाना राजस्व वृद्धि

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १३:५३
  • सज्जन उत्सुक सापकोटा

विदुर, नुवाकोट जिल्लामा सडक विस्तार र सवारीसाधनको सङ्ख्या वृद्धिसँगै ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । जिल्लामा चालू आ.व.को ६ महिनामा ट्राफिक प्रहरीको सक्रियता बढिरहेको छ । ट्राफिक कार्यालय नुवाकोटको सक्रियता वृद्धिसँगै चालू आ.व.को ६ महिनामा ट्राफिक कारबाहीमा पर्नेको सङ्ख्या, जरिवाना र राजस्व बढेको छ । यो अवधिमा सवारी कसुरबमोजिमको कारबाहीबाट ७० लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।

ट्राफिक कार्यालय नुवाकोटले न्यून जनशक्तिको बाबजुद पनि सचेतनाको कार्यक्रम र आकस्मिक चेकजाँचलाई भने निरन्तरता दिइरहेको छ । जिल्लाको १३ वटा विद्यालयका आठ सय २५ जना विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन चालू आ.व.को ६ महिनामा दिइसकेको छ । नयाँ चालक एक हजार दुई सय २५ जनालाई जिल्लाको २५ स्थानमा ट्राफिक नियमको कक्षा, चार सय ९५ जना यातायात व्यवसायी र चालकलाई प्रशिक्षण, ६ सयजनाभन्दा बढी सर्वसाधारणलाई ट्राफिक सचेतनाको कक्षा सञ्चालन कार्यालयले गरेको थियो । कार्यालयले जिल्लाको विभिन्न स्थानमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था त्रिशूलीबजारको सहयोगमा ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड राखिसकेको छ । ट्राफिक जनचेतनाका लागि पर्चा पम्प्लेट र सवारीचालकको स्वास्थ्य चेकजाँच तथा सवारीसाधनको प्राविधिक परीक्षणसमेत सडकमै गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक एवम् जिल्ला ट्राफिक प्रमुख मिलन सिंहले बताए । कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दैनिक मापसे चेकिङलाई कडाइका साथ विभिन्न स्थानमा गरिरहेकोसमेत उनले जानकारी दिए ।

चालू आ.व.को ६ महिनामा जिल्लामा मापसे गर्नेको सङ्ख्या दुई सय ७६ रहेको छ । सबैभन्दा कम साउनमा ३२ जना र पुसमा सबैभन्दा बढी ८३ जना मापसे कारबाहीमा परेका छन् । यो अवधिमा २७ हजार ६ सय मापसे कसुरका जरिवानाबाट उठेको छ । यस अवधिमा छतमा यात्रु राख्ने १५ सवारीसाधनबाट १५ हजार, ओभरलोड बोक्ने सवारीसाधन १६ सय ८८ बाट १४ लाख ६७ हजार पाँच सय, सिटबेल्ट र हेलमेट नलगाउने सवारीसाधनका ६ सय ९८ चालकबाट चार लाख २८ हजार पाँच सय, कागजपत्र साथमा नबोक्ने सवारीचालक तीन हजार पाँच सय ५२ बाट २४ लाख ३८ हजार पाँच सय, सवारीचालक अनुमतिपत्र नभएका एक हजार दुई सय पाँचबाट ११ लाख ९५ हजार, बत्तीको अवस्था ठीक नभएको दुई सय ८९ सवारीसाधनबाट १९ हजार, रूट परमिट नभएका चार सय ६५ सवारीसाधनबाट चार लाख ६२ हजार पाँच सय, प्रयोजनविपरीत लगेज लोड बोक्ने एक सय ३८ सवारीसाधनबाट एक लाख ३८ हजार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सय ५० सवारीसाधनबाट तीन लाख १७ हजार पाँच सय र एक सय ७४ अन्य कारबाहीबाट ८७ हजार कसुरबमोजिमको राजस्व उठेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या घटाउने अभियानमा कार्यालय रहे पनि जनशक्तिको अभावमा सफल हुन सकेको छैन । जिल्लाको सडकमार्ग र सडक नाकाको अवस्था हेर्दा कम्तीमा ३० जना जनशक्ति आवश्यक भए पनि हाल १७ जना जनशक्ति जिल्लाको ट्राफिक व्यवस्थापनमा सक्रिय रहेको छ । जिल्लामा प्रहरी वरिष्ठ नायव निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी हवल्दार दुई, प्रहरी सहायक हवल्दार दुई र ट्राफिक प्रहरी जवान आठजना हाल कार्यरत रहेका छन् । जिल्लाको काठमाडौंसँग जोडिएको गुर्जेभञ्ज्याङ, ककनी र धादिङ जोडिएको कोल्पुटार, तारुकाघाटसहित जिल्लाको ढिकुरे, खरानीटार, विदुर नगरपालिकाको सिमुटार, देवीघाट र कोलनीमा प्रहरीसँगै समन्वय गरेर ट्राफिक व्यवस्थापनको काम भइरहेको छ ।

जिल्लामा ट्राफिक व्यवस्थापनका लागि जनशक्ति अभाव हुँदा नियमको उल्लङ्घन बढेको छ भने हरेक महिना ट्राफिक कारबाही र जरिवानाबाट राजस्व सङ्कलनसमेत वृद्धि भइरहेको छ । जिल्लामा साना-ठूला सवारीसाधन बर्सेनि बढिरहेको, सडक सञ्जाल थपिरहेको, तर जनशक्ति नबढ्दा ट्राफिक व्यवस्थापन थप जटिल बनेको नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले बताए । काठमाडौं र तराई जोड्ने सडक विस्तारसँगै चोरीको सवारीसाधनको बिगबिगी पनि जिल्लामा रहेको उनले बताए । ट्राफिकले दुर्घटना न्यूनीकरणका लागि गरेको कार्य प्रशंसायोग्य रहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । बजार विस्तार, सवारीको सङ्ख्या वृद्धि, ट्राफिक जनशक्ति कम रहेकाले ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएकोसमेत उनले बताए ।