मुख्यमन्त्री जम्कटेललाई गजुरीमा सम्मान

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १४:००
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, गजुरी गाउँपालिका धादिङले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सम्मान गरेको छ । गजुरी गाउँपालिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा राजनीतिक दलका प्रमुख, नागरिक समाजका अगुवा, बैंक तथा वित्तीय संस्थाको प्रमुख, जनप्रतिनिधि, कर्मचारी आम नागरिकको उपस्थिति रहेको थियो ।

बधाई तथा सम्मान ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले देश आर्थिक रूपमा सङ्कटतर्फ गइरहेको सङ्केत गर्दै बैंक तथा वित्तीय संंस्था र व्यवसायीबीच दूरी बढेको बताए । सरकारले केही हदसम्म आर्थिक सङ्कट रोक्ने प्रयास गरेको बताए । सङ्घीय शिक्षा ऐन नआएकाले शिक्षा क्षेत्र व्यवस्थित बनाउन सकिएको छैन । स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐनसँग बाझिने गरी काम गरिरहेका छन् । विद्यालय व्यवस्थित ढङ्गबाट सञ्चालन नभएको बताए । प्रदेश सरकारले पालिका केन्द्र र राष्ट्रिय राजमार्गलाई कालोपत्रे गरेर जोड्ने प्रदेश सरकारको योजना रहेको छ । अहिले बागमती प्रदेश सरकारको पूर्वाधार विकासको काम गर्ने जिम्मेवारी पाएको मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालयले मात्र १० प्रतिशत बजेट खर्च गरेको छ । ठेक्का लगाउने काम भएको छैन । भएका काम पनि सन्तोषजनक छैनन् । व्यवस्थित बनाउन प्रदेश सरकार, स्थानीय सरकार र नागरिकको पनि भूमिका हुने उनले बताए । बालुवा प्रशोधन तथा क्रसर उद्योग व्यवस्थित गर्ने नाममा बन्द गरेकोप्रति असन्तोष व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले आफूले प्रधानमन्त्रीलाई भेटेर खुलाउन आग्रह गरेको बताए । तत्कालका लागि खुले पनि व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । परिणाम देखिने गरी काम गर्न अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘निर्वाचनपछि साझा नेता बन्न र जनगुनासो नआउने गरी समृद्ध गजुरी बनाउन भूमिका निर्वाह गर्नु तपाईंहरूको जिम्मेवारी हो । म पनि समृद्ध बागमती बनाउन र परिणाम देखिनेगरी काम गर्नेछु । गजुरीको विकास गर्न स्थानीय भएकाले मेरो पनि भूमिका रहन्छ । तपाईं, म र सङ्घीय सांसद राजेन्द्रप्रसाद पाण्डेलाई सुझाव दिनु होला । हामी जनहितमा काम गर्छौँ ।’

सम्मान तथा बधाई कार्यक्रममा राजनीतिक दलका नेताहरूले स्थानीय सरकारले समन्वय नगरेको गुनासो गरे । गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले १० महिना लागिसक्दा पनि देखिने काम गर्न नसकेकोमा दुःख लागेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत तीनजना फेरिसके । अहिलेका त कार्यालय नै आउँदैन । कसरी काम गर्ने भनेर गुनासो गरिन् । कार्यक्रम समापन गर्दै गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पछिल्लो हप्ताबाट प्रमुख प्रशासकीय अधिकृत नयाँ आउने र कामले गति पाउने आश्वस्त पार्दै राजनीतिक दलका नेताहरूले सो कार्यक्रममा आएको गुनासोलाई सुझावको रूपमा ग्रहण गर्ने बताए । मुख्यमन्त्रीले दिएको सुझावलाई मन्त्रका रूपमा लिएर समृद्ध गजुरी सुखी गजुरीवासी बनाउन काम गर्ने उनको प्रतिबद्धता जनाए । बागमती प्रदेश सरकारका चौथो मुख्यमन्त्री शालिकराम जम्कट्टेल गजुरी गाउँपालिका– ७ डाँडागाउँका स्थानीय हुन् । यसअघि तेस्रो मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पनि गजुरी गाउँपालिका-२ छेवाङका स्थानीय हुन् । लगातार दुईजना मुख्यमन्त्री गजुरीले पाएको छ ।