नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या तेब्बर

नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या तेब्बर
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सुनील श्रेष्ठ

विदुर, नुवाकोट जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या अत्यधिक रहेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कअनुसार चालू आ.व. कात्तिकदेखि पुस महिनासम्ममा दुई हजार पाँच सय ८९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार दोस्रो त्रैमासिकको कात्तिकमा आठ सय ९९, मङ्सिरमा आठ सय १९ र पुसमा आठ सय ७१ वटा नागरिकताको प्रतिलिपि वितरण भएको छ । आ.व. ०७९/८० को पहिलो त्रैमासिक साउनदेखि असोज महिनासम्ममा आठ सय दुईजनाले नागरिकताको प्रतिलिपि लिएका थिए । प्रमुख जिल्ला अधिकारी किरण थापाले मुख्यतया राष्ट्रिय परिचयपत्र, राहदानी, बसाइँसराइ, सामाजिक सुरक्षाभत्ता, सम्बन्धविच्छेद, जन्मदर्ताअनुसार शैक्षिक संस्थाको अभिलेखीकरणलगायतका विषयले गर्दा नागरिकता प्रतिलिपि लिनेको सङ्ख्या वृद्धि भएको बताए । वैदेशिक रोजगार, विदेशमा रहेका सन्तानले आफ्ना आमाबुबालाई विदेश लाने प्रयोजनका लागि राहदानी बनाउँदा, सामाजिक सुरक्षा भत्ता लिने प्रक्रियागत क्रममा पहिले नै लिएका नागरिकता पुरानो हुने, फोटो नचिनिने, अक्षर अस्पष्टलगायतका कारणले प्रतिलिपि लिनेको सङ्ख्या बढेको उनले बताए ।

सेवाग्राहीले नागरिकताको जतन नगरेको एकातिर छ भने अर्कोतिर कार्यालयबाट प्रिन्ट गरिएको नागरिकताको प्रमाणपत्र लिनासाथ प्लास्टिकको खोलमा राख्दा मेटिने गरेकाले प्रतिलिपि बनाउने गरेको पाइएको छ । यो समस्या नुवाकोटमा मात्र नभई देशभरकै प्रशासन र नागरिकता प्रदान गर्ने इलाका कार्यालयमा रहेको कार्यालयका प्रशासकीय अधिकृत सुरेश खतिवडाले बताए । उनले दिएको जानकारीअनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकता सक्कल नै स्क्यान गर्नुपर्ने प्रावधान रहेकाले पुराना, झुत्रो, केरमेट भएको, अक्षर अस्पष्ट, नागरिकता जारी मिति नबुझिने नागरिकता राखेर स्क्यान गर्न नमिल्ने हुनाले दिनहुँ नयाँ प्रतिलिपि लिनेको सङ्ख्यामा वृद्धि भएको छ । उनी थप्छन्, ‘नागरिकताको गुणस्तरको प्राविधिक पक्षमा सुधारको एक पक्ष त छँदै छ, तर नागरिकले पनि नागरिकता बनाउन खिचिएको फोटो उच्च गुणस्तरको छपाइ नहुने र नागरिकता सुरक्षित राख्न नसक्नाले प्रतिलिपि लिनेको सङ्ख्या बढेको हो ।’

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनुसूची फारममा पूरा विवरण भरी गाउँपालिका/नगरपालिकाका वडाको सिफारिसमा नागरिकता प्रमाणपत्र नम्बर वा जारी मिति खुलेको भएमा हालसालै खिचिएको दुवै कान देखिने अटो साइजको फोटो दुई प्रति लिएर गएपछि नागरिकताको प्रतिलिपि लिन पाइने व्यवस्था छ । यस्तै, बसाइँसराइ गरी आएका अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएका व्यक्तिका हकमा बसाइँसराइ दर्ताको प्रमाणपत्र, विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र र पति वा एकाघरको ससुरा वा सासू वा जेठाजु वा देवरको नाता खुल्ने प्रमाणसहित सनाखत, दलितको थर परिवर्तन गर्नुपरेमा राष्ट्रिय दलित आयोगबाट प्रकाशित थर सूचीमा रहेको थरबमोजिम हुने गरी वडा कार्यालयको यकिन सिफारिसको आधारमा नागरिकताको प्रतिलिपि लिने व्यवस्था छ ।

दैनिक ५०-६० जनाको हाराहारीमा नयाँ नागरिकता लिने र प्रतिलिीप लिने रहने नागरिकता फाँटक िकम्प्युटर अपरेटर सरस्वती थापाले जानकारी दिइन् । आमाबुबाको विवरण संशोधन, विवाहितको हकमा पतिको नाम र सम्बन्धविच्छेदको हकमा पतिको नाम हटाउनेलगायतका समस्या लिएर नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या बढेको उनले बताइन् । दुप्चेश्वर गाउँपालिका-२ का श्यामबहादुर तामाङले आफ्नो नागरिकताको नम्बर केरमेट र अक्षर अस्पष्ट भएकाले नागरिकता प्रतिलिपि लिन आएको बताए । ‘राष्ट्रिय परिचयपत्र बनाउन गत महिना आएको थिएँ, तर नागरिकता पुरानो र केरमेट भएकाले स्क्यान गर्न मानेन, अनि नयाँ नागरिकता बनाउन आज फेरि सदरमुकाम आएको हुँ,’ उनले भने ।
यस्तै, कार्यालयको प्रतिवेदनअनुसार जिल्लामा वंशजको आधारमा नयाँ नागरिकता लिनेमा दुई हजार एक सय ४७ जना रहेका छन् भने चार हजार तीन सय ५९ जनाले राहदानीका लागि आवेदन दिएकोमा तीन हजार दुई सय ६६ जनालाई राहदानी वितरण गरिएको जनाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कार्यालयबाट पाँच हजार चार सय ८९ राष्ट्रिय परिचयपत्र र ७९ वटा नाबालक परिचयपत्र जारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह