रसुवामा हात्तीपाइलेको जीवाणु देखियो

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७९, बिहीबार १२:५८

धुन्चे, राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयले रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु गरेको छ । सन् २०२० मा जिल्लाका ३३ वटा विद्यालयका चार सय ८० जना विद्यार्थीमा गरिएको जाँचमा ११ जना विद्यार्थीमा हात्तीपाइले रोगको जीवाणु देखिएको स्वास्थ्य कार्यालय रसुवाले जानकारी दिएको छ ।

रसुवासहित ६४ जिल्लामा हात्तीपाइले रोगको जीवाणु देखिएपछि मन्त्रालयले औषधि खुवाउने अभियान सुरु गरेको हो । गत बिहीबार फागुन ११ गतेदेखि रसुवासहित १५ जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको छ । हात्तीपाइले रोगको जोखिममा रहेका रसुवासहित १५ जिल्लामा २५ फागुनसम्म औषधि खुवाउन सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । सरकारले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । जिल्लामा फागुन ११ गतेदेखि दुई हप्तासम्म हात्तीपाइले रोगको औषधि घरघरमा गएर खुवाउने अभियान सुरु भइरहेको छ । जिल्लाको पाँचवटै स्थानीय तहका केही विद्यालयमा गरेको परीक्षण जाँचमा हात्तीपाइले रोगको जीवाणुु देखिएको हो । सन् २०३० सम्ममा नेपालबाटै हात्तीपाइले रोग निवारण गर्ने अभियानअन्तर्गत फागुन ११ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु गरिरहेको छ ।

हात्तीपाइले रोगका जीवाणुु भएको मानिसलाई फाइलेरिया नामक पोथी लामखुट्टेले टोकेर स्वस्थ मान्छेलाई टोक्दा यो रोग सर्ने स्वास्थ्यकर्मी बताउँछन् । दुई सातासम्म सञ्चालन हुने औषधि सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेविकाले नजिकको स्वास्थ्य केन्द्र र घर-घरमा पुगेर औषधि खुवाइरहेका छन् । हात्तीपाइले रोगको औषधि दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटुरोगी, क्यान्सरका बिरामी, मिर्गौलारोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।