धुन्चे, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा रहेको पर्यटकीयस्थल जुरेढुङ्गा स्थानीय सरकारको प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयको मध्यवर्ती क्षेत्रमा पर्ने जुरेढुङ्गा समुद्री सतहदेखि करिब दुई हजार नौ सय ८० मिटरको उचाइमा रहेको छ । यस स्थानबाट रसुवाको केही भाग नुवाकोटको धेरै बस्ती देखिन्छ ।
उचित प्रचार-प्रसारको अभावमा यस्ता सम्भावना रहेका ठाउँ ओझेलमा परेका छन् । जुरेढुङ्गालाई तामाङले स्थानीय भाषामा सिप्पा भन्छन् । सिप्पालाई भू-उपग्रहको एक अंशको रूपमा बुझ्ने गरिन्छ । ढुङ्गाले मन नपराएको दुलाह पनि भन्दछन् । ढुङ्गाको छेउमा अन्दाजी ६० मिटरजति गहिरो लामो सुरुङ रहेको छ भने उक्त सुरुङभित्र पानीको मुहान पनि रहेको छ । जुरेढुङ्गा एक धार्मिकस्थलको रूपमा रहिआएको हुँदा माथि चुच्चोमा जोकोही मानिस जान नमिल्ने र त्यहाँ पुगेपछि अश्लील शब्द बोलेमा वा गलत क्रियाकलाप गरेमा असिना पानी, हुरीबतास, गाउँमा रोगव्याधि र महामारी फैलिनेजस्ता जनविश्वास कायम रहिआएको छ ।
जुरेढुङ्गा र बिजुली ढुङ्गा क्षेत्रमा कालिका हिमालय क्याम्पसका विद्यार्थी हाइकिङ र पिकनिक जाने गरेका छन् । निकै अग्लो स्थान भएकाले यहाँबाट धेरै टाढाको रमणीयस्थल देखिने भएकाले घुमघामका लागि धेरै सम्भावना रहेको कालिका हिमालय माविका शिक्षक विष्णु न्यौपाने बताउँछन् । उनी भन्छन् – पूर्वाधार विकास गरे मौसममा यहाँ धेरै विदेशी तथा स्थानीय पर्यटक भित्रिने सम्भावना छ । जुरेढुङ्गा हुँदै नौकुण्ड गोसाइँकुण्ड जाने पदमार्ग पनि सञ्चालनमा छ । यस ढुङ्गाको पूर्वपट्टि नझले खर्क रहेको छ भने उक्त खर्कमा चौँरी गोठ हुन्छन् । नझले भनेको एउटा घाँसको बोटको नाम हो सोही घाँसको नामअनुसार नझले खर्कको नामकरण हुन पुगेको हो । त्योभन्दा माथि मूलखर्क, लामाखर्कजस्ता थुप्रै रमाइलो खर्क रहेको छ । जुरेढुङ्गामा रहेको ओडारबाट बिजुली ढुङ्गाबाट जस्तै तामाको भाँडाकुँडा विवाह, व्रतबन्धका लागि दिने गरेको जनविश्वास रहेको छ । एक एकल (विधवा) महिलाले भाँडाकुँडा प्रयोगपश्चात् सफा गरेर एकदिनमै दिनुपर्नेमा आफ्नै घरमा राखेर फिर्ता गरेकाले सिप्पा देवता रिसाएर पछिल्लो समयमा भाँडाकुँडा नदिएको भन्ने स्थानीयको भनाइ रहेको छ ।
प्राकृतिक सौन्दर्यले भरिएको अग्लो स्थानमा रहेको यस जुरेढुङ्गा हेर्न आन्तरिक पर्यटक विभिन्न समयमा घुम्न र वनभोज कार्यक्रमका लागि आउने गरेका छन् । विशेषगरी नौकुण्ड, कालिका र उत्तरगया साथै गोसाइँकुण्ड गाउँपालिकाबाट समेत जुरेढुङ्गाको दर्शन अर्थात् रमाइलो दृश्य अवलोकन गर्न आउने गरेका छन् । ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सकियो भने नौकुण्ड मात्रै नभई क्षेत्रकै जिल्लाकै पहिचान दिलाउन सकिन्छ,’ स्थानीय मेन लामा भन्छन् । यो क्षेत्र हुँदै गोसाइँकुण्ड पदमार्गको रुट पनि हो । यस क्षेत्रमा आउनलाई बेत्रावतीबाट भोर्ले हुँदै लाङ्बु, लुम्बुडाँडा हुँदै पनि जान सकिन्छ भने कालिकास्थानबाट स्याउबारी लोकिल सडक हुँदै पनि पुग्न सकिन्छ । यस क्षेत्रबाट गोसाइँकुण्ड जाने रुट पनि अत्यन्तै छोटो पर्ने भएको हुँदा रसुवाको दक्षिणी भेग नुवाकोटको केही गाउँका तीर्थालु भक्तजन यही मार्गबाट आवत-जावत गर्दछन् । लामा थप्छन्, ‘यहाँ चैत/वैशाख महिनामा थुप्रै थरीको लालीगुराँस फुल्छन् । राष्ट्रिय फूल लालीगुराँस पाराखीका लागि यो अति उत्तम गन्तव्य हो ।’
यहाँबाट माथि दुई घन्टाजति हिँडेपछि लाबुङ भन्ने ठाउँ पुगिन्छ, त्यहाँबाट थुप्रै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटन बढाउन पूर्वाधारसहितको विकास तथा व्यवस्थापन निकै आवश्यक रहेको देखिन्छ । नौकुण्ड गाउँपालिकामा रहेको जुरेढुङ्गा, बिजुली ढुङ्गा, सातधारे हिमाल पनि चर्चामा नपरेको स्थान हो । भौतिक पूर्वाधारसहित पर्यटन विकासमा जोड दिई पर्यटन प्रवद्र्धन गर्ने हो भने स्थानीयले गाउँमै स्वरोजगारी पाउने र यस क्षेत्रका किसानले उत्पादन गरेका ताजा अर्गानिक तरकारीले सहज रूपमा बजार पाउँछ । रैथाने परिकारको ताजा स्वादमा रमाउँदै मनोरम दृश्य नियाल्न धेरै स्वदेशी तथा विदेशी पर्यटकले नौकुण्डका विभिन्न गाउँभित्र नेवार, तामाङ, गुरुङ र मिश्रित जातजातिको बस्तीमा समेत पदयात्रा गरी रैथाने संस्कृति र वेशभूषा नियाल्न सकिन्छ ।






प्रतिक्रिया